
काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) मा धनगढी फुटबल क्लबले आफ्नो अपराजित यात्रालाई कायम राख्दै शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा चितवन एफसीलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।
धनगढीले खेलको दोस्रो मिनेटमै ओलावाले आफिजको गोलमार्फत लिएको अग्रतालाई कायम राख्दा महत्वपूर्ण तीन अङ्क हासिल गर्न सफल भयो। आफिजले दाँया भागबाट दोस्रो बारको टप कर्नर चेप्दै गरेको लामो प्रहार गोलमा परिणत भएको थियो। यद्यपि धनगढीको जितमा गोलरक्षक टिकेन्द्र थापा नायक सावित भए। उनले पेनाल्टी सहित केही सुन्दर गोलका अवसर जोगाउँदै धनगढीलाई अङ्क गुमाउनबाट जोगाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा चितवनले बराबरी गर्न सुन्दर अवसर गुमायो। रिचार्ड आगेमांगले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई विमल घर्ती मगरले गरेको प्रहार गोलरक्षक टिकेन्द्र थापाले बचाउँदै सम्भावित बराबरीबाट टिमलाई जोगाए।
जितसँगै धनगढी ५ खेलबाट ३ जित र २ बराबरीका साथमा ११ अङ्क बनाएर शीर्ष स्थानमा उक्लिन सफल भयो। चितवन भने ६ खेलमा १ जित, २ बराबरी र ३ हारका साथ ५ अंक जोड्दै सातौं स्थानमा रहेको छ।