
पोखरा- १९ औं संस्करणको पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु भएको छ। पोखरा रंगशालाको टेनिस एरिनामा सुरु प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरे।
उनले पोखरा रंगशालाको टेनिस एरिनामा पूर्वाधार विकास गर्न आगामि बजेटमार्फत सम्बोधन गर्ने बताए। उनले अधुरो योजनाले प्रतिफल दिन नसक्दा लगानी बालुवामा पानी हालेसरह भइरहेको उल्लेख गरे।
‘४० जिल्लाको भ्रमण गरें। जहाँ पनि योजना अधुरो छ। अधुरो योजनाले त प्रतिफल दिन सक्दैन। अब स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले मिलेर निजी क्षेत्रको सहकार्यमा पूर्वाधार तोकिएको सम्पन्न गर्ने बजेटको व्यवस्थापन गर्दै जानुपर्छ’, मन्त्री लिम्बुले भने, ‘त्यसो हुँदा खेलकुद क्षेत्रमा प्रतिफल मिल्छ। हाम्रा खेलाडी साथीहरु समयमै प्रशिक्षण लिन पाउँछन्, प्रतियोगिताहरू सञ्चालन गर्न सक्छौं। त्यो ढंगबाट योजना र बजेट बन्नुपर्छ।’
तीनै तहका सरकार जवाफदेही तरिकाले लागेर खेलाडीलाई प्रशिक्षण दिन खेल मैदान बन्नुपर्ने उनको भनाइ छ।

खेलकुद मन्त्री डिगबहादुर लिम्बु।
कास्की जिल्ला टेनिस संघको आयोजनामा सुरु प्रतियोगिता शनिबारसम्म चल्नेछ। १२ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए।
उनका अनुुसार महिला पुरुष सिंगल, डबल्ससँगै ३५, ४५, ५५ र ६५ वर्षमाथिको उमेरसमूहमा प्रतिस्पर्धा हुनेछन्।
नेपालका वरियता प्राप्त खेलाडीसँगै भारत, युके, बंगलादेश लगायतबका देशबाट २१६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। महिलातर्फ १३ जना खेलाडी सहभागी छन्।
ओपनतर्फ महिला पुरुष सिंगलको विजेताले ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। डबल्सतर्फको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँले पुरस्कृत हुनेछन्।
३५ वर्षमाथिको सिंगल विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। ४५ वर्षमाथि सिंगल विजेतालाई ४० हजार र उपविजेतालाई २० हजार रुपैयाँले पुरस्कृत गरिनेछ।
५५ वर्षमाथि सिंगलको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउने आयोजक कास्की जिल्ला टेनिस संघले जनाकारी दिएको हो।
३५, ४५ र ५५ वर्षमाथिको डबल्स प्रतिस्पर्धाको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ जित्नेछन्।
ओपनतर्फ सिंगल, डबल्ससँगै ३५, ४५ र ५५ वर्ष माथि उमेर समूहका प्रतिस्पर्धाका सेमिफाइनलिस्टलाई समेत १० हजार रुपैयाँ प्रदान गर्ने जनाइएको छ।
६५ वर्ष माथिको सिंगलतर्फको विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय रुपैयाँ पाउनेछन्। पुरस्कारमा मात्रै ८ लाख रुपैयाँ खर्च हुनेछ।