
पोखरा –
सानु तिमीले नमान टेन्सन
बाँचे तलब मरे त पेन्सन
लाहुरे सिपाही दाइ…
अक्टोबर २८ तारिखका दिन रुसी सेनाको पोसाकमा सजिएर आफैंले गीत गाउँदै हरि अर्यालले फेसबुकको रिल्समा भिडियो पोस्ट गरेका थिए। भिडियो पोस्ट गरेको २ महिनामै रुस र युक्रेनबीचको युद्धमा परेर उनै हरि अर्याल सदाका लागि अस्ताएका छन्।
उनले भिडियो भनेकोजस्तो न उनले तलब घर पठाउन पाए न त परिवारले पेन्सन नै पाउनेछन्। बरु नमान्नु भनेको चिन्ताले परिवार र आफन्तलाई गिजोलिरहेको छ।
तलब पेन्सनको कुनै आश छैन, हरिको शव नेपाल ल्याएर शतगत् गर्न पाइयोस् परिवारको अन्तिम इच्छा छ। लडाइँमा परेर मृत्यु भएको खबर आएपछि बुधबार नै कुशको प्रतिमा बनाएर दाहसंस्कारको तयारी गरेका आफन्तले अझ केही दिन पर्खने निधो गरेका छन्। ‘परराष्ट्र मन्त्रालयबाट शव या आधिकारीक केही आउँछ कि, फोनमा मात्रै कुरा भएको भनेर २ दिन कुर्ने निधो गरेका छौं’, आफन्त बद्री अर्यालले सुनाए।
सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय हरिले डिसेम्बर ४ मा हतियारसहित गुडिरहेको रुसी सेनाको गाडीमा सहकर्मीसँग भिडियो बनाउँदै लेखेका थिए, ‘यस्तै छ जिन्दगी, बाँचे भेट, मरे त यत्तिकै।’ त्यसै दिनदेखि उनी परिवार र आफन्तको सम्पर्कमा आएनन्।
रुसी सेनामा भर्ती भएका अन्य नेपालीको मृत्युको खबरले उनको परिवारलाई खुब सताउँथ्यो। परिवारले पुकार गर्थे, ‘हे, भगवान् हाम्रो हरिलाई केही नहोस् !’ तर, हुने हार दैव नटार भनेजस्तै भइदियो।
परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट सोमबार रुस–युक्रेनको युद्धमा स्याङ्जाका हरि अर्याल मारिएको आधिकारिक जानकारी आएपछि परिवारजन र आफन्त अहिले विक्षिप्त छन्।
२३ वर्षीय अर्याल गएको कात्तिक ३ गते भिजिट भिसामा यूएई हुँदै रुस पुगेका आफन्त बद्री अर्यालले जानकारी दिए। नेपाली सेनामा भर्ती भएका हरिले ३ वर्षमै राजीनामा दिएका थिए। ‘ठूलो देशमा धेरै पैसा कमाउने आशमा त्यातिर गा हो’, अर्यालले सुनाए।
सुरुमा हरिले बहराइन पुलिसमा जानलाई सेनाको जागिर छाडेको थिए। त्यहाँ भिसा नलागेपछि साउथ अफ्रिकामा पनि जाने प्रयास गरे। नभएपछि कम्बोमा सुरक्षागार्डमा जाने तयारी थियो, भिसा आएन। डेढ वर्ष उनी एजेन्टकहाँ धाउँदै रुमल्लिए। जहाँ राम्रो कमाइ हुन्छ त्यही जाने योजनामा उनी थिए।
‘कहीँ नभएपछि एजेन्टले अन्तिममा रुसको प्रलोभन देखाए। महिनामै ४/५ लाख रुपैयाँ कमाइ हुन्छ भनेपछि जान तयार भए’, बद्री भन्छन्, ‘प्रोसेसिङ गरेको १५ दिनमै भिसा आयो। तर, गएर एक रुपैयाँ घर पठाउन पाएन। २ महिना नपुग्दै सम्पर्क टुट्यो।’
उनका अनुसार हरिले नेपालमा एजेन्टलाई ७ लाख रुपैयाँ तिरेर गएका हुन्। रुस छिर्नलाई त्यहाँका एजेन्टलाई १५ सय डलर बुझाएर मात्रै प्रवेश पाए। तर, नेपाल कहिल्यै नर्फने गरेर युद्धको रणभूमिमा रगताम्मे हुँदै ढले।
‘जसले रिक्स लिन्छ त्यो अगाडि बढ्छ’, हरिको फेसबुकमा पोस्ट छ, ‘उसको सपना डेन्जर ठाउँ भए पनि त्यहाँ गएर ४ वर्षजति बस्ने। महिनाको ४/५ लाख रुपैयाँ कमाइ हुन्छ त्यहाँबाट फर्केर आएपछि कहीँ जानुपर्दैन भन्ने थियो’, हरिले निकटस्थसँग रुस जानुपहिले सुनाएको सम्झदै नातेदार बद्रीले सुनाए। उनका अनुसार हरिसहित नेपाली सेनाको जागिर छाडेका उनका ५ जना साथीसँगै रुसी सेनामा पुगेका थिए।
योभन्दा पहिले स्याङ्जाकै पुतलीबजार नगरपालिका–५ का प्रितम कार्कीको पनि रुस–युक्रेनको युद्धमा मृत्यु भएको थियो। कार्कीले १६ वर्षे सेवापछि नेपाली सेनाबाट अवकाश लिएर रुसको बाटो तताएका थिए।