
पोखरा- तनहुँमा बस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका- ६ मौरीबजार ठूलोपहिरोमा बिहीबार बिहान दुर्घटना भएको हो।
वीरगञ्जबाट पोखरा आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए।
उनका अनुसार बस सडकबाट अन्दाजी ५६ फिट तल खसेको छ।
घाइतेमध्ये २९ जनाको तनहुँकै बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।
२ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र १ जनालाई मणिपाल शिक्षण अस्पतालमा थप उपचारका लागि रिफर गरिएको खाँणले जानकारी दिए।
घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको उनले बताए। १७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ।