खाद्य सुरक्षा असाध्यै चुनौतीपूर्ण बिषय हो तर यस बारेमा जनचेतना र राज्यको ध्यान एकदमै न्यून अवस्थामा छ। खाने कुरा अमृत हो र त्यो भन्दा धेरै बिष पनि। स्वाद र पेट भर्नका लागि मात्र खानेकुराको उपभोग होइन बरू मानसिक र शारीरिक रुपमा स्वस्थ्य रहनका लागि हो। तथापि विकासको चरणसँगै खाद्य सुरक्षाका मान्यताहरू कमजोर हुँदै गएको देखिएका छन्। मुलतः खानु भनेको स्वाद र सुविधाको लागि हो भन्ने मान्यता जबर्जस्ती स्थापित हुँदै गरेको देखिन्छ। त्यसैगरी माग र आपूर्तिमा सन्तुलन गराउने नाममा मूल्य बढाएर खाद्य वस्तुलाई अधिकांशको पहूँच बाहिर पार्ने काम पनि भएको छ।
शरीरको बनावट, उमेर र अवस्था अनुसार खाद्य बस्तुको छनौट र उपभोग जरुरी हुन्छ। वालबालिका, विद्यार्थी, गर्भवती, बिरामी, जेष्ठ नागरिकको शारीरिक र मानसिक आवश्यकता फरक हुन्छ। फरक आवश्यकता अनुसार फरक फरक पौष्ठिक आहारा युक्त खाद्य बस्तुको चयन, उपभोग गरिनु पर्छ।
उत्पादनको विधि, मल बिउ, सञ्चय जस्ता कुराले पनि खाद्य बस्तुको गुणस्तर र त्यसमा पाइने तत्वहरू प्रभावित हुने गर्दछ। यही रितले खाने कुराको उत्पादन, छनौट, परिकार र उपभोग गर्ने प्रवन्ध मिलेको हुनुपर्छ।स्वाद र सुविधाको सट्टा स्वास्थ्य जिवन निर्माणका लागि खाद्य वस्तु चयन गर्न आम मानिसको चेतना जगृत हुँदै जानुपर्छ। जनचेतना जगाउने कार्यमा राज्यका सबै पक्षको दायित्व उत्तिकै रहन्छ। राज्य पक्षको समन्वयात्मक सकृयता भने अभाव छ।
बुझ्न जरुरी के छ भने- हामीले शरीर र दिमागको सन्तुलित विकासको लागि खाद्य बस्तुमा भएको प्रोटिन, भिटामिन र मिनरलतत्व आवश्यकता अनुसार परिकारको माध्यमबाट खाइएको हो। केवल अघाउनका लागिमात्र होइन र नमीठो भयो भनेर फ्याँक्नका लागि पनि होइन।
दिनभरको खानाबाट आफ्नो पौष्टिक आवस्यकता पुरा भयो कि भएन भन्ने ज्ञान हुन सक्यो भने धेरै हदमा स्वस्थ्य रहन सकिन्छ। यस्तो ज्ञान हुनका लागि आफ्नो आवश्यकता के कति हो; कसरी तलमाथि भइरहन्छ भन्ने तथ्यहरूमा हेक्का रहन जरुरी छ। समय समयमा मानसिक र शारीरिक रुपमा प्रवाहित भइरहेका सूचना; त्यस्ता सूचनालाई खाद्य वस्तु उपभोगको परिणामसँग विश्लेषण गर्न सक्ने क्षमता आवश्यक छ। खाना खाए पछि देखिने अस्वभाविक र फरक अनुभवलाई केलाएर हेर्ने बानी बसाल्न जरूरी छ। अरूका लागि अथाह ज्ञान प्रवाह गर्न सक्ने मानिसले आफ्नै स्वस्थ्यका लागि कमसेकम यति त ज्ञान हुनु पर्यो नि!
रोगको उपचार गराउनुभन्दा रोग लाग्न नदिने उपायहरू अपनाउनु ठूलो उपलब्धि हो। मानौं हाई आइ रह्यो, काम गर्ने जाँगर पटक्कै आईरहेको छैन भने त्यसलाई अल्छी, थकानको अनुभवबाट बुझ्ने गरिन्छ। अल्छी, थकान लाग्नुका कारणहरू धेरै हुन्छन्। जे होस, अल्छी लागेको सुचना शरिरले प्रवाहित गरिइरहेको छ भने एकपटक गहिरिएर आहार बिहारमा सोच्नै पर्छ कि के खाइयो, के खान जरुरी छ, किन त्यस्तो अनुभव भयो! यस्तो बेलामा डीहाइड्रेशनभएको हुनसक्छ। डीहाइड्रेशनलाई मानिसले हल्का रुपमा लिन्छन्। धेरैले पानी वा झोलिला कुराहरूबाट रिहाइड्रेट हुन सकिन्छ जुन अत्यावश्यक छ भन्ने या त जानिरहेका हुँदैनन् या हेलचेक्र्याइ गरेका देखिन्छन्। अनि कामकाजी मानिसलाई भनेको समयमा पानी वा झोलिला पदार्थ पाउन सहज पनि छैन। त्यसको प्रवन्ध आफैले सकेसम्म मिलाउने हो।
शरीरलाई चाहे जति पानी, झोलिलो कुरा पुरा भएको अवस्थालाई रिहाइड्रेसन भनिन्छ। पानी पिउने पनि तरिका छ। कसरी, कति बेला वा कति मात्रामा कस्तो पानी पिउने भनेर नबुझिकन घटघट गिलासका गिलास पानी पिएको भरमा रिहाइड्रेटेड हुन सकिन्न। खाने कुराको प्रकृति (सुख्खा, रसिलो, ज्यादा पोषण तत्व भएका आदि) र पानीको यथोचित मात्राले पाचन शक्ति बढाउने, पौष्ठिक तत्वको सन्तुलन रहने हुन्छ। शरिरलाई चाहिने तत्वहरू राखेर नचाहिने तत्वहरू फ्याँकिदिने काममा पनि पानीको निर्णायक भूमिका रहन्छ। खाद्य वस्तु एवं पेय पदार्थको उचित संयोजन पनि त्यति नै महत्वपूर्ण सवाल हो।
प्युरिन (प्रोटिन युक्त तत्व) बढी हुँदा युरिक एसिड बढने, गाउट रोगले समात्ने गर्छ। गाउट लागेको बिरामीलाई प्रशस्त पानी पिएर प्युरिनको मात्रालाई पिसाव हुँदै बाहिर निकाल्नु पर्ने सुझाव दिइन्छ।खाद्य बस्तु र पेय पदार्थको सही छनौटले धेरै रोगको निदानमा सहजता ल्याउन सकिन्छ।
रोगको उपचार गराउनुभन्दा रोग लाग्न नदिने उपायहरू अपनाउनु ठूलो उपलब्धि हो। मानौं हाई आइ रह्यो, काम गर्ने जाँगर पटक्कै आईरहेको छैन भने त्यसलाई अल्छी, थकानको अनुभवबाट बुझ्ने गरिन्छ। अल्छी, थकान लाग्नुका कारणहरू धेरै हुन्छन्। जे होस, अल्छी लागेको सुचना शरिरले प्रवाहित गरिइरहेको छ भने एकपटक गहिरिएर आहार बिहारमा सोच्नै पर्छ कि के खाइयो, के खान जरुरी छ, किन त्यस्तो अनुभव भयो! यस्तो बेलामा डीहाइड्रेशनभएको हुनसक्छ।
अतःशरिरको अवस्था र आवश्यकता पनि जान्न जरुरी छ। त्यस अनुसार के खाने, के नखाने भनेर बिचार गर्न सकिन्छ। के खाने के नखाने भनेर जान्न खाद्य बस्तुमा के कति पौष्टिक तत्व पाईन्छ भनेर बुझ्नु पर्छ। जुन कुरा कतिपय उत्पादनको लेवलमा लेखिएको हुन्छ। उदहारणका लागि प्रति १०० ग्राम चिकेन ब्रेस्ट फिले (कुखुराको हड्डी बिनाको छातिकोमासु) मा कार्बोहाइड्रेट जिरो, प्रोटिन २४ लगायत फाइवर जीरो ग्राम हुने बताईन्छ। आफ्नो शरिरको अल्पकालिन वा दीर्घकालिन आवश्यकता कार्बोहाइड्रेट, प्रोटिन वा फाइवर जे मा बढि छ सोही अनुसार चिकेन ब्रेस्ट फिलेको उपभोग मात्रा तय गरिनु पर्छ। त्यसैलेशारीरिक आवश्यकता र बस्तुमा उपलव्ध पौष्ठिक गूण, मात्राबारेको जानकारीले खाद्य सुरक्षा प्रत्याभुत गर्न सघाउँछ।
बुझेर खाना खाँदैमा मात्र पनि समस्या समाधान नहुन सक्छ। खाने कुरालाई पचाउनका लागि बानी, व्यहोराले पनि धेरै प्रभाव पार्दछ। अनिँदो, तनाव, मौसमी प्रतिकुलता (गर्मी, चीसो)ले पनि पाचन शक्तिमा असर गर्छ। के खाँदा के खानु हुँदैन भन्ने मान्यता र तथ्यहरू पनि छन्। त्यसैले पूर्वीय दर्शनमा ‘आहार-विहार’ लाई मानिसको शारीरिक, मानसिक, बौद्धिक क्षमता र उत्पादकत्व निर्धारण गर्न गराउन सक्ने बलियो आधारका रुपमा प्रस्तुत गरिएको छ। गितामा कस्तो कस्तो खाने कुरा खाने मानिस कस्तो स्वभावको हुन्छ भनेर अर्जुनलाई अर्ति दिंदै श्रीकृष्णले विभिन्न अध्यायमा वर्णन गरेका छन्। यसरी खाद्य बस्तुले मानिसको स्वाभावमा पनि परिवर्तन ल्याउन सक्छ।
आहार-विहारमा पूर्वीय दर्शनलाई संस्थागत रुपमा अगाडी ल्याउन जरुरी छ। खाना खानुभन्दा करिव एकाध घण्टा अगाडी पिएको पानी अमृत बरावर, खानसँगै पिएमा ठीकै ठीकै र थालमा खाना सकिने बित्तिकै पिएको पानी बिष बराबर हुन्छ भन्ने भनाई पूर्वीय दर्शनमा आधारित मान्यता हो। स्वस्थ्य रहन, पाचन शक्तिलाई प्रभावकारी गराउन, दिमागको सन्तुलन र शरिरको उत्पादकत्व बढाउन पूर्वीय दर्शनले योगाभ्यासको विधिलाई प्रभावकारी ठानेको छ। योगको विधिलाई पश्चिमाहरूले पनि अचुक मान्दै अवलम्वन गर्न थालेका छन्। खाद्य वस्तुको पौष्ठिक गुणलाई जसरी पानीले सन्तुलित राख्न मद्दत गर्छ त्यस्तै सहयोगी हुन्छ योगाभ्यास पनि। यसरी खाद्य वस्तुको चयनको साथमा अन्य सहायक वस्तु र अतिरिक्त कृयाकलाप पनि त्यति नै आवश्यक हुन जान्छ।
के सँग के नखाने, कस्तो कुरा कतिबेला नखाने भन्ने तथ्य, मान्यताहरू पनि छन्। अण्डा र दूध, पाकेको रुख-कटहर र पोलेको मकै (मकैमा रहने खरानीको अंश), कोक र एस्पिरिन सँगै खाएमा खराब गर्छन्। त्यही भएर पूर्वीय दर्शनमा आधारित चिकित्सा विधि आयुर्वेदमा औषधिको सेवन गर्दा ‘अनुपाम’ मिलाउने गरिन्छ। महसँग खाने औषधी, गाईको दूधमा खानु पर्ने औषधी, पानीसंग पिउनु पर्ने औषधी वर्गिकृत छन्। कतिपय आयुर्वेदिक औषधिहरू घोट्टाप्रे, ब्राम्ही, मोथेको गानु (जरा), घ्युकुमारी (एलोभेरा) जस्ता जडिबुटीसँगै खानुपर्ने खालका पनि छन्। जडिबुटीको उत्पादन र उपभोग पनि खाद्य सुरक्षामा सरोकार रहने बिषय हो।
आयु, संचय विधि, तरिका, स्वरुप, तापाक्रम र पाक विधिले पनि खाद्य वस्तुमा भएको पौष्टिक तत्वलाई ठूलो प्रभाव पार्दछ। गुन्द्रुक, मस्यौरा, सिद्रा, सुकुटीबाट पाइने तत्व र यिनको मुल स्रोतबाट पाईने तत्व पनि फरक फरक खालको हुन्छ। सागमा पाइने पौष्टिक तत्व र गुन्द्रुकबाट पाईने तत्व फरक हुन्छ। ताजा सागबाट जे जति पौष्ठिक तत्व फेला पार्न सकिन्छ तीन चार दिन पछिका सागमा त्यो तत्व कम हुन सक्छन।यतिबेला सागको काम पेट भर्ने मात्र हुन्छ। टिपेपछिको तीन चार दिन कसरी राखिएको छ त्यसैमा भर पर्दछ।यसरी खाद्य बस्तुको संसार र सेवन विधि असाध्यै फराकिलो र त्यति नै चुनौतिपूर्ण छ। खाद्य वस्तुको सम्बन्ध स्वास्थ्य, व्यापार, कृषि र बजारसम्म फैलिएको छ।
पछिल्लो समय आधुनिक विकासको मान्यताले कृषिलाईभन्दा औद्योगिकिकरणलाई धेरै महत्व दिएर धारणा बदल्दै गयो। आर्थिक गतिविधि र आर्थिक मानवलाई अर्थशास्त्रले केन्द्रमा राख्यो। धान, मकै फलाउने ठाउँमा घर, पुल सडक बनाईए। खेतबारी सकिए। मानिस कृषक हुन रुचाउँदैन तर नखाइकन बाँच्न सकिन्न।दही महीको ठाऊँ कोक, जङ्क फूड र आइस क्रिम आदिले लिए। अखाद्य वस्तु मिसिएरबजारमा आएकाखाद्य उत्पादनले एक पक्षीय रुपमा उपभोक्तालाई रोगी, पिडित बनाइ रहेका छन्। त्यस्ता उत्पादनमा कतै न कतै सरकारले अनुमति दिएको हुन्छ। यसबाट उपभोक्ताको उपचार अनि अस्पताल खर्च बढन गएको छ।
विकासका नाममा बजार, नाफा र भौतिक उन्नतिका मान्यता अघिअघि सरे भने मानव कल्याणसँग सरोकार राख्ने मूल्यमान्यता पछिपछि परे। त्यसैले अहिले बजारप्रवर्धन र नाफा बृद्धिका लागि अखाद्य वा हानिकारक बस्तुको मिसावट, किटनासक र बिषादिको प्रयोग पनि बैधानिक, सर्वस्वीकार्यजस्तै बनाइएको छ। उपभोक्तालाई आकर्षित गर्न बस्तुमा कृतिम स्वाद थपिएका छन्। यो चुनौतिमा राज्य पक्ष उदासीन छ भने उपभोक्ता पिडीत भएका छन्।
यसरी राज्यको लाचारी, बजारको नाफा प्रवृत्तिसँग पनि उपभोक्ताले स्वास्थ्यका लागि जागृत हुन, संघर्ष गर्न आवश्यक भईसकेको छ।यसका बावजुद उपभोक्ता हितमा बने, बनाइएका नियम कानून, मान्यता र कार्यक्रमको या त अभाव छ। जे छन् ती पनि फितला छन्। कतिपय त कार्यान्वयन नै हुन सकिरहेका छैनन्।
यहाँ नाफा, ब्यापार र अपराधको एउटा प्रसंग पनि जोडौं! केही बर्ष अघिअमेरिकाबाट थाईल्याण्डमा आयातित अखाद्य बस्तु मिसिएकाखाने कुरामा प्रतिवन्ध लगाउन थाई सरकार र नागरिकले चर्को रुपमाआवाज उठाए तर अमेरिकाले विश्व व्यापार संगठनका नियम (?!) र संझौताका बुँदाहरू समाएरअसहमति जनायो।यसैगरी करिव दुई वर्ष अघि भारतबाट नेपालमा आयत भएका फलफूल र तरकारिमा बिषादि, किटनासक जस्ता अखाद्य बस्तु मिसाएको पाईयो। त्यसलाई रोक्नुपर्ने भनेर नेपालमा नागरिक तहबाट व्यापक दवाव आयो तर नेपाल सरकारले घुँडा टेक्यो। भारत सरकारले खुला ब्यापार संझौताको बर्खिलाप हुने भनेर रोक्नै दिएन। देशकालागि कुनै नागरिकको स्वास्थ्यभन्दा उसको व्यापारिक लाभ धेरै महत्वको हुने मान्यता आधुनिक बिकासमा बसिसकेको छ।
प्रजातान्त्रिक सरकारबाट नै जनताको स्वास्थ्यमा जानिजानी हानी पुग्ने काम गरिएका प्रसस्त उदहारणहरू छन्। सरकारले खाद्य सुरक्षाको नाममा जे लागु गरेको छ र लागु गर्न सकिरहेको छैन त्यही नै मुख्य समस्या भएर रहेका छन्। शक्ति र श्रोत हुनेले जे गर्छ त्यही ठीक मानिदिनु पर्ने वाध्यतामा छन् विश्वका कमजोर देश र त्यहाँका नागरिकहरू!
खाद्य बस्तुको उत्पादन, उपभोग, संचय, वितरण र बजारीकरणका विद्यमान मान्यतालाईव्यापक रुपमा बदल्न जरुरी छ। यो काम निकै फराकिलो र त्यति नै चुनौतिपूर्ण छ। ‘होमो इकोनोमिकस’ को आर्थिक मान्यतामा चेपिएको खाद्य सुरक्षाले स्वाद र आकर्षणलाई ज्यादा प्रवर्धन गरेको देखिन्छ।जिवनोपयोगी खाद्य सुरक्षाको परिकल्पनालाई साकार पार्नआन्तरिक एवं वाह्य सबै सरोकारवालाहरूको समुहिक प्रतिवद्धता आजको आवश्यकता हो।खाद्य बस्तुको बहुआयामिक चुनौति र अवसरलाई विभिन्न तहको पाठ्यक्रममा राखेर अध्ययन गर्न गराउनु जनचेतना र नागरिक प्रतिवद्धताका लागि पहिलो खुटकिला हो। बजारमा रहेका आधिकांध खाद्य वस्तु कुनै न कुनै रुपमा प्रत्युत्पादक छन्।
नाफा, बजार, माग र आपूर्तिका लोभी-पापी आर्थिक नियमभन्दा अलगै राखेर मानवीय कल्याणको मान्यता मार्फत खाद्य सुरक्षालाई प्रत्याभुत गर्न सकिन्छ। खाने कुरा बिष सावित हुनुहुँदैन। त्यसका लागि पूर्वीय दर्शनमा आधारित खाद्य सुरक्षाको आवधारणालाई अनुशरण गर्ने योजना र कार्यक्रमको संयोजन हुन आवश्यक छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































