
सिमकोट – हुम्लाका एउटा विद्यालयले अभिभावक भेला गराएर वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आ– आफ्ना नानीको पढाइको अवस्था र परीक्षा ल्याएको नतिजाबारे सम्बन्धित अभिभावकले पनि जानकारी पाउन भनेर सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयले यो जुक्ति अपनाएको हो।
प्रधानाध्यापक कैलाश रोकायाले पुस २२ गते सम्पन्ने कक्षा दशको वार्षिक परीक्षाको नतिजा अभिभावकको उपस्थितिमा सार्वजनिक गरिएको बताए।
यो नजिता सार्वजनिक गर्ने कार्यक्रममा उपस्थितिका लागि विद्यालयले अभिभावकलाई पत्राचार नै गरेको थियो। भेलामा प्रधानाध्यापक रोकायाले वार्षिक परीक्षामा विद्यार्थीले प्राप्त गरेको नतिजाबारे जानकारी गरिएको थियो।
जसले गर्दा सबै अभिभावकले आफ्ना नानीको पढाइको अवस्थाबारे जानकारीसमेत प्राप्त गरेका छन्। त्यसैगरी विद्यार्थीको नतिजाप्रति चित्त नबुझेर विषयगत शिक्षकसँग जानकारी लिने व्यवस्था पनि विद्यालयले गरेको थियो। यतिबेला कक्षा दशको परीक्षा दिने विद्यार्थी यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामेल हुने भएका कारण पुस २६ गतेबाट तयारी कक्षा पनि विद्यालयले सञ्चालन गर्ने भएको छ।
उक्त कक्षामा असजिला विषयको तयारीका लागि विद्यार्थीलाई सहभागी गराउन अभिभावक सहमत देखिएका छन्। त्यसैगरी, तयारी कक्षा शिक्षक र अभिभावकले आ–आफ्नो फोन नम्बर समेत साटेका छन्। जसले गर्दा आफ्ना विद्यार्थीको तयारीबारे अभिभावकले सिधै शिक्षकसँग जानकारी लिन सहज हुनेछ।
उक्त विद्यालयमा दश कक्षामा अध्ययनरत विद्यार्थी ५८ जना भए पनि वार्षिक परीक्षामा भने ५७ जनाको सहभागिता रहेको थियो। विद्यालय अब अन्य कक्षाको नतिजा पनि चाँडै सार्वजनिक गर्ने जनाएको छ।