
नेपालगञ्ज – लुम्बिनी प्रदेशमा सिकलसेलका बिरामीको स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ।
प्रदेश सरकारले लुम्बिनीमा सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगका बिरामी र उनका परिवारको स्वास्थ्य बीमा कार्यक्रम बुधबारबाट सुरु गरेको हो।
थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखापरेको सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगका बिरामी र उनका परिवारलाई अब एक लाखसम्मको औषधि र उपचारको व्यवस्था गरिने भएको छ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ बैजापुरमा रहेको अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरे।
स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार राप्तीसोनारी गाउँपालिकामा ३३ जना बिरामी छन्। बाँकेमा सय जना बढी सिकलसेलका बिरामी छन्। बिरामी र बिरामीका ६ जनासम्म परिवारलाई स्वास्थ्य बीमा समेट्ने श्रेष्ठले बताए।
लुम्बिनी प्रदेशका ६ वटा जिल्लामा यो कार्यक्रमको सुरुवात भएको छ। बाँके, बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देही र नवलपरासी जिल्लामा यो कार्यक्रम सुरु गरिएको छ।
सिकलसेल वंशाणुगत रोग हो। प्रायः थारु समुदायमा देखिएको यो रोगलाई रोक्नका लागि फरक समुदायसँग विवाहवारी गर्नुपर्ने विज्ञहरुले सुझाव दिने गरेका छन्। भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डेले थारु समुदायका युवायुवतीले विवाह गर्नुअघि सिकलसेल जाँच गर्न सुझाव दिए।
‘सिकलसेल वा बाहक छ भने उसले त्यो नभएका अर्का समुदायबाट विवाह गर्दा सिकलसेल बच्चामा सर्ने सम्भावना रहँदैन,’ डा. पाण्डेले भने, ‘यो रोगबाट बच्ने यही मात्रै उपाय हो।’