
पोखरा- चौंथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ डिफेन्डिङ च्याम्पियन विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लब र चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड स्पोर्ट्स एकेडेमीले विजयी सुरुआत गरेका छन्।
एपिएफले नेपाल पुलिस क्लब र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड स्पोर्ट्स एकेडेमीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सुखद सुरुवात गरेका हुन्।
टाइगर ग्रुप अप पोखराको आयोजनामा सुरु प्रतियोगिताको पहिलो खेलमा एपिएफले पुलिसलाई ३–२ सेटमा पराजित गरेको हो।
एपिएफले पहिलो सेटमा २५–१८ को जीत दर्ता गरायो। दोस्रो सेट २५–१८ ले जितेको एपीएफले तेस्रो र चौथो सेट लगातार गुमायो। तेस्रो र चौंथो सेटमा पुलिसले २५–१९ र २५–१८ अंकको जित निकाल्दै खेलमा पुनरागमन गर्याे।
तर अन्तिम सेटमा नेपाल पुलिसलाई एपिएफले १५–१३ जीतसहित २ अंक जोड्न सफल भएको छ। पुलिसले १ अंक बटुलेको छ।
दोस्रो खेलमा विभागीय टोली आर्मिले न्यु डायमण्डलाई ३-१ को सेटमा जीत सुम्पियो। जितसँगै न्यु डायमण्डले ३ अंक जोडन सफल भएको छ।
पहिलो र दोस्रो सेट लगातार न्यु डायमण्डले जित्यो। पहिलो सेट २५-२० र दोस्रो सेटमा २५-१७ को जीत दर्ता गराएपनि तेस्रो सेटमा २५-२३ को जीत निकाल्दै आर्मीले पुनरागमनको प्रयास गर्यो। चौथो सेटमा २५-१५ को फराकिलो अन्तरले जीत निकाल्दै विजय भएको हो ।
चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आएको छ।
महिलातर्फ चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड स्पोर्टस क्लब, गण्डकी प्रदेशसँगै ३ विभागीय टोली नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपीएफ क्लब सहभागी छन्।
त्यस्तै, पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाएको छ। प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लब ३ जना पाकिस्तानी खेलाडीसहित मैदानमा उत्रिँदैछ। पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, ३ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लब भिड्दैछन्।
टाइगर ग्रुप पोखरा नेपालले आयोजना गरेको प्रतियोगिताको महिला तथा पुरुष दुवै टोलीले समान पुरस्कार राशी प्राप्त गर्नेछन्। दुवै विधाका विजेताले ५ लाख ५५ हजार ५५ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ। तेस्रो संस्करणको तुलनामा पुरस्कार राशी ५० हजार रुपैयाँले वृद्धि भएको हो।
दोस्रो हुने टोलीलाई २ लाख ५५ हजार ५५५ रुपैयाँ र तेस्रोलाई १ लाख २५ हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ।
सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ५ सय ५५ रूपैयाँ पाउने आयोजकले जनाएको छ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई १० हजार ५५५ रूपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाउनेछन्।