
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केन्द्रीय अस्पतलाहरुका लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताएका छन्।
मंगलबार संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयमा सो दरबन्दीका लागि आफूहरुले गरेको प्रस्ताव स्वीकृत नभए ५ सय शय्यामा केन्द्रीय अस्पतालहरु बन्द हुने अवस्था रहेकोसमेत स्पष्ट पारे।
हाल सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडको अस्पताल सञ्चालन लागि पनि स्वास्थ्य मन्त्रालयले दरबन्दी थपका लागि पठाएको सो प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गर्नै पर्ने सचिव पोखरेलको भनाइ थियो।
उनले सो दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पहल गरिदिन पनि समितिका सदस्यहरुसँग आग्रह गरे। सचिव पोखरेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको विशेषज्ञसहित ५ जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको पनि बताए।
त्यसैगरी अस्पतालहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने नीतिमा भनिए पनि कार्यान्वयन गर्नसक्ने अवस्था नरहेको उनले बताए।
उनले भने, ‘केन्द्रीय अस्पतालको दरबन्दी हामीलाई १५ देखि १६ हजार तुरुन्तै चाहिनेछ। यो भएन भने हाम्रा ५ सय बेडका केन्द्रीय अस्पतालहरु हुँदैनन्। र, आगामी दिनमा बन्दै गरेका ५, १० र १५ बेडका अस्पतालको एउटा प्रस्तावित दरबन्दीको आर्थिक पाटोमा नेपाल सरकारले दिएन भने ती अस्पतालहरु चल्दैनन्।’
बैठकमा बोल्दै सांसदहरुले रोग लाग्नै नदिने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए।