विषयप्रवेश
वेद ज्ञानको स्रोत हो। त्यसैले वेदमा विविध प्रकारका ज्ञान–विज्ञानका बीजहरू पाइन्छन्। “वेदमा के छ?” भन्ने ग्रन्थमा चाहिँ वैदिक मन्त्रहरूको अर्थ बलात् तानतुन पारेर उडन्ते शैलीमा पनि विज्ञान–प्रविधिसित सम्बद्ध विषयहरू प्रस्तुत गरिएकाले यस ग्रन्थका कतिपय विषय आलोचनीय हुन पुगेका छन्। तथापि वेद संस्कृत वाङ्मयमा पाइने विद्याका विभिन्न विधाको मूल स्रोत हो भन्न त निस्सङ्कोच सकिन्छ। यस लेख–शृङ्खलामा वेदमा केकस्ता विषयसित सम्बद्ध ज्ञान पाइन्छन् भन्ने कुराको दिग्दर्शन गराउन खोजिएको छ।
वेदको लक्षण
विश्वसाहित्यमा संस्कृत वाङ्मयको स्थान अद्वितीय तथा अतुलनीय छ। त्यसमा पनि वैदिक वाङ्मयको स्थान सर्वोच्च र विशिष्ट रहेको छ। प्राच्य परम्परामा वेदलाई परमात्माको निश्वासरूप र कत्ति पनि दोष नभएको, ईश्वरीय ज्ञानको पुञ्ज मानिएको छ। अनादि (नित्य), अपौरुषेय (पुरुषद्वारा नरचिएको) तथा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा बाँडिएको, अनेक शाखा भएको, अनादिकालदेखि गुरुशिष्यको अध्यापन र अध्ययनका परम्पराबाट आएको, गुरुले उपनयन (व्रतबन्ध) गरेर शुद्धकुलीन आचारनिष्ठ द्विजातिलाई विधिपूर्वक पढाउने तथा मन्त्र र ब्राह्मणका रूपमा रहेको शब्दराशिलाई विद्वान्हरू वेद भन्दछन्। वेदको विधानपालन गर्नु सनातन–वर्णाश्रम–धर्मावलम्बी आर्यहरूको परम कर्तव्य मानिन्छ।
चाहेको कुरा प्राप्त गर्न र नचाहेको कुरा पन्छाउन विविध अलौकिक उपाय देखाउने ग्रन्थ वेद हो भनेर पनि प्राचीन आचार्यहरू बताउँछन्। यस भनाइको तात्पर्य वेदको विशेषता स्पष्ट गर्नमा रहेको छ। यहाँ अलौकिक उपाय भनेर विभिन्न प्रकारका वैदिक अनुष्ठानहरूलाई सङ्केत गरिएको हो। वैदिक धर्मका चार पुरुषार्थमध्ये मुख्य रूपमा धर्म र मोक्षका विषयमा र तिनका अनुकूल रूपमा अर्थ र कामका विषयमा पनि ज्ञान दिने शब्दराशि वेद हो।
मन्त्र र ब्राह्मण भन्ने प्रमुख दुई विभाग प्रत्येक वेदमा हुन्छन्। त्यसैले मन्त्र र ब्राह्मण वेद हो भन्ने पनि गरिन्छ। प्रायः वैदिक कर्ममा वा यज्ञमा प्रयोग गरिने वेदवाक्यलाई मन्त्र तथा त्यसको व्याख्या गरिएको र वैदिक यज्ञको विधिविधान भएको वेदभागलाई ब्राह्मण भन्दछन्। वेदकल्पका आदिमा पूर्वकल्पको स्मरणका आधारमा ब्रह्माजीबाट तथा मन्वन्तरका आदिमा र महायुगका आदिमा पनि सप्तर्षिहरूबाट प्रचारित हुन्छन्। यसरी हाम्रा शास्त्रीय ग्रन्थअनुसार वेद अनादि परम्पराबाट आएका तथा अपौरुषेय शाश्वत ग्रन्थ मानिन्छन्।
वेदको वास्तविक वा धार्मिक अध्ययन त नियमानुसार तपस्या वा साधना गरेर त्यसकै निम्ति आफ्नो जीवन समर्पण गर्नेहरूबाट मात्र हुन सम्भव छ। वेदको अर्थ ज्ञान हो। ज्ञान दिने शब्दराशि हुनाले शब्दराशिलाई पनि वेद भनिएको हो। मुख्य कुरा ज्ञान भए पनि शब्दराशिकै आधारमा ज्ञान अनादि परम्पराबाट आएको हुनाले शब्दराशि पनि महत्त्वपूर्ण हुन्छ। वेदमा शब्द अर्थको वाचकका रूपमा मात्र नरहने अपितु त्यसमा अरू महत्त्वपूर्ण कुरासमेत निहित हुने हुनाले वेदका शब्द र क्रम पनि अपरिवर्तनीय हुन्छन्। त्यसैले अनादि कालदेखि श्रुतिपरम्पराबाट वेद कत्ति पनि परिवर्तन नभैकन जस्ताको तस्तै आजसम्म पनि आएको देखिन्छ ।
वेदको समय
वेदको आविर्भाव कहिले भयो भनेर आधुनिक दृष्टिले वेदको काल निर्धारण गर्न खोज्नु असम्भव कार्य हो। त्यसैले वेदहरू अत्यन्त प्राचीन र सुव्यवस्थित वाङ्मय हुन् भन्न मात्र उचित हुन्छ। वेदको समय म्याक्समुलरले ई.पू. १५०० भनेको बिलकुलै अप्रामाणिक र पूर्वाग्रहपूर्ण छ। वेदमा उल्लिखित कालको व्याख्या गर्न धेरै पछि लगध मुनिद्वारा रचना गरिएको ग्रन्थ वेदाङ्गज्योतिष नै ई.पू. १४०० मा रचिसकिसकिएको थियो भन्ने कुरा त्यसै ग्रन्थमा बताइएको खगोलीय तथ्यका आधारमा निर्विवाद रूपमा अहिले प्रमाणित भैसकेको अवस्था छ। त्यसैले विदेशीले भनेकै भरमा थुप्रै नेपाली तथा भारतीयहरूले विनाअध्यययन ऋग्वेदको समय ई.पू. १५०० अझै पनि भन्दै गरेको कुरा अनुचित र मूर्खतापूर्ण नै देखिन्छ। म्याक्समुलरको मत अन्य आधारमा पनि उहिल्यै खण्डित भैसकेको कुरा नबुझीकन कलम चलाउनेहरू अझै पनि देखा परिरहनु दुःखद कुरा हो। वैदिक वाङ्मयलाई अर्वाचीन देखाउने सुनियोजित उद्देश्यले उक्त कुरा म्याक्समुलरद्वारा लेखिएको हो भन्ने निष्कर्ष विचारशील विद्वान्हरूको रहेको छ।
आधुनिक विश्वले ऋग्वेदलाई संसारकै सर्वप्राचीन ग्रन्थका रूपमा मानेको देखिन्छ। वेद प्रागैतिहासिक ग्रन्थ हो भनेर बुझ्नुपर्छ।
ज्ञानको मूल स्रोत वेद
वेद ऋषिहरूका निर्मल अन्तःकरणमा प्रस्फुटित ज्ञानराशिले परिपूर्ण ग्रन्थ हो। आफ्नो अत्यन्त शुद्ध, शान्त र तत्त्वदर्शी अन्तःकरणद्वारा वैदिक मन्त्रहरूको साक्षात्कार गर्ने विशिष्ट व्यक्तिलाई मात्र ऋषिशब्दले सम्बोधन गरिन्छ। ऋषिहरू मन्त्रद्रष्टा हुन्, मन्त्रकर्ता वा मन्त्ररचयिता हैनन् भन्ने वैदिक सिद्धान्त रहेको छ। निरुक्तकार यास्क मुनिले “ऋषिर् दर्शनात्” (निरुक्त २।११) भनेर ऋषि शब्दको निर्वचन गरेका हुनाले ऋषिहरू मन्त्रद्रष्टा नै हुन् मन्त्रकर्ता हैनन् भन्ने कुरा स्पष्ट रूपमा बुझिन्छ। त्यसैले जोकोही लौकिक पुरुषलाई ऋषि वा महर्षि भन्नु शास्त्रविरुद्ध र मर्यादाविरुद्ध हुन जान्छ।
वैदिक धर्मका अनुयायीहरू वेदलाई सर्वज्ञानमय मान्दछन्। यो कुरा मनुस्मृतिमा यसरी भनिएको छ—
यःकश्चित् कस्यचिद् धर्मो मनुना परिकीर्तितः।
स सर्वोऽभिहितो वेदे सर्वज्ञानमयो हि सः।।२।७।।
अर्थात्— जोकसैको पनि जेजस्तो धर्म मनुले बताएका छन् त्यो सबै वेदमा नै बताइएको छ, किनभने मनु सम्पूर्ण वेदका ज्ञानले परिपूर्ण छन्।
वेद भनेकै ज्ञान हो। सम्पूर्ण विद्याहरू बीज रूपमा वेदमा छन् भन्ने मान्यता छ। यो कुरा अतिशयोक्तिपूर्ण जस्तो लागे पनि भारतवर्षीय प्रायः सबै विद्याका बीजहरू वेदमा पाइन्छन् भन्ने कुरा सत्य नै हो। ऋषिहरूका तपस्याले र प्रज्ञाले प्राप्त भएको, कुनै प्रकारको पनि दोष वा कमीकमजोरी नभएको, अपरिवर्तनीय तथा शाश्वत ज्ञान नै वैदिक ज्ञान हो। वेद आफैँमा परिपूर्ण छ। वैदिक परम्परामा वेदमा नै दोष देखाउन खोज्नेहरूको पनि मत र तर्कलाई अगाडि ल्याएर विवेचना गरी तिनका सबै मतको तर्कले र युक्तिले खण्डन गरिएको समेत देखिन्छ। मीमांसाशास्त्रले यस क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको छ। यस्तो कुरा पत्तै नपाईकन कतिपय आधुनिक व्यक्तिले वेदलाई विनापरीक्षा अतिविश्वास गरियो भनेर आक्षेप गरेको पनि सुनिन्छ।
अहिलेका मान्छेले वेदको अर्थ, प्रयोग र रहस्य बुझ्न शिक्षा (वर्णोच्चारणशिक्षा), कल्प (कर्मकाण्डशास्त्र), व्याकरण (शब्दानुशासन), निरुक्त (निर्वचनशास्त्र तथा देवताविद्या), छन्द (छन्दश्शास्त्र) र ज्योतिष (कालगणनाशास्त्र) यी छ ओटा वेदाङ्गशास्त्रहरूको सहायता लिनुपर्ने हुन्छ । साथै मीमांसादर्शनका नामले प्रसिद्ध वेदोपाङ्गशास्त्रको पनि सहायता आवश्यक पर्छ।
वेदका अध्ययनबाट विशेष गरी ऋग्वेदका अध्ययनबाट वैदिक समाजका धर्म, दर्शन, संस्कृति, भाषा, साहित्य, कृषि, पशुपालन, वाणिज्य, सामाजिक प्रचलन, भौतिक उन्नति इत्यादि अनेक विषयको इतिहासको ज्ञानसमेत गर्न सकिने हुँदा ऋग्वेदको ठुलो महत्त्व छ भन्ने कुरा आधुनिक विचारकहरूले पनि बताएका छन्। एक जना पाश्चात्त्य अध्येताले ऋग्वेद एउटा पुस्तक मात्र नभएर सिङ्गो पुस्तकालय र वाङ्मयसमेत हो भनेको पनि पाइन्छ। उक्त विषयहरूमध्ये केही विषयको चर्चा यस लेखमा गरिन्छ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक विषय
वेदमा अग्नि, वायु, इन्द्र, आदित्य, मित्र, वरुण, रुद्र इत्यादि देवताहरूको स्तुति गरिएका मन्त्रहरू प्रशस्त छन्। साथै विभिन्न देवतालाई उद्देश गरेर अग्निमा घिउ, दुध, दही, चरु इत्यादि द्रव्य हवन गर्ने विधि पनि त्यहाँ पाइन्छन्। वेदमा देवताहरूको प्रतिमामा चन्दन–अक्षताहरूबाट गरिने पूजाको पद्धति छैन तापनि मन्त्रहरूद्वारा गरिने स्तुति र अग्निमा गरिने होमको पद्धति छ।
अग्निहोत्र, दर्शपूर्णमास, चातुर्मास्य, निरूढपशुबन्ध, सोमयाग, राजसूय, वाजपेय, अश्वमेध इत्यादि हवनात्मक यज्ञहरूको विस्तृत पद्धति वेदमा पाइन्छ। यसैबाट अन्य प्रकारका पूजाका पद्धतिहरू पनि विकसित भएको बुझिन्छ। ठुलठुला वैदिक यज्ञको अनुष्ठान गर्न आवश्यक पर्ने भौतिक सामग्री र उपकरणहरूको विवरण हेर्दा वैदिक समाज भौतिक रूपमा पनि अत्यन्त समृद्ध थियो भन्ने कुरा स्पष्ट हुन्छ।
वेदमा सृष्टिसम्बद्ध विविध तर्क प्रस्तुत गरिएका छन्। सृष्टिविज्ञान अत्यन्त जटिल र दुर्ज्ञेय भएको कुरा वेद तथा उपनिषद्को अध्ययनबाट बुझ्न सकिन्छ। आधुनिक वैज्ञानिकहरूले पनि सृष्टिका विषयमा विभिन्न परिकल्पना अगि सारेका छन्। उनीहरू पनि एउटै निष्कर्षमा पुग्न सकेका छैनन्। वेद र उपनिषद्मा बताइएको सृष्टिप्रक्रियामा ठाउँठाउँमा भिन्नता देखिए पनि अविनाशी परम तत्त्व ब्रह्मबाट नै यो सारा सृष्टि भएको निष्कर्षमा वेद र उपनिषद्को ऐकमत्य देखिन्छ।
स्नान, सन्ध्यावन्दन, स्वाध्यायाध्ययन, तर्पण इत्यादि प्रतिदिन गर्नुपर्ने नित्यकर्मका विधान, व्रतबन्ध विवाह इत्यादि संस्कारका विधि, ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र यी चार वर्णका धर्म र कर्तव्य, ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्न्यासाश्रमका कर्तव्य र अकर्तव्यका निर्देशन इत्यादि अन्य विविध धार्मिक तथा सामाजिक विषय पनि वेदमा यत्रतत्र भेटिन्छन्। समाजमा र कुटुम्बमा नारीको स्थान तथा पतिपत्नीको सम्बन्ध पनि वेदबाट स्पष्ट रूपमा बुझ्न सकिन्छ। तसर्थ हाम्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनपद्धतिको मूल स्रोत वेद नै हो भन्ने देखिन्छ।
कौटुम्बिक सम्बन्ध
कुटुम्बका (परिवारका) सबै व्यक्तिले पालन गर्नुपर्ने धर्मका र कौटुम्बिक सम्बन्धका विषयमा पनि विभिन्न वैदिक मन्त्रहरूमा प्रशस्त उल्लेख पाइन्छन्। अथर्ववेदका साम्मनस्य–सूक्तमा कुटुम्बका व्यक्तिहरूले परस्पर केकस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा राम्ररी वर्णन गरिएको छ।
कुटुम्बमा सबै जनाको उस्तै हृदय र उस्तै मनोवृत्ति होस्, उनीहरूले परस्परमा द्वेष–भाव नराखून् र भर्खरै ब्याएकी गाईले नवजात बाच्छालाई चाहेझैँ एउटाले अर्कालाई चाहोस् भन्ने कामना त्यहाँको पहिलो ऋचामा यसरी व्यक्त भएको छ—
सहृदयं साम्मनस्यमविद्वेषं कृणोमिवः।
अन्यो अन्यमभिहर्यत वत्सं जातमिवाघ्न्या ।।३।३०।१।
यसबाट कुटुम्बका व्यक्तिहरूले समान आस्था लिन र मिल्दोजुल्दो मनोवृत्ति बनाउन तथा परस्परमा प्रेम गर्न आवश्यक हुन्छ भन्ने वेदमा निर्दिष्ट भएको कुरा स्पष्ट हुन्छ।
छोराले बाबुको कामलाई पच्छ्याउनुपर्छ र आमाको मन राख्ने पनि हुनुपर्छ, साथै पत्नीले पतिप्रति शान्तिप्रद मधुर बोली बोल्नुपर्छ भन्ने विधान पनि उक्त सूक्तको दोस्रा ऋचामा गरिएको छ ।
दाजु–भाइले र दिदी–बहिनीहरूले परस्परमा द्वेष नगरून्, उनीहरूले परस्परमा सोझो व्यवहार र समान आचरण गर्दै कल्याणकारी वाणी बोलून् भन्ने निर्देश त्यहीँको तेस्रा ऋचामा दिइएको छ ।
कुटुम्बका सबै व्यक्तिले परस्पर सद्व्यवहार गर्नुपर्छ, मधुरो बोल्नुपर्छ, सहयोग गर्नुपर्छ र कहिल्यै पनि परस्पर बिछोडिन नपरोस् भन्ने भाव राखेर तदनुकूल कामकाज गर्नुपर्छ भनेर पनि त्यहीँ बताइएको छ (३।३०।५) ।
बा, आमा, छोराछोरी, छोराबुहारी, नातिनातिना इत्यादि कुटुम्बका सबै जना नै एउटै घरमा मिलेर बस्ने सामाजिक प्रचलन वैदिक–सनातन–परम्परामा अनादिकालदेखि रहेको तथ्य तल निर्देश गरिएका मन्त्रले सूचित गरेको देखिन्छ—
इहैव स्तं मा वियौष्टं विश्वमायुर् व्यश्नुतम्।
क्रीडन्तौ पुत्रैर् नप्तृभिर् मोदमानौ स्वे गृहे।। —ऋग्वेद १०।८५।४२, द्रष्टव्य— अथर्ववेद १४।१।२२।
वर र वधूलाई आशीर्वाद दिइएको उक्त मन्त्रको अर्थ यस प्रकारको छ— हे वर र वधु, तिमीहरू यसै लोकमा रहे। तिमीहरूको कहिल्यै वियोग नहोओस् (छुट्टिएर कहिल्यै बस्न नपरोस्)। सम्पूर्ण आयु उपभोग गरे (पूर्ण जीवन बाँचे)। आफ्ना घरमा छोराछोरी र नातिनातिनासित खेल्दै–रमाउँदै बसे। यसबाट सर्वकल्याणकारी उक्त प्रकारको कौटुम्बिक व्यवस्थाको स्रोत पनि वेद नै हो भन्ने कुरा स्पष्ट हुन्छ।
दार्शनिक ज्ञान
वेदमा धेरै ठाउँमा विविध प्रकारले दार्शनिक विचार प्रस्तुत भएका छन्। ऋग्वेदमै विश्वतत्त्वसम्बन्धी अथवा दर्शनसम्बन्धी गम्भीर चिन्तनका कुरा पाइन्छन्। यस्तो चिन्तन भएका सूक्तहरूमध्ये पुरुषसूक्त (१०।९०।१–१६) र नासदीय सूक्त (१०।१२९।१–७) अत्यन्त प्रसिद्ध छन्।
वेदमा सृष्टिसित सम्बद्ध विभिन्न विषयवस्तुहरू छरिएर रहेका छन्। जगत्को सृष्टिका सम्बन्धमा विभिन्न दर्शनमा भिन्नभिन्न प्रकारका दृष्टिकोण र व्याख्याहरू प्रस्तुत गरिएका पाइन्छन्। ती दर्शनहरूमध्ये वेदान्तमा प्रतिपादित दर्शन सबैभन्दा प्राचीन र गम्भीर दर्शन हो। उपनिषद्को दर्शनलाई नै वेदान्तदर्शन पनि भन्ने गरिन्छ। वेदान्त शब्दको अर्थ वेदको अन्तिम भाग वा वेदको सार वस्तु भन्ने हो। तसर्थ उपनिषद्हरू नै वेदका अन्तिम भागमा रहेकाले वा वेदको सारभूत विषय प्रतिपादन गर्ने भएकाले वेदान्त भनेर पनि व्यवहार गरिन्छन्। वस्तुतः उपनिषद्हरू वेदकै अंश भएकाले र वैदिक सनातन मान्यताअनुसार वेद अनादि तथा अपौरुषेय मानिने हुनाले पनि वैदिक परम्परामा उपनिषद्को दर्शन नै विशेष रूपमा मान्य रहिआएको छ।
मन्त्रसंहितामा उपलब्ध पुरुषसूक्तको विषयवस्तु अत्यन्त गम्भीर र महत्त्वपूर्ण छ। वेदका दार्शनिक सूक्तहरूमध्ये यो सूक्त अत्यन्त प्रसिद्ध छ। सृष्टिको रहस्य खुलाउन यो सूक्त प्रवृत्त भएको देखिन्छ। यस सूक्तमा परम पुरुषबाट अर्थात् परमात्माबाट कुनकुन क्रमले केकेको सृष्टि भएको हो भन्ने कुराको र परम पुरुषको स्वरूपको वर्णन गरी परमात्माको महिमा देखाइएको छ। वेदमा वा वेदान्तमा सृष्टिको वर्णन गर्नुको तात्पर्य सृष्टिप्रक्रिया देखाउनुमा नभएर आध्यात्मिक वा दार्शनिक चिन्तन प्रस्तुत गर्नुमा वा सृष्टिको मूलमा रहेको तत्त्वको ज्ञान गर्नतिर लोकको बुद्धि फर्काउनुमा रहेको छ भन्ने बुझिन्छ।
यहाँ उल्लिखित सृष्टिप्रक्रियामा यज्ञको अनुष्ठानको पनि महत्त्वपूर्ण भूमिका देखाइएको छ। यसै सूक्तमा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रको उत्पत्ति पुरुषरूपी परमेश्वरबाट भएको भन्ने उल्लेख गरेर वैदिक समाजमा चार वर्णको वर्गीकरण अनादि परम्परादेखि नै भैआएको कुरा सिद्ध गरिएको छ।
जगत्को सृष्टिभन्दा पहिलाको अवस्था केकस्तो थियो भन्ने जिज्ञासा हुनु स्वाभाविक हो। वेदान्तले ब्रह्मभन्दा भिन्न वस्तुको वास्तविक सत्ता स्वीकार गरेको छैन। अतः सृष्टिभन्दा पहिला अथवा सृष्टि भएपछि पनि जगत्को सत्ता भनेको वास्तवमा ब्रह्मकै सत्ता भएको हुनाले सृष्टिभन्दा पहिला जगत् सत् अर्थात् ब्रह्मकै रूपमा रहेको थियो भन्ने उपनिषद्को भनाइ देखिन्छ। उपनिषद्को भनाइ भन्नु र वेदको भनाइ भन्नु एउटै कुरो हो।
वेदमा सृष्टिसम्बद्ध विविध तर्क प्रस्तुत गरिएका छन्। सृष्टिविज्ञान अत्यन्त जटिल र दुर्ज्ञेय भएको कुरा वेद तथा उपनिषद्को अध्ययनबाट बुझ्न सकिन्छ। आधुनिक वैज्ञानिकहरूले पनि सृष्टिका विषयमा विभिन्न परिकल्पना अगि सारेका छन्। उनीहरू पनि एउटै निष्कर्षमा पुग्न सकेका छैनन्। वेद र उपनिषद्मा बताइएको सृष्टिप्रक्रियामा ठाउँठाउँमा भिन्नता देखिए पनि अविनाशी परम तत्त्व ब्रह्मबाट नै यो सारा सृष्टि भएको निष्कर्षमा वेद र उपनिषद्को ऐकमत्य देखिन्छ।
ऋग्वेदको नासदीय सूक्तमा (१०।१२९।१–७) मुख्य रूपले सृष्टिभन्दा पहिलाको अवस्थाका बारेमा वर्णन गरिएको छ— त्यति वेला सत्, असत्, मृत्यु, जीवन, विभिन्न लोक, अन्तरिक्ष, रात, दिन, सूर्य, चन्द्र, प्रकाश, जल इत्यादि केही पनि थिएन। तर तिनको मूलभूत स्रोतरूप तत्त्वचाहिँ थियो। त्यही अविनाशी परम तत्त्वबाटै मन, कामना, अनि भोक्ता र भोग्य पदार्थ पनि उत्पन्न भए। यो सारा सृष्टिको रहस्य उही परम तत्त्वले मात्र जान्न सक्तछ, अरूको बुद्धि सीमित भएका कारण अरू कसैले पनि जान्न सक्तैन इत्यादि गम्भीर दार्शनिक विचार उक्त सूक्तमा प्रस्तुत भएको छ।
वेदान्तका रूपमा चिनिने उपनिषद्हरूमा आत्माको स्वरूप र त्यसको ज्ञान गर्ने उपाय पनि विभिन्न तरिकाबाट देखाइएको पाइन्छ। उपनिषद्मा प्रतिपादित दर्शन नै विश्वको उत्कृष्टतम दर्शन हो भन्ने कुरा आधुनिक विश्वले पनि स्वीकारेको देखिन्छ।
उपसंहार
वेदमा प्रतिपादित धार्मिक, सांस्कृतिक, सामाजिक तथा दार्शनिक विषयहरूको दिग्दर्शनात्मक चर्चा यस लेखमा गरियो। अर्को लेखमा राजनीतिक, साहित्यिक, भाषिक तथा अन्य विविध विषयमा वेदमा केकस्तो ज्ञान पाइन्छ भनेर विवेचना गरिने छ।

भर्खरै
लोकप्रिय






































































































































































































