
पोखरा- पोखरामा जारी चौंथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड स्पोर्ट्स क्लब फाइनलमा पुगेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो।
फाइनलमा न्यु डायमण्डले साविकको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग उपाधि भिडन्त पक्का गरेको छ।
न्यु डायमण्डले पुलिसलाई २५-१९, २५-१८ र २५-१८ अंकका साथ सहज जित निकाल्यो।
बिहीवार नै भएको पहिलो सेमिफाइनलमा विभागीय टोली एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३-२ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो।
माघ ६ गते प्रतियोगिताको फाइनल खेल हुनेछ। टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको प्रतियोगिताको महिला तथा पुरुष दुवै टोलीले समान पुरस्कार राशी प्राप्त गर्नेछन्।
दुवै विधाका विजेताले ५ लाख ५५ हजार ५५ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ।
दोस्रो हुने टोलीलाई २ लाख ५५ हजार ५५५ रुपैयाँ र तेस्रोलाई १ लाख २५ हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ। सर्वोकृष्ट खेलाडीले समान २५ हजार ५ सय ५५ रूपैयाँ पाउने आयोजकले जनाएको छ।
उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई १० हजार ५५५ रूपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाउनेछन्।