
सिमकोट – पैतलीस दिन सुत्केरी भएको समय पुगेका महिला र शिशुको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी घरघरमा पुग्ने गर्दै आएका छन्। सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सुत्केरीपश्चात घर भेटघाट कार्यक्रम राखेर स्वास्थ्यकर्मी घरघरमा पुगेका हुन्।
सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौककी स्वास्थ्यकर्मी रमिता रोकाया बोहराले हालसम्म स्वास्थ्य चौकीको प्रसूतिगृहमा आएर सुत्केरी भएकी दश जना सुत्केरी महिलाको सुत्केरीपश्चात् घर भेटघाट कार्यक्रम चलिरहेको बताइन्।
उनले सुत्केरी भएको २४ घण्टासम्म सुत्केरी महिला र नवजात शिशु स्वास्थ्य चौकीमै रहने र त्यसपछि घर पठाउने गरिएको छ भने सुत्केरी भएको चौथो दिनमा दोस्रो पटक घरमै पुगेर सुत्केरी महिला तथा शिशुको अवस्थाबारे जानकारी लिने गरिनुका साथै ४५ दिनमा तेस्रो पटक भेटघाट गर्ने गरिएको बताइन्।
गाउँपालिका सवस्थ्य शाखाकी स्वास्थ्यकर्मी मनमाया वली शाहीले यो कार्यक्रम निकै प्रभावकारी रहेको भन्दै यसबाट आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सहज भएको बताइन्।
यसरी स्वास्थ्यकर्मी सुत्केरीपछिको घरभेट कार्यक्रममा जाँदा दुवै जनाको पोषणको अवस्था, स्याहारसुसारको अवस्थाबारे जानकारी दिन र घरका परिवारका सदस्य जानकारी गराउन पनि सहज भएको उनले बताइन्।
यसअघि यस्तो कार्यक्रम नहुँदा धेरै सुत्केरी भएकी महिला बिरामी भएर स्वास्थ्य चौकीमा आउने गरेको समस्या देखिएपछि यो नयाँ कार्यक्रम राखिएको हो।
यो कार्यक्रमबाट सुत्केरीको रगत बग्ने, शरीर सुन्निनेलगायत समस्याबाट मुक्त बनाउन यो कार्यक्रमले सहयोग पुगेको छ। उनले गाउँपालिकाभरिका आठ वटै वडा र जिल्ला अस्पतालसहित साउनयता ६९ जना गर्भवती महिला सुत्केरी भएको बताउँदै उनीहरूसँग घरभेट कार्यक्रम स्वास्थ्यकर्मीले जारी राखेको बताइन्।