
पोखरा- आहा रारा पोखरा गोल्डकपमा आइतबार दोस्रो क्वार्टरफाइनल खेल हुँदैछ।
आज दोस्रो क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन संकटा युथ क्लबसँग नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गर्ने होडमा भिड्न लागेका हुन्।
खेल पोखरा रंगशालामा आज दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ। त्रिभुवन आर्मीले पहिलो पटक सहभागि भएको नवलपरासीको राइजिङ स्टार क्लबलाई पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो।
डिफेन्डिङ च्याम्पियन संकटा भने सिधै बाइ पाएर आर्मीसँग भिड्दैछ।
आर्मी र संकटा यस अगावै २ पटकसम्म भिडेका थिए। दुवै पटक क्वार्टरफाइनलमै भिडेका संकटा र आर्मीले १/१ खेलमा जित निकालेका छन्।
संकटा हालसम्म ७ पटकमात्रै प्रतियोगितामा सहभागी भएको छ । संकटाले २ पटक उपाधि जितेको छ। दुई पटक सेमिफाइनल खेलिसकेको छ ।
संकटाले २०७७ को फाइनलमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो।
विभागीय टोली आर्मी १५ औं पटक आहारारा पोखरा गोल्डकपमा सहभागि भएको छ। आहा रारा पोखरा गोल्डकपमा आर्मी ‘अभागी टिम’ को रुपमा परिचित छ।
किनकि पटकपटक उपाधि नजिक पुगेर पनि अहिलेसम्म नाम लेखाउन सकेको छैन।
२०६० सालमा पहिलो पटक सहभागी भएको आर्मीले सेमिफाइनलसम्मको यात्रा तय गर्याे। त्यसपछि ४ पटकसम्म फाइनल यात्रा तय गरेर पनि रित्तै घर फर्किरहेको छ।
आर्मी पहिलो पटक २०६५ मा फाइनल पुगेको थियो। नेपाल पुलिससँग ५-० गोल अन्तरले पराजित भयो। २०६६ सालमा पनि फाइनल पुगेको आर्मीलाई पुलिसले बाधक बन्यो।
आर्मी १–० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझायो।
२०७२ सालमा फाइनलमा आर्मी मनाङ मस्र्याङ्दीसँग १-० गोल अन्तरले पराजित गर्दै तेस्रो पटक उपाधि जित्नबाट चुक्यो।
२०७५ सालमा पनि आर्मी अभागी सावित भयो। ट्राइब्रेकरमा थ्रीस्टार क्लबसँग ५-२ गोल अन्तरले हार व्यहोर्दै घर फर्कियो ।
२२ औं संस्करणमा आर्मी संकटा क्लबसँग ३-१ गोल अन्तरले पराजित हुँदै क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेन।
आजको विजेताले माघ १८ गते चर्चब्वाइज र एपीएफमध्येको विजेतासँग सेमिफाइनलमा भिड्नेछ।