
काठमाडौँ- नेपाल एपीएफ अस्पताल बलम्वुमा बुधबार अन्कोलोजी युनिटको स्थापना भएको छ ।
अस्पतालको २२औँ वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्व केन्द्रीय अध्यक्ष श्रीमती कल्पना थापाले पूर्व सशस्त्र प्रहरी महानिरीक्षक स्व. सहवीर थापाको स्मृतिमा स्थापना गरिएको ‘सहवीर थापा अन्कोलोजी युनिट’को संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
अन्कोलोजी युनिट सञ्चालनको लागि स्थापना गरिएको अक्षयकोषमा महानिरीक्षक अर्याल तथा परिवारको तर्फबाट ५ लाख रुपैयाँ प्रदान गर्नुकोसाथै वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले समेत सहयोग रकम प्रदान गरेका छन्।
साथै महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पताल बलम्वुमा निर्माण भएको नयाँ इमर्जेन्सी भवनको समेत उद्घाटन गरेका छन्।
महानिरीक्षक अर्यालले अस्पतालमा कार्यरत रही वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत कदरपत्र प्रदान गरेका थिए।
त्यस्तै उनले अस्पतालमा कार्यरत रही उच्च पेशागत दक्षता प्रदर्शन गर्ने नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा. रुपक महर्जन लगायत अन्य कर्मचारीलाई आइजी एपीएफ कमेन्डेसन प्रदान गर्नुकासाथै अस्पताललाई अनुकरणीय सहयोग पुर्याउँदै आउनुभएका विभिन्न संघसंस्था तथा महानुभावहरुलाई कदरपत्र प्रदान गरेका थिए।
सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालको विविध गतिविधिहरु समेटि तयार पारिएको ‘अस्पताल प्रतिबिम्ब २०८०’को विमोचन समेत गरेका थिए।
महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पताललाई आजको अवस्थासम्म ल्याई पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दे अस्पतालमा कार्यरत कर्मचारीहरुलाई प्रविधि र सीपको नविनतम विकासहरुलाई आत्मसाथ गरी आगामी दिनहरुमा समेत स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध भई निरन्तर लागि रहन निर्देशन दिए।
‘म होइन हामी भन्ने मान्यता लिई मालिक होईन सेवक हुँ भन्ने भावनासाथ काम गर्न पनि महानिरीक्षक अर्यालले निर्देशन दिए।