चकनाचुर भयो ४५ लाख भारु तिरेर अमेरिका पुग्ने सपना

चकनाचुर भयो ४५ लाख भारु तिरेर अमेरिका पुग्ने सपना
+
-

काठमाडौँ- भारतीय नागरिकलाई अमेरिका पठाउने भनेर काठमाडौंमा ल्याएर रातोपुलको एक घरमा बन्धक बनाएको आरोपमा ८ भारतीय र एक नेपाली गरी ९ जना पक्राउ परेका छन्। अमेरिका पठाइदिने भनेर काठमाडौं ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बिहीबार पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी दिँदै गर्दा र गिरोहका संलग्न ९ जनालाई सार्वजनिक गर्दै गर्दा प्रहरीले उद्धार गरेका ११ जना भारतीय नागरिक भने परिसरको क्यान्टिननजिक बसेर एकअर्कासँग कुरा गर्दै थिए। ११ जनामध्ये एक थिए- २६ वर्षका गुरुइन्दर सिंह पञ्जाबका। उद्धार गरिएका ११ जनामध्य उनी पहिलो व्यक्ति हुन्, जसलाई गिरोहले बन्धक बनाएको घरमा पुर्‍याएका थिए।

गुरुइन्दर सिंह।

उनी गत जनवरी २५ मा काठमाडौँ आइपुगेका थिए। दुई दिन होटलमा बसेपछि २७ तारिखमा उनलाई रातोपुलको घरमा पुर्‍याइएको हो। प्रहरीको अहिलेसम्मको अनुसन्धानअनुसार त्यो घर यही कामको लागि भाडामा लिइएको हो।

मलीन अनुहार बनाएका गुरुइन्दरले देशसञ्चारसँग भने- काठमाडौं आएको दुई दिनपछि त्यो घरमा पुर्‍याए। वैध तरिकाले नै अमेरिका लैजान्छौँ भनेका थिए। हामी त कहाँ फसेछौँ।

आफ्नो कुरा सुनाइराख्दा उनको बोली बेलाबेला अड्किन्थ्यो।

प्रहरीले पक्राउ गरेका अभियुक्तहरु।

पञ्जाबकै १९ वर्षीय गुरप्रित सिंह फेब्रुअरी २ तारिखमा काठमाडौं आएका थिए। ४५ लाख भारतीय रुपैयाँ अभियुक्तहरुलाई बुझाएको उनले बताए। नेपाल आएपछि थप ३००० डलर बुझाएका थिए। प्लस टु गरेका उनको इच्छा अमेरिका जानु थिएन। पञ्जाबका अधिकांश मानिस क्यानडा जान्छन्। ‘मेरो इच्छा पनि क्यानडा जाने थियो, तर दलालको कुरामा फसियो। वर्क परमिटको अनुमति सहित अमेरिका जाने हो, मेक्सिको पुगेपछि ५ दिनमा सबै कागजपत्र तयार हुन्छ। त्यसपछि अमेरिका सजिलै  कानुनी रुपमै पुग्ने भनेपछि क्यानडा जाने सपनालाई छेउमा राखेर अमेरिका जाने सपनासहित काठमाडौं आएँ,’ उनले भने।

उनीसँगै १९ वर्षीय मनवीर सिंह पनि काठमाडौँ आएका थिए। उनीहरूलाई रातोपुलको त्यही घरमा लगिएको थियो। उनीहरूभन्दा अगाडि त्यहाँ गुरुइन्दरलाई बन्धक बनाइसकेका थिए अभियुक्तहरुले।

रातोपुलको घरमा पुर्‍याइसकेपछि उनीहरूको पासपोर्ट मागियो। हात बाँधियो। त्यसपछि आफूहरुलाई बन्धक बनाएको गुरप्रित र मनवीरले थाहा पाए। उनीहरुसँगै बन्धक थिए गुरुइन्दर पनि। थाहा पाए पनि आफूहरूले केही गर्नसक्ने अवस्था नभएको उनीहरूले बताए। ‘हामी केही गर्नसक्ने अवस्थामा थिएनौं। हाम्रो गर्धनमा चक्कु जस्तो हतियार राखिन्थ्यो। उनीहरूले जे भन्यो, घरपरिवारसँग कुरा गराउँदा त्यही भन्नुपर्थ्यो,’ मनवीरले भने।

‘जुन घरमा हामीलाई राखिएको थियो। पक्राउ परेकाहरु पनि त्यहीँ बस्थे। पासपोर्टमा नकली छाप हान्ने, भिडियो बनाउने अनि ४/५ दिनको अन्तरालमा परिवारसँग कुरा गराउँथे। हामीसँग कोपरेट गर नत्र तिमीहरूलाई जे पनि हुन सक्छ भन्थे। हँसिलो अनुहारसहित परिवारसँग कुरा गर भन्थे,’ मनवीरले भने।

पीडितका परिवारलाई मेक्सिको पुगेको भनेर भिडियोकल गराउँथे अभियुक्तहरु। ‘तर, हामी यहीँ काठमाडौंमा बन्धक बनाइएका थियौँ,’ मनवीरले भने।

प्रहरीले उद्धार गरेपछि प्रहरीलाई आग्रह गरेर उनीहरुले घरमा सम्पर्क गरे। ‘हामीलाई नेपाल प्रहरीले उद्धार गर्‍यो, नेपाल प्रहरीलाई धेरै धन्यवाद छ, अलि चाँडै हुन सकेको भए हाम्रो पैसा पनि बच्थ्यो । हाम्रो ज्यान बचाएकामा नेपाल प्रहरीलाई धेरै धन्यवाद छ,’ उनले भने।

उनीहरू पछि त्यहाँ आइपुगे, २५ वर्षका जगदीप सिंह। उनी पनि पञ्जाबकै हुन्। उनी दिल्लीबाट फेब्रुअरी ७ मा काठमाडौं आइपुगे। त्यसपछि उनी पनि बन्धक बनाइए। प्रहरीले उद्धार गरेपछि आफूले घर कुरा गर्न पाएको उनले बताए। उनले आफ्नो दिदीभिनाजुलाई मात्र भनेका छन्, आफू बन्धकमा परेको कुरा।

सुरुमा बोल्न असहज मानेका उनले केही समयपछि खुल्दै आफ्नो कुरा भने। ‘यत्रो दिनसम्म हामीले घाम कस्तो हुन्छ, देखेनौँ। बाहिर कस्तो छ, केही थाहा भएन। काठमाडौंको कुन ठाउँ हो, केही थाहा पाएनौं। खाना त दिन्थे। तर हामीलाई डर थियो, खानामा पो केही मिसाइएको छन् कि भन्ने,’ उनले भने।

‘म आएपछि पनि त्यहाँ हामीलाई ल्याएजसरी ल्याउने क्रम जारी रही रह्यो। हामी ठगियौँ, बन्धक भयौँ भन्ने हामीले थाहा पायौं। तर केही गर्न सक्ने अवस्था थिएन । पर्दा खोल्नसमेत अनुमति थिएन । ट्वाइलेट जाँदासम्म उनीहरुका २ जना मान्छे सँगै जान्थे,’ उनले भने।

सुरुमा उनीहरू ‘होटल बुक गर हामी रिसिभ गर्न आउँछौँ’ भन्थे। त्यसपछि होटलमा आएर पासपोर्ट लिन्थे। ‘पासपोर्ट रिसिभ गर्ने मान्छे ९ जना समातिएको मध्यका होइन,’ उनले भने, ‘पासपोर्ट लिन पक्राउ परेको छैन।‘

होटलबाट ‘रातको फ्लाइट छ, उता हाम्रो बोस हुनुहुन्छ, केके गर्नुपर्छ’ भन्दै रातोपुलको घरमा पुर्‍याउँथे। त्यसपछि बल्ल उनीहरु आफू बन्धक बनाइएको थाहा पाउँथे। ‘हामी एकअर्कालाई चिन्दैन थियौँ। यहीँ आएर चिनजान भएको हो,’ उनले भने।

भारतीय सेनाबाट उनका बाबु रिटायर्ड भएको एक महिना भयो। आमा गृहिणी छिन्। दिदीको बिहे भइसकेको छ। ‘म एक्लो थिएँ, ग्राजुएसन गरेको छु। घरपरिवारले विदेश जाओस् भने चाहेको पनि थिएन। तर खै, कसरीकसरी गिरोहको कुरामा फसेँ,’ उनले भने।

घरमा उनका बुबाआमालाई के भयो भन्ने कुरा अझै थाहा छैन। ‘दिदीले आफ्नो ख्याल गर, फर्केर आऊ अनि घरमा बुबा आमालाई भनौंला’ भनेकी छन्।

यस गिरोहको मुख्य आरोपित महिला रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए भने उद्धार गरिएका गुरप्रितले पनि महिला रहेको जानकारी दिएका थिए। गुरप्रितले घरमा फोन गरेर आफूलाई अमेरिका लग्ने नभई बन्धक बनाएको जानकारी गराएपछि घरपरिवारले प्रहरीमा एफआईआर दर्ता गरी ती महिला समातिएको उनले बताए।

जगदीप सिंह।

प्रहरीले रातोपुलको घरबारे गोप्य सूचना पाएपछि त्यहाँ दुई दिन निगरानी गरेको थियो। त्यसपछि प्रहरी घरमा प्रवेश गरेको थियो। सुरुमा त पीडितहरुले आफूहरु कम्मलको काम गर्ने भनेका थिए। उनीहरूलाई गिरोहका मान्छेले त्यही सिकाएकाले उनीहरूकै मान्छे होलान् भनेर त्यस्तो भनेको पीडितले बताए। पीडितहरुले जब त्यहाँ आएकाहरु प्रहरी हुन् भन्ने थाहा पाए, त्यसपछि उनीहरुले सबै कुरा बताए।

प्रहरीले उनीहरुलाई उद्धारपछि होटलमा व्यवस्था गरेर राखेको एसएसपी खत्रीले जानकारी दिए। उद्धार गरिएका मध्य अधिकांश ३० वर्षभन्दा कम उमेरका छन्। उनीहरू  हरेकले ४०/४५ लाख भारतीय रुपैयाँ बुझाएको र नेपाल आएपछि थप ३ हजार डलर उनीहरूसँग गिरोहले लिएको एसएसपी खत्रीले जानकारी दिए। ‘उद्धार गरिएकाहरुलाई घर पठाउने विषयमा भारतीय दूतावाससँग सम्पर्क भइरहेको छ, प्रक्रिया पूरा गरी केही दिनमा उहाँहरू घर पुग्नु हुने छ,’ एसएसपी खत्रीले भने।

काठमाडौँ प्रहरी परिसरका प्रमुख भूपेन्द्र खत्रीका अनुसार  भारतीय नागरिक इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा पक्राउ गरेका हुन्। नेपाली नागरिकको नाम भने खुलाइएको छैन। यीमध्ये यादव यसका प्रमुख योजनाकार हुन्। प्रहरीले यो अप्रेसनलाई अप्रेसन डंकी नाम दिएको थियो।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष