
बाँके-बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा गाडीको ठक्करबाट एउटा चितुवाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख २९७४ नंको हाइस माइक्रोबसले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्वपश्चिम राजमार्गमा मंगलबार साँझ ठक्कर दिँदा चितुवाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ बाघखोरमा हाइसले चितुवालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडक पारगर्ने बेलामा तीव्र गतिमा रहेको हाइसले चितुवालाई ठक्कर दिएको हो।
बाक्लो हुस्सु लागेका कारण जनावरले बाटो पार गर्दा सवारीसाधनको शिकार हुने गरेका छन्। निकुञ्जले वन्यजन्तुको क्षेत्रमा सवारीसाधन सीमित गतिमा चलाउन अनुरोधसमेत गरेको छ।