
भारत र इंग्ल्यान्डबिचको पाँच खेलको टेस्ट सिरिजमा भारतले २-१ को अग्रता बनाएको छ। तेस्रो टेस्टमा भारतले कीर्तिमानी रुपमा ४ सय ३४ रनको जितसँगै सिरिजमा अग्रता बनाएको हो। चौथो टेस्ट २३ फेब्रुअरीबाट राँचीमा सुरु हुने छ।
राजकोट टेस्टमा भारतले इंग्ल्यान्डलाई ५ सय ५७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा इंग्लिस टिम १ सय २२ रनमै अलआउट भयो। इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा रविन्द्र जडेजाले दोस्रो इनिङमा ५ विकेट लिए। उनले पहिलो इनिङमा शतक प्रहार गरेका थिए। जडेजाले खेलमा कुल ७ विकेट सहित अलराउन्डर प्रदर्शन गरे। उनी तेस्रो टेस्टमा प्लेयर अफ द म्याच समेत घोषित भए। भारतका लागि युवा स्टार यशस्वी जैसवालले दोहोरो शतक प्रहार गरेका थिए।
निरञ्जन शाह स्टेडियममा भारतले बिहीबार टस जितेर पहिले ब्याटिङ रोजेको थियो। जहाँ पहिलो इनिङमा भारतले ४ सय ४५ रन बनायो। जवाफमा इंग्ल्यान्डले पहिलो इनिङमा ३ सय १९ रन बनाएको थियो। दोस्रो इनिङमा भारतले ४ विकेट गुमाएर ४ सय ३० रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो।
भारतको कीर्तिमानी जित
भारतले ४ सय ३४ रनले इंग्ल्यान्डलाई हराउँदै रन अन्तरमा सर्वाधिक फराकिलो जितको कीर्तिमान बनायो। यसअघि भारतले २०२१ मा मुम्बईमा भएको खेलमा न्युजिल्यान्डलाई ३ सय ७२ रनले पराजित गरेको थियो। इंग्ल्यान्ड विरुद्ध भने २०२१ मा चेन्नईमा भएको खेलमा ३ सय १७ रनको जित निकालेको थियो। जुन इंग्ल्यान्ड विरुद्ध सर्वाधिक फराकिलो जितका रुपमा रहेको थियो।
भारतलाई फराकिलो जित दिलाउन उसका ओपनर यशस्वी जैसवालले उत्कृष्ट प्रदर्शन गरे। जैसवालले २ सय ३६ बल खेल्दै २ सय १४ रनको अविजित इनिङ खेले। जहाँ उले १४ चौका र १२ छ्क्का प्रहार गरे। उनी टेस्ट क्रिकेटमा एकै इनिङमा सर्वाधिक छक्काको कीर्तिमान बनाउ समेत सफल भए। नभोजि सींह सिद्दुको एकै इनिङमा ८ छक्काको कीर्तिमान तोडेका हुन्।उनी बाहेक दोस्रो इनिङमा शुभमन गिलले ९१ रनको इनिङ खेल्दा सर्फराज खान ६८ रनमा अविजित रहे।
यसअघि विशाखपट्नममा भएको दोस्रो टेस्टमा भारत १ सय ६ रनले विजयी हुँदै सिरिजलाइ १-१ को बराबरीमा ल्याएको थियो। पहिलो टेस्टमा भने इंग्ल्यान्ड हैदराबादमा २८ रनले विजयी भएको थियो।