
काठमाडौं- अभ्यास ‘शान्ति प्रयास’ को चौंथो अभ्यासको उद्घाटन भएकाे छ। मंगलबार सैनिक मुख्यालयमा आयाेजित कार्यक्रमकाे उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन्।
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि तथा ट्राेप्स कन्ट्रिब्युटिङ कन्ट्रीज (टिसिसिएस) बीच अन्तरसञ्चालनशीलता सुनिश्चित गर्ने उद्देश्यले श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आजदेखि २१ गतेसम्म सञ्चालन हुने छ।
संयुक्त राज्य अमेरिकी सरकारको ग्लाेबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन हुन लागेको हो।
नेपालमा सन् २००० मा पहिलो पटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो। यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करण सञ्चालन भइसकेका छन्।
आजबाट सञ्चालन हुन लागेको अभ्यास शान्ति प्रयासमा नेपालसहित १९ राष्ट्रका सैनिकहरूको सहभागिता रहनेछ।
यस प्रकारका अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरूको बारेमा सहभागी राष्ट्रका सैनिकहरू अवगत हुनुको साथै ती चुनौती सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास छ।
उत्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान विश्व देखिएका जातीय तनाव र आतंकवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताए।
बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा हामीहरू सचेत हुनुपर्ने बताउँदै उनले सहभागीहरूलाई शुभकामना पनि दिए। त्यस्तै, प्रधानसेनापति प्रभुराम शर्माले पनि सहभागीहरूलाई शुभकामना दिए।
कार्यक्रममा प्रधानमन्त्री, गृहमन्त्री, विभिन्न देशका राजदूत, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
तस्बिरहरू: