काठमाडौँ- देशसञ्चार चौतारीको यसपटकको अंकमा ११ वर्षसम्म साइकल चढेर पृथ्वीको २ लाखभन्दा बढी किलोमिटर यात्रा गरेका पुष्कर शाहलाई हामीले निम्त्याएका थियौँ।
साइकलमा चढेर विश्वका १ सय ५० देशमा पुगेका शाहले आफ्नो यात्रा सगरमाथाको शिखरमा टुंग्याएका थिए।
देशसञ्चार सहकर्मीहरुसँगको कुराकानीमा शाहले आफूले तीन दिनसम्म खाना नपाएको, जंगलमा दुखसँग रात काटेको र हङकङमा प्रेममा डुबेकोलगायत थुप्रै किस्साहरु सुनाए।
‘सहरमा, मान्छेको साथमा पनि परिस्थितिले मान्छेलाई भोकै राख्दो रहेछ,’ उनले देशसञ्चार चौतारीका क्रममा भने।
‘चीनको जंगलमा फ्याँकिएको सुन्तलाको बोक्रा खाएर मैले रात काटेँ,’ उनले भने, ‘त्यो दिन अलि धेरै सुन्तलाको बोक्रा पाइए हुन्थ्यो भन्ने मैले सोचेको थिएँ।’
यात्राका क्रममा धेरैपटक मृत्युको मुखमा पुगेको अनुभव भएको उनले सुनाए।
भोक भेट्नका लागि माछा, चरालगायतका प्राणी मारेर खाएको उनले देशसञ्चार चौतारीका क्रममा बताए।
संसारका जुनसुकै ठाउँमा पुग्दा आफूलाई नेपाल हिरा भएको महसुस हुने उनले बताए। ‘जहाँ घुमे पनि मलाई के लाग्यो भने हामी हिरामा टेकेर हिराकै खोजीमा निस्केका रहेछौँ,’ उनले भने।
आफूलाई नर्वे र स्विट्जरल्यान्ड राम्रो लागे पनि नेपालजस्तो सुन्दर देश अर्को कुनै देश नभएको उनले बताए।
यात्राका क्रममा आफूले थुप्रै प्रेम महसुस गरेको तर प्रेमले आफ्नो यात्रा नरोकेको पनि उनले बताए।
हङकङमा एकजना युवतीले आफूलाई भेटेको एक घन्टामै बिहे प्रस्ताव राखेको उनले बताए। ‘मैले बिहे गर्न स्वीकार गरेँ र अर्को साइकल किनेर सँगै संसार घुमुँ भनेर मैले भनेँ। तर, उनले मानिनन्, तर तिमीलाई म पर्खिन्छु भनिन्,’ उनले भने।
करिब दुई वर्षसम्म ती हङकङकी युवतीले नै दिएको पैसाले आफूले उनलाई फोन गरेको उनले बताए।
आफूले धेरैपटक मृत्युलाई छक्याएको उनले बताए।
साइकल चढेर विश्व परिक्रमा गर्ने क्रममा आफूले विभिन्न खालका खानाको अनुभव गरेको पनि उनले बताए। ‘एकपटक बोत्सवानामा मैलै झुसिककिरासँग भात खाएको थिएँ,’ उनले भने।
काठमाडौँ साइकलमैत्री सहर भएको उल्लेख गर्दै शाहले साताको एक दिनमात्र साइकल चढ्ने बानी बनाउँदा इन्धन खपत धेरै कम हुने बताए।
‘साताको एक दिन कार्यालय जाँदा वा पढ्न जाँदा साइकलमा जाने हो भने नेपालमा साइकल युग सुरु हुन्छ, यो सम्भव छ,’ उनले अन्तर्क्रियाका क्रममा भने।
राज्यले आफूलाई एक थुँगो फूल पनि नदिएको उनले बताए। ‘मसँग राजनीतिक रङ छैन, राज्यले केही दिएको पनि छैन,’ उनले अन्तर्क्रियाका क्रममा भने।
आफू नेपाली माटोमै रमाउने उल्लेख गर्दै उनले भने- ‘मेरो माटो यहीँ छ, अब म कहाँ जाउँ?’
उनीसँग गरिएको देशसञ्चार चौतारीको पूरा भाग: