
काठमाडौँ- मानसिक स्वास्थ्यका लागि डिल्लीबजार कन्या बहुमुखी क्याम्पसका विद्यार्थीहरुले हाइकिङको आयोजना गरेका छन्।
मानसिक समस्यारहित स्वस्थ जीवनका लागि क्याम्पसले आफ्ना विद्यार्थीहरुका लागि हाइकिङ आयोजना गरेको हो। उक्त अवसरमा शनिबार विद्यार्थीहरुले बालाजुदेखि जामाचो टपसम्म हाइकिङ गरेका थिए।
हाइकिङमा बीबीएम पहिलो र चौथो सेमेस्टरका विद्यार्थीहरु सहभागी भएको क्याम्पसकी संयोजक मुनु बुढाथोकीले जानकारी गराएकी छन्।
हाइकिङका क्रममा विद्यार्थीहरुलाई ध्यानसमेत गराइएको थियो। ‘दैनिक जीवन तथा पढाइका क्रममा विद्यार्थीहरुले भोगेका समस्याहरुसँग उनीहरुलाई सजिलैसँग जुध्ने बनाउन हामीले उनीहरुको मानसिक स्वास्थ्यका लागि हाइकिङको आयोजना गरेका हौँ,’ बुढाथोकीले भनिन्। उक्त अवसरमा उनीहरुलाई हाइकिङका फाइदाहरुबारे समेत जानकारी गराइएको थियो।
कार्यक्रममा विद्यार्थीहरुका साथै शिक्षकशिक्षिकाहरु पनि सहभागी थिए।
कक्षागत शिक्षाका अतिरिक्त विद्यार्थीहरुलाई विभिन्न यस्ता क्रियाकलापहरुमा सहभागी गराइँदै आएको पनि बुढाथोकीले जानकारी दिइन्।