
काठमाडौं- बागमती प्रदेश सरकारले ट्याक्सी खरिदमा एकाधिकार लगाउँदा आफूहरू मारमा परेको भन्दै ट्याक्सी व्यावसायीहरू आन्दोलनमा उत्रिएका छन् ।
प्रदेश सरकारले २००३/२००४ मोडलको ट्याक्सी सट्टाभर्नामा एकल कम्पनीलाई पक्षपोषण हुनेगरी मापदण्ड बनाई बिना प्रतिस्पर्धा सबै किसिमको गाडी खरिद गर्न पाउने अधिकारबाट बञ्चित गरेको भन्दै उनीहरूले बुधबार तिनकुनेमा प्रदर्शन गरेका हुन् ।
‘सियो पनि नबन्ने देशमा फलामको आयु तोक्नु के जायज होला सरकार?’,’ट्याक्सीको सट्टाभर्नामको एकाधिकार खारेज गर’लगायतको पमप्लेट बोकेर प्रदर्शन गरेका उनीहरूले शार्तिपूर्ण कोणसभासमेत गरे ।
व्यावसायीहरूले ट्याक्सीको बाहिरी भागम पम्प्लेट टासेर आफ्ना माग व्यक्त गरेका हुन्।
१० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय टयाक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरूले बिरोधको कार्यक्रम सुरु गर्नुपरेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले बताए।
उनाले एक भारतीय कम्पनीको सेटिङमा सरकारले विद्युतीय टयाक्सी खरिद गर्ने निर्णय गरेर आफूहरूको बिचल्ली बनाएकाले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए।
संघर्ष समितिले विद्युतीय ट्याक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ। उनीहरूले नेपाली पहिचान हुने गरी इम्बोष्ड नम्बर प्लेटको व्यवस्था गर्न, इन्स्योरेन्समा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन्।
संघर्ष समितिका संयोजक थापाले भने, ‘आज ३५ सय टयाक्सीहरूको भविष्य अन्योलमा बनाएर यी मजदुरहरूलाई विस्थापित गराउने जुन खालका षड्यन्त्र गर्याे। त्यसैको विरुद्धमा चाहिं हामीले विभिन्न निकायमा गएर हाम्रा मागपत्रहरू सरकारदेखि संघीय सरकारसम्म राख्यौं। तर उहाँहरूले नटेरेको अवस्थामा हामीलाई १५ देखि २० लाखसम्मको गाडी देऊ, हामीलाई नागरिकलाई सेवा दिन सजिलो हुन्छ भनेर हामीले विभिन्न माग राख्दै मागपत्र दिँदा पनि उहाँहरूले टेर्नुभएन। कथित इण्डियन टाटा कम्पनीमा सेटिङमा सरकारले जे गर्न खोजिराखेको छ। यो अन्यायपूर्ण छ। यो जायज छैन भन्ने हाम्रो ठम्याइ हो। हाम्रो माग भनेका इभी टयाक्सीको बिरोध होइन, यसलाई भन्सार छुटमा देऊ भन्ने माग हो। सहुलियतमा दिन सक्दैन भने हामीलाई १० लाख क्षतिपूर्ति देऊ भन्ने पनि हाम्रो माग हो। र हाम्रो व्यवसायमाथि जुन आक्रमण भइराखेको छ। इन्स्योरेन्समा देखिएको झमेला हटाउन पनि हामीले माग राखेका छौं। कार्यदल बनाएर सरकारले यो माग पूरा नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ। ’
टयाक्सी व्यवसायीहरूले स्वस्थ प्रतिष्पर्धाको आधारमा टयाक्सी खरिद गर्न पाउनुपर्नेतर्फ पनि सरकारको ध्यानकर्षण गराएका छन्।
थप तस्बिरहरू: