
काठमाडौं- काठमाण्डौं जिल्लाका स्थानीय निकायहरु बिच भएको १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाले प्रथम स्थान हाँसिलगरेको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोस्रो सहभागितामै तारकेश्वर च्याम्पियन बनेको हो।
गत संस्करण दोस्रो स्थानमा रहेको तारकेश्वरले यो पटक उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिंदा पहिलो स्थान हासिल गर्न सफल भयो। काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा काठमाण्डौं महानगरपालिका सहित काठमाण्डौंका ११ स्थानीय निकायलाई पछी पादै तारकेश्वर उपाधी जितेको हो।
तारकेश्वर नगरपालिका ३२ स्वर्ण, १६ रजत र ११ कास्य पदक सहित पहिलो स्थानमा रहँदा काठमाण्डौं महानगरपालिका १८ स्वर्ण २६ रजत र १७ कास्य पदक सहित दोस्रो स्थानमा रह्यो। त्यस्तै चन्द्रागिरी नगरपालिकाले ७ स्वर्ण ८ रजत र ८ कास्य पदक सहित तेस्रो स्थान हासिल गरेको थियो।
त्यस्तै गोकणेश्वर नगरपालिका ४ स्वर्ण ५ रजत र १२ कास्य सहित चौथो स्थानमा रहँदा कागेश्वर मनहरा नगरपालिका ३ स्वर्ण ३ रजत र १३ कास्य सहित पाँचौ स्थानमा रह्यो। त्यस्तै किर्तिपुर नगरपालिका २ स्वर्ण १ रजत र २ कास्य सहित छैठौं नगरपालिका बनेको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी ५ वटा नगरपालिकाले एउटा पनि स्वर्ण पदक प्राप्त गर्न सकेनन्। बुढानीलकण्ठ नगरपालिकाले ४ रजत र ५ कास्य, टोखा नगरपालिकाले २ रजत र ७ कास्य पदक मात्र प्राप्त गरे भने शंखरापुर नगरपालिकाले ३ कास्य, दक्षिणकाली र नागार्जुन नगरपालिकाले दुई-दुई कास्यमा चित बुझाए।
दशरथ रंगशालामा भएको समापन कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले खेलकुद क्षेत्रमा तारकेश्वर नगरपालिकाको एतिहासिक उपलब्धि हासिल गरेको बताए। उनले प्रतियोगितामा सहभागी हुने खेलाडी, विद्यालय, नगर शिक्षा शाखा लगायतलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। तारकेश्वर नगरपालिकाले खेलकुद क्षेत्रमा गरेको लगानी उपलब्धीमुलक बन्दै गएको बताउँदै उनले सबै विजेतालाई शुभकामना तथा धन्यवाद ब्यक्त गरेका थिए।
उमाकुम्फुको पुर्व खेलाडी समेत रहेका नगरप्रमुख महर्जनको सक्रियतामा तारकेश्वरमा गतबर्ष देखि मेयर कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दै आएको छ भने नगरपालिकाले यस बर्ष खेलकुद क्षेत्रको लागि १ करोड भन्दा बढी बजेट बिनियोजन गरेको जनाएको छ।