
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकम गणपूरक संख्या नपुगेपछि शुक्रवारसम्मका लागि स्थगित भएको छ।
गणपूरक संख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक संख्या यकिन गर्न माग गरेका थिए।
सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो संख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए।
गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरे।
यसअघि जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले गठबन्धनले सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाएका थिए।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा चरम निराशा व्याप्त रहेको बताए।
उनले सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता शुरु भएको बताए।
उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइरहेको बताएका थिए।
उनले प्रतिनिधिसभा चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको बताए। उनले गठबन्धनका बैठकमा जनसरोकारका मुद्दामा छलफल नै नभएको बताए। उनले जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएको र अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको झैँ अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था रहेको बताए।
उनले भने, ‘आज जतातिर जान्छु देशमा चरम निराशा व्याप्त भएको देख्छु । देशमा मात्र नभइ विदेशमा पनि उत्तिकै निराशा छाएको देख्छु । समग्रमा सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता देख्दैछु । देशमा हरेक अंगहरु व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइरहेको प्रतित भइरहेको छ । प्रतिनिधि सभाको कुरा गर्ने हो भने चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको छ । न्यायपालिकाबाट न्याय पाउने कुनै आशा नै गर्न नसक्ने अवस्था छ । संवैधानिक निकायहरु सरकारको निर्देशनमा जिहुजुर गर्ने मात्रै व्यस्त छन् । कार्यपालिकाको अवस्था यस्तो छ कि कुनैपनि कुरामा शिक्षा, स्वास्थ्य, रोजगारी कुनैपनि कुरामा डेलिभर गर्नसक्ने अवस्था छैन । यति मात्रै होइन, म पनि गठबन्धनमै छु र विगतका गठबन्धनका बैठकमा जाँदा पनि के देखिन्छ भने कतैपनि जनसरोकारका मुद्दामा छलफल नै भइरहेको छेन ।’