
काठमाडौं- विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको अन्तिम खेलमा पनि नेपाली ब्याटर चल्न असफल भएका छन्। टस हारेर पहिलो ब्याटिङ गरीरहेको नेपाल ४२.२ ओभरको समाप्तीमा १ सय ३५ रन जोड्दा आफ्ना ८ ब्याटर गुमाएर कमजोर योगफलमा समेटिने संघारमा पुगेको छ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रनको अर्धशतकीय इनिङ खेल्नु बाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन। भुर्तेलले आफ्नो करिअरको आठौं अर्धशतक प्रहार गर्दा ९३ बलमा ६६ रन बनाए। उनले ८ चौका प्रहार गरेका थिए। उनी बाहेक आसिफ शेखले १७ रन बनाउँदा कप्तान रोहित पौडेलले १६ रन बनाए। अनिल साहा ७ रनमा आउट हुँदा कुशल मल्ल २ रनमा आउट भए। त्यस्तै दिपेन्द्र सिंह ऐरी १ रनमा रनआउट हुँदा भिम सार्की शुन्य रनमा पेभिलियन फर्किए। त्यस्तै गुल्सन झा ५ रनमा आउट हुँदा अहिले क्रिजमा यो खेलमा फर्किएका आरिफ शेख १३ रनमा रहँदा उनलाई साथ दिन करण केसी मैदानमा आएका छन्।
नेदरल्यान्ड्सका लागि भिभियन किङ्गमाले दुई विकेट लिंदा आर्यान दतले ३ विकेट हात पारे। त्यस्तै रोएलफ भान डेर मर्यु र बास डि लिडले समान १-१ विकेट लिएका छन्। लिग २ को यो संस्करणको पहिलो श्रृंखलाका रुपमा रहेको प्रतियोगितामा बलिया टोलीहरु नामिबिया, नेदरल्यान्ड्स र नेपालले एक अर्का विरुद्ध खेल्दै सिरिजको सुरुवात भएको हो। नामिबियाले सिरिजमा सबै चारै खेल खेल्दै तीन खेलमा जित निकालेर च्याम्पियन बनिसक्दा नेपाल र नेदरल्यान्ड्सले समान १-१ जित निकालेका छन्। दुबै टोली अन्तिम खेल जित्दै सिरिजको सुखद अन्तको प्रतिक्षामा छन्।