
सिमकोट – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनमा लागि जिल्लाबाट ६ वटा परीक्षा केन्द्र सिफारिस गरिएको छ। सो परीक्षा सञ्चालनका लागि जिल्लामा गठिन परीक्षा समन्वय समितिको बैठकले उक्त निर्णय गरेर सिफारिस गरेको हो।
शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख भिमराज खत्रीले समितिले जिल्लाका २८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि जिल्लाभर ६ वटा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र सञ्चालनका लागि सिफारिस गर्ने निर्णय गरिएको बताए।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले सो सिफारिस गर्ने निर्णय गरेको हो। यसरी एसईई सञ्चालनका लागि परीक्षा केन्द्र सिफारिस गरिएका विद्यालयमा सिमकोट गाउँपालिकाका मानसरोवर र बालमन्दिर मावि छन् भने सर्केगार्ड गाउँपालिकाका लागि हिमज्योति मावि र कोट मावि रोडिकोट छन्।
त्यसैगरी चङ्खेली गाउँपालिकाका लागि महादेव मावि दार्म, अदानचुली गाउँपालिकाका लागि सुर्योदय मावि श्रीनगर र ताँजाकोट गाउँपालिकाका लागि मदानादेब मावि छन्।
नाम्खा र खार्पुनाथ गाउँपालिकामा मावि भए पनि परीक्षा केन्द्र यसअघि देखि नै तोकिएको छैन।
सीता माविलाई परीक्षा केन्द्र तोक्न माग
समितिले पाँच वटा माध्यमिक विद्यालय भएको खार्पुनाथ गाउँपालिका– ४ को सीता माविलाई पनि परीक्षा केन्द्र तोक्न राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुर र प्रदेश परीक्षा ब्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतलाई सिफारिस गरिएको प्रमुख खत्रीले बताए। खार्पुनाथमा सीता, मान्धारा, हुम्ला, शंकर र मालिका मावि छन्।
यी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सदरमुकाम सिमकोेटका दुई वटा माविमा रहेको परीक्षा केन्द्रमा अघिल्लो वर्षसम्म परीक्षामा सहभागिता जनाउदै आउनु भएको थियो। मावि धेरै भएर पनि हालसम्म एउटा पनि परीक्षा केन्द्र नतोकिएको कारण केही समयअगाडि खार्पुनाथ गाउँपालिकाको कार्यपालिकाको बैठकबाट परीक्षा केन्द्र तोक्नका लागि माग गरिएको थियो। एसईई चैत १५ गतेबाट सुरु हुँदै छ।