
पोखरा – पोखरा महानगरपालिका क्षेत्रमा बन्ने १७ मिटर अग्ला घरमा लिफ्ट अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ। सोमबार मात्रै राजपत्रमा प्रकाशित पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८०ले अनिवार्य लिफ्टको व्यवस्था गरेको हो।
‘१७ मिटरभन्दा बढी उचाइ या पाँच तलाभन्दा माथि भएको भवनमा अनिवार्य लिफ्टको व्यवस्था गर्नु पर्नेछ’, मापदण्डमा उल्लेख छ।
पाँच तल्ला (१७ मिटर) भन्दा अग्ला सबै प्रकारका भवन र सर्वसाधारण भेला हुने सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङ होम, होटल, रिसोर्ट आदि भवन निर्माण गर्दा माटो परीक्षण गरेर संरचनात्मक योजना प्रतिवेदन पेश गर्नु नियम बनाइएको छ।
राजपत्रमा प्रकाशित भएसँगै लागू भएको यो मापदण्डले तीन हजार वर्गफिटभन्दा धेरै प्लिन्थको क्षेत्रफल भएका भवनको भौगर्भिक परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने उल्लेख गरिएको छ।
भवन बनाउने स्थानको भौगर्भिक परीक्षणलगायतका प्राविधिक पक्षको विस्तृत अध्ययन गरी प्राविधिक समितिको सिफारिसमा महानगरपालिकाको पूर्व स्वीकृति लिएर मात्रै भवन निर्माण गर्नुपर्ने बाध्यकारी नियम बनाइएको छ।
भवनको वरपर ४ फिटभन्दा अग्लो पर्खाल लगाउँदा पनि संरचनात्मक योजना अनिवार्य पेश गर्नुपर्नेछ। मापदण्डमा भनिएको छ, ‘सीमा पर्खाल निर्माण गर्दा पर्खालको उचाइ बढीमा ४ फिट अग्लो गारो र त्योभन्दा माथि जाली राख्नुपर्नेछ। उपयोगिताको आधारमा ४ फिटभन्दा अग्लो पर्खाल लगाउनु परेमा संरचनात्मक योजना अनिवार्य हुनेछ।’
यो मापदण्डले जति धेरै जग्गाको क्षेत्रफल छ, त्यति नै अग्ला भवन निर्माण बनाउन स्वीकृति दिएको छ।
बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ अनुसार अग्ला भवन बनाउन पाउने पोखरा महानगरपालिकाका घरनक्सा शाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुरेन्द्र पौडेलले बताए। ‘बस्ती विकास निर्देशिकाअनुसार सडकको क्षेत्रफल र भुइँ क्षेत्रको अनुपात पुग्यो भने जति तलाको घर पनि बनाउन पाइन्छ’, उनले भने।
व्यपारिक र आवसीय भवनको अधिकतम ग्राउण्ड कभरेज (जमिनमा भवनले ओगटेको क्षेत्रफल) ७० प्रतिशत र भुइँ क्षेत्रको अनुपात ३.५ हुनुपर्ने मापदण्डमा तोकिएको छ। संयुक्त आवास भवन, अपार्टमेन्ट र होटलको अधिकतम ग्राउण्ड कभरेज ५० प्रतिशत तोक्दा भुइँ क्षेत्रको अनुपात ४.० हुनुपर्ने उल्लेख छ।
सुपरमार्केटका हकमा ग्राउण्ड कभरेज ५० प्रतिशत र भुइँ क्षेत्रको अनुपात ३.० हुनुपर्ने मापदण्डले तोकेको छ।
शैक्षिक संस्था, अस्पताल नर्सिङ होम, पोलिक्लिनक लगायतको भवन निर्माण गर्दा अधिकतम ग्राउण्ड कभरेज ५० प्रतिशत र भुइँ क्षेत्रको अनुपात २.५ मापदण्डले व्यवस्था गरेको छ।
गैरआवसीय पाँच तलाभन्दा अग्ला भवनसँग जोडिने मुख्य बाटोको चौडाइ ६ मिटरभन्दा कम हुन नहुने उल्लेख छ। ‘प्लटको मूल प्रवेशद्वारको चौडाइ कम्तीमा ४.५ मिटर हुनुपर्नेछ र यस्तो ढोकाभित्रतर्फ खुल्ने किसिमको हुनुपर्नेछ। प्रवेशद्वार छोपिएको किसिमको भए त्यस्ता प्रवेशद्वारको न्यूनतम खुलापन ४.५ मिटर हुनुपर्नेछ’, पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० मा उल्लेख छ।
अन्डरग्राउण्ड पार्किङका लागि मात्रै
भूमिगत तलालाई आवास तथा अन्य प्रयोजनको निमित्त प्रयोग गर्न रोक लगाइएको छ। भूमिगत तला आवश्यकताअनुसार दुई तलासम्मको बनाउन पाइनेछ। ‘भूमिगत तलालाई पार्किङको रुपमा प्रयोग गर्नुपर्नेछ’, महानगरले बनाएको मापदण्डले तोकेको छ।
पोखरा महानगरपालिकामा धनराज आचार्य निर्वाचित भएर आएपछि अन्डरग्राउण्ड (भुइँ तला) पार्किङकै लागि प्रयोग गर्नुपर्ने भन्दै डोजर लिएर हिँडेका थिए। केही भवन कोतरेर चेतावनी दिँदै हिँडे पनि अझैसम्म भुइँतला पार्किङकै लागि अनिवार्य भएको छैन।
कोत्रे–तालचोक–विययपुर–अमरसिंह–पृथ्वीचोक–जिरोकिलोमिटर हुँदै हल्लनचोक पुग्ने सडकसँगै जोडिएर बनेका भवनमा अनिवार्य भूमिगत पार्किङ हुनुपर्नेछ। पृथ्वीचोक–मुस्ताङचोक–विरौटा हुँदै छोरेपाटन जाने सडक, पृथ्वीचोक—नयाँबजार—महेन्द्रपुल—पालिखेचोक—नदीपुर—केआईसिंहपुल—लामाचौर— बाटुलेचौरसम्म पनि भूमिगत पार्किङ अब बन्ने भवनमा चाहिनेछ।
न्यूरोड, सिद्धार्थचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल चोकसम्म पनि यो मापदण्ड लागु हुनेछ। पोखराका मुख्य बजार क्षेत्रमा पुग्ने सडकसँगै जोडिएर बन्ने भवनले भूमिगत पार्किङ राख्नुपर्नेछ।
मोहडाको हकमा २० हात र जग्गाको क्षेत्रफल ८ आनाभन्दा बढी भएमा मात्र भूमिगत पार्किङ चाहिने उल्लेख छ। तोकिएका सडकहरुमा २ तलासम्मको स्टिलको भवन निर्माण गर्दा ५० प्रतिशत जिसिआर मात्र हुने गरी भूमिगत तला नभएता पनि महानगरले स्वीकृत दिनेछ।
छानाको पानीको निकास गर्न उपयुक्त डुड, पाइपको व्यवस्था गरी जमिनमा छाडनु पर्नेछ। समतल वा स्लोप छानाबाट पानीको धारो हुने गरी वर्षातको खसाल्न नपाइने उल्लेख छ। यसअघि पनि महानगरले यो नियम लगाएको थियो। तर, कार्यन्वयन भने भएन। मुख्य बजार क्षेत्रमा भवनको छतबाट पाइप निकालेर बाहिरै पानी खसाल्दा वर्षातको समयमा पैदल यात्रुलाई सकस हुने गर्छ।