पोखरा – पोखरामा ४२ औँ मगर संघ स्थापना दिवस धुमधामले मनाइएको छ। मगर संघ स्थापना दिवसको अवसरमा नेपाल मगर संघ, जिल्ला समन्वय समिति कास्कीको आयोजनामा पोखरामा बृहत् र्याली निकालिएको हो।
मगर संस्कृति झल्कने झाँकी, गीत र नाचसँगै चिप्लेढुंगाको मानवअधिकार चोकबाट निस्केको र्याली चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृहचोक हुँदै पोखरा सभागृहमा पुगेर कार्यक्रमा गरेको छ।
मगर पोशाकमा सजिएका युवायुवतीदेखि वृद्धवृद्धासम्म र्यालीमा सहभागी छन्। मगर संस्कार संस्कृतिले सडकमा रौनक छायो।
बाजागाजासहित नाँच्दै गाउँदै मगर समुदायको हकहितको नारा लगाएका छन्। र्याली निकै लामो हुँदा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई निकै सकस भएको थियो।
२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा हेमबहादुर पुन मगरको अध्यक्षतामा नेपाल लाङघाली परिवार संघको प्रथम राष्ट्रिय महाधिवशेन भएको थियो। पहिलो पटक राष्ट्रिय महाधिवेशन भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउँदै आइरहेको छ। फागुन १५ लाई ‘मगर एकता दिवस’का रूपमा मगर समुदायले उल्लासका रुपमा मनाउने प्रचलन छ।
गण्डकी प्रदेशका विभिन्न स्थानीय तहले मगर संघ स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन्। मगर समुदायको बाहुल्य भएका अधिकांश जिल्लामा साँस्कृति कार्यक्रम र खेलकुद प्रतियोगिता आयोजना गरिएको छ।
तस्बिरहरु: