
पाँचखाल- काठमाडौंबाट झण्डै ४५ किलोमिटरको दूरीमा रहेको नेपाली सेनाको काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र यतिबेला भरिभराउ छ।
समूहसमूहमा कसैले फिल्डमा काम गरिरहेका छन् भने कोही क्लासमा देखिन्छन्।
सामान्यतया: यहाँ शान्ति मिशनका लागि आवश्यक तालिम जानुअगाडि गराउने गरिन्छ । शान्ति मिसनका लागि सशस्त्र र नेपाल प्रहरीले पनि तालिम गर्ने स्थान हो यो।
तर अहिले यहाँ नेपाली सेना मात्र नभएर अमेरिका, अस्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इन्डोनेसिया, मङ्गोलिया, थाइल्यान्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरियाका सैनिक अभ्यासरत छन्।
अभ्यास ‘शान्ति प्रयास’ को चौथो अभ्यासका लागि उनीहरू वीरेन्द्र शान्ति तालिम केन्द्रमा अभ्यासरत रहेका हुन्। अभ्यास ‘ शान्ति प्रयास’ को चौथो संस्करणको उद्घाटन फागुन ८ गते सैनिक मुख्यालयमा एक कार्यक्रमकाे आयोजना गरी गरिएको थियो।
कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। यसमा ११ सयभन्दा बढी सैनिक सहभागी छन् भने ४ सय ७० जना विदेशी सैनिक सहभागी छन्।
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि तथा ट्राेप्स कन्ट्रिब्युटिङ कन्ट्रिज (टिसिसिएस) बीच अन्तरसञ्चालनशीलता सुनिश्चित गर्ने उद्देश्यले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा भइरहेको यो अभ्यास फागुनमा २१ गतेसम्म सञ्चालन हुने छ।
अमेरिकी सरकारको ग्लाेबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा यो अभ्यास सञ्चालन भइरहेको हो।
नेपालमा सन् २००० मा पहिलो पटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो। यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करण सञ्चालन भइसकेका छन्। यस प्रकारको अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरुको बारेमा सहभागी राष्ट्रका सैनिकहरुलाई अवगत हुनुका साथै ती चुनौतीहरु सामाना गर्न आवश्यक क्षमता एवं समान व्यवसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।व लिएको व
यो तालिमको उद्देश्य मिशनमा जाँदा अन्य राष्ट्रहरुसँग सहकार्य र समन्वय गरेर काम गर्नु पर्ने भएकाले नै सहकार्य र समन्वयका लागि उपयोगी मानिन्छ। एसियाको नेपाल, बंगलादेश, इण्डोनेशिया, मलेसिया, मंगोलियामा यो तालिम गराउने गरिन्छ। पाँचखालमा १८ देशका सैनिकहरु एकसाथ यो तालिममा सहभागी देखिन्छन्।

















