
काठमाडौं- विश्वकप लिग-२ मा क्यानडाले आफ्नो उतकृष्ट प्रदर्शन जारी राखेको छ। युएईमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा क्यानडाले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गर्यो।
नेपालमा अभ्यास गरेर युएई पुगेको क्यानडाले पहिलो खेलमा युएईलाई पराजित गरेको थियो। अहिले युएईमा विश्वकप लिग-२ अन्तर्गत क्यानडा, युएई र स्कटल्यान्डबिच त्रिकोणात्मक एकदिवसीय खेल भइरहेको छ।
पहिलो खेलमा युएईलाई ३ विकेटले हराएको क्यानडाले लगातार दोस्रो जित निकाल्ने क्रममा शुक्रबार स्कटल्यान्डलाई पनि पराजित गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो। उसका लागि जर्ज मुन्सीले ६८ रन बनाउँदा ब्रान्डन म्याकमुलेनले १९ रन बनाए। त्यस्तै म्याथ्यु क्रसले ३० रन बनाउँदा माइकल लिस्कले ४० रन बनाउँदा मार्क वाटले २१ रन बनाए।
२ सय १६ रनको लक्ष्य पछ्याएको क्यानडाले उक्त लक्ष्य ४०.३ ओभरमै ३ विकेट गुमाएर पुरा गर्यो। क्यानडाको जितमा पर्गत सिंहले ८७ रनको अविजित इनिङ खेल्दा श्रीमन्था विजेयररत्नेले ५६ रन बनाए। त्यस्तै ओपनर एरोन जोनसोनले ४३ रन बनाएका थिए।
लगातार दोस्रो जितसँगै क्यानडा अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। नेपालमा भएको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नामिबिया शीर्ष स्थानमा रहेको छ।