
सिमकोट – नेपाल ट्रेड युनियन कांग्रेस हुम्ला शाखाले आफ्नो स्थापना दिवसको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। स्थापना दिवसमा औपचारिक कार्यक्रम गर्नुभन्दा रचनात्मक कार्य गर्नका लागि विद्याललाई सहयोग गरिएको हो।
नेपाल ट्रेड युनियन कांग्रेस हुम्ला शाखाका सचिव लक्ष्मण बोहराले श्रमिक संगठनको स्थापना भएको दिवसको अवसर पारेर विद्यालय पठनपाठन गराउँदै आएका बालमन्दिर माविका शिक्षकलाई बोर्ड मार्कर र डस्टर सहयोग गरिएको बताए।
सोमबार हुम्लामा नेपाल ट्रेड युनियन कांग्रेसको ७८ औं स्थापना दिवस मनाउने क्रममा ती सामग्री सहयोग गरिएको हो।
शैक्षिक सामग्री नेपाली कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाले विद्यालयका प्रधानाध्यापक कैलाश रोकायालाई हिउँमा सञ्चालन भएको कार्यक्रममा प्रदान गरेका थिए।
सहयोग थोरै भए पनि नयाँ भएको र विद्यालयमा अति आवश्यक पर्ने सामग्री प्रदान गरिएको उनले बताए। उक्त विद्यालयमा १९ जना शिक्षक रहेका र सबैलाई एक/एक थान बोर्ड मार्कर र डस्टर प्रदान गरिएको हो।
प्रधानाध्यापक रोकायाले शैक्षिक सामग्री प्राप्त भएको र यसले विद्यालयमा पठनपाठनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे। सो अवसरमा हुम्ला शाखाले सार्वजनिक निर्माण कार्यमा खटिएका कामदारलाई पनि हाते पन्जा सहयोग तयारी गरे पनि हिमपातको कारण कामदार नआएपछि सो कार्य भने हुन सकेन।