
पोखरा – एउटा हातमा रङको बाल्टिन अर्को हातमा रङ पोत्ने ब्रस। ढाका टोपी र चस्मा लगाएका एक व्यक्तिले बोकेको बाल्टिन र ब्रसबाट हरियो रङ तपतप चुहिरहेको छ।
पोखरा महानगरपालिका मेयर धनराज आचार्य जस्तै देखिने ति व्यक्तिको पृष्ठभूमिमा रहेका घरमा पनि हरियो रङ नै पोतिएको छ। केही रुख देखिन्छ काटेर ठुट्टै बनाइएको। हरियो रङ पोतिएको कुकुरले ‘ग्रिन सिटी’ भनिरहेको छ।
कलाकार जित गुरुङले कोरेको व्यंग्य चित्रले पछिल्लो समय पोखरा महानगरपालिकाका मेयर आचार्यको गतिविधिलाई झल्काउँछ। जुन गतिविधिले उनलाई विवादमा पनि ल्यायो।
फागुन ९ गते पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० सार्वजनिक कार्यक्रममा ग्रिनी सिटी योेजना अन्तर्गत पोखराका घरहरुमा हरियो रङ पोतिने बताएको भन्दै सञ्चार माध्यममा सार्वजनिक भएपछि मेयर आचार्य चर्को आलोचनाको सिकार भए। धेरैले त उनको धारणालाई ट्रोलसमेत बनाउन भ्याए।
त्यसपछि उनले समाजिक सञ्जाल फेसबुकमा लेख्दै स्पष्टिकरण दिए, ‘पोखरामा ग्रिन सिटी क्लिन सिटी अभियान सुरु हुने भनेको सबै घरको रंग हरियो हुने हैन। हरित सहर वातावरण र पर्यावरणमैत्री बनाउने भन्ने हो।’
विवादमा ल्याएको त्यो घटना सेलाउन नपाउँदै यो साता ग्रिन सिटीको अवधारणाको ठ्याक्कै उल्टो काम गरेको भन्दै वादविवाद भयो। पोखरा महानगरपालिका–४ चिप्लेढुंगास्थित मानवअधिकारचोकमा रहेको पिपलको रुख छिमलेर ठुट्टै बनाएको भन्दै आम पोखरेलीले आपत्ति जनाए। यो विवादमा महानगरपालिका स्थानीयको माग अनुसार रुख छिमलेको भनेर पन्छियो।
पछिल्लो समय मेयर आचार्यलाई विवादमा ल्याउने यिनै २ घटनालाई झल्काउने गरेर चित्रकार जित गुरुङले क्यानभासमा कोरेको कार्टुन ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ मा राखिएको थियो।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा पोखराको नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा भएको प्रदर्शनीको समापनमा उनै मेयर धनराज आचार्य प्रमुख अतिथि बनेर पुगे।
समापनको सुरुमा भएको अन्तरक्रियामा चित्रकार शिव शिर्पाली प्रश्न, ‘मेयरसाप पोखरा घर कहिले बन्छ ?’ मेयर आचार्य चिढिंए। त्यसपछि उनले आफुलाई व्यंग्य गर्दै बनाएको त्यो कार्टुनप्रति पनि निकै आक्रोश पोखे।
उनले ग्रिन सिटी अभियान अन्तर्गत हरियो रङ पोत्ने भनेर लेखिएको समाचारलाई पुष्टि गर्न चुनौति दिए। ‘… उहाँहरुले पुष्टि गर्र्नुहोला कहाँ महानगरपालिकाले हरियो पोत्ने भनेर भन्यो। अनि हाम्रै आर्टका साथीहरुले पनि कसरी त्यो चित्र बनाउनुभो ? त्यसको नि जष्टिफिकेशन होला’, चुनौति दिदैं मेयर आचार्यले भने, ‘हरित शहर भनेको घर पोत्ने भनेका छ र हरियो भनेर। कहाँ भन्याछ पुष्टि गर्नुस त ! गलत म्यासेज दिएर मान्छेलाई उडाइदिने।’
भन्दै नभनेको विषयलाई मोडेर तोडमोड गरेर मजाक बनाइएकोमा उनको असन्तृष्टि थियो। आफुले बोल्दै नबोलेको कुरा आधिकारिकता बिनै तस्बिर कोरे भन्दै क्षतिपुर्तिको माग समेत गरे। ‘को आर्टिस्टले बनाउनुभाको हो ? म बद्नाम भाको त्यसको क्षतिपूर्ति दिन सक्नुहुन्छ’, उनको आक्रोश थियो। आफु सबैको साझा मेयर भएकाले पोखराको बद्नाम नगर्न उनले आग्रह गरे।
पोखरा महानगरपालिकाले पोखरा आर्ट ग्यालरी र पोखरा सार्वजनिक पुस्तकालय रहेको महेन्द्रपुुलको भवन भत्काएर झण्डा, सार्र्वजनिक शौचालय बनाएको पनि आलोचनाको विषय बनाइरहेको छ। त्यसको व्यवस्थापनका लागि पृथ्वीचोकमा पोखरा घर बन्ने क्रममा रहेको उनले सुनाए। ‘व्यवस्थित भवन बनाउनलाई टेन्डरको पक्रियामा छ’, उनले भने। १० करोड रुपैयाँको लगानीमा निर्माण हुने पोखरा घरको काम १८ महिनामा सकिने उनको दाबी छ।
अहिले नयाँ बजारमा रहेको पुस्ताकालय र आर्ट ग्यालरी पनि पोखरा महानगरपालिकाले नै व्यवस्थापन गरिदिएको मेयर आचार्यको भनाइ थियो। आलोचनाका लागि मात्रै आलोचना नगर्न उनको सुझाव छ।
मेयरले कार्टुनप्रति आपत्ति जनाएपछि आफु अच्चमित बनेको कलाकार जित गुरुङ बताउँछन्। उनी भन्छन्, ‘कार्टुनमा आपत्ति जनाउनुपर्ने थिएन। टोटल्ली कार्टुन थियो। उहाँको अभिव्यक्तिले म मात्रै होइन सबै कलाकारलाई अच्चमित बनाएको छ।’
ग्रिन सिटीको अवधारणा अनुसार काम नभएपछि व्यंग्य गरेको उनको भनाइ छ। ‘ग्रिन सिटी आफ्नै तरिकाले भन्नुभो, त्यो अनुसार छैन पोखरामा। त्यसैलाई मैले व्यंग्य हानेको हो’, उनले भने। महानगरले बनाएको नीति व्यवहारमा कार्यन्वयन नभएको उनको गुनासो छ।
सिर्जनशिल कलाकार समूहका कार्यवहाक अध्यक्ष डिबी गुरुङले व्यवस्थित आर्ट ग्यालरीको व्यग्र प्रतिक्षामा रहेको बताए। अहिलेको आर्ट ग्यालरी साँघुरो भएकाले अबको १८ महिनासम्म प्रतिक्षा गर्ने उनको भनाइ थियो।
पोखरामा पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी भएको हो। नयाँ बजारस्थित क्षेत्री समाज घरमा रहेको आर्ट ग्यालरीमा फागुन १९ गतेदेखि प्रदर्शनी सुरु भएको थियो। सामाजिक रुपान्तरणः ललितकलाको अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका चित्र समावेश थिए।
सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा भएको ललितकला प्रदर्शनीमा ७४ जना कलाकारले कोरेका चित्र र कार्टुन प्रदर्शनीमा राखिएको थियो। ३५ वटा चित्र काठमाडौंमा जेठ १५ गते हुने राष्ट्रिय ललितकला प्रदर्शनीका लागि छनोट भएका छन्।
प्रदर्शनीमा मेयरको ग्रिन सिटीलाई व्यंग गर्ने कार्टुनदेखि, राहादानी, लाहुरेनीलाई लाहुरेले पठाएका चिट्ठी लगायतका सामाजिक यथार्थ झल्किने विषयका चित्र राखिएको थियो।