
काठमाडौँ – शुक्रबार महाशिवरात्रि पर्व। पशुपति क्षेत्रमा शिवरात्रिको पूर्वसन्ध्यामा बाबा (जोगी/सन्यासी) हरुको चहलपहल बढेको छ। नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका बाबाहरुले पशुपतिमा अखडा जमाएका छन्। महाशिवरात्रिमा भारतका विभिन्न स्थानबाट समेत जोगीहरु नेपाल आउने गरेका छन्।
महाशिवरात्रि हिन्दुको एक विशेष पर्व हो। शिवरात्रिमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन्। कतिपय रातभर उपवास गर्छन्। शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास सम्पन्न गर्छन्।
महिलाका लागि शिवरात्रिको विशेष महत्व छ। अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन्। विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन्।
धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए। प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै ब्रम्हान्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका गरेका थिए। यसैले यस दिनलाई महाशिवरात्रि वा कालरात्रि भनिन्छ।
भनिन्छ, यस दिन भगवान शिवको विवाह भएको थियो। तीन लोकमध्येकै अपार सुन्दरी तथा शीलवती गौरालाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिचाशले घेरिएर रहेका हुन्थे। उनको रुप एकदम अजीब थियो। शरीरमा मसानको भस्म, गलामा सर्पको हार, कन्ठमा विष, जटामा जगत–तारिणी पावन गंगा तथा माथमा प्रलयंकार ज्वाला छ।
शिवरात्रि त्यो रात्रि हो, जसमा शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ। भगवान शिवको अतिप्रिय रात्रिलाई शिवरात्रि भनिन्छ। शिव पुराणको ईशान संहितामा बताएको छ कि, फागुन कृष्ण चतुर्दशीको रात्रिमा आदिदेव भगवान शिव करोडौँ सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट भएका थिए।
शिवरात्रिको दिन शिव आराधनाको विशेष महत्व छ। शिवजीको आराधनामा जति महत्व अभिषेकको हुन्छ, उत्तिनै महत्व महामृत्युंजय मन्त्रको पनि। शिवजीको आराधना महामृत्यंजय मन्त्र बिना अपूर्ण हुने धार्मिक मान्यता छ।
‘शिवरात्रि’ को शाब्दिक अर्थ ‘शिवको रात’ हो। यसदिन, शारीरिक प्रणालीमा स्वतः उर्जाहरू माथितिर प्रवाहित हुन थाल्छन्।
भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ।