
काठमाडौं- हङकङ भ्रमणमा रहेको नेपाल घरेलु टोली विरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा फराकिलो अन्तरले पराजित भएको छ। हङकङले नेपाललाई ७३ रनले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गर्दै घरेलु टोलीले २ सय १३ रनको उच्च लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपाल १६.४ ओभरमा १ सय ३९ रनमा अलआउट हुन पुग्दा हङकङले फराकिलो जित निकाल्यो। नेपालका लागि विनोद भण्डारीले २२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाउनु सर्वाधिक रह्यो।
उनीबाहेक कप्तान रोहित पौडेलले ३० रन बनाउँदा आरिफ शेखले ३८ रन बनाए। पछिल्लो क्रमका ब्याटर भने दोहोरो स्कोरमा रन बनाउन असफल हुँदा नेपाल सस्तैमा समेटियो। हङकङका लागि अजाज खानले ४ विकेट लिंदा एहसन खानले ३ तथा एटिक इकबाल र नसरुल्लाह राणाले १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको हङकङले लागि बाबर हायातको सानदार शतकीय इनिङमा नेपाललाई उच्च स्कोरको लक्ष्य दिएको थियो। घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो। नेपाली बलरसामु खुलेर खेलेको हङकङले अन्तिम ओभरमा २ विकेट गुमाएपनि त्यसले टिमको उच्च स्कोरमा कुनै फरक भने परेन।
हायातले ४९ बलमा १ सय १० रनको सानदार शतकीय इनिङ खेले। उनको यो करिअरको दोस्रो टी-२० आई शतक समेत हो। उनले आफ्नो पारीमा ३ चौका र १३ छक्का प्रहार गरेका थिए। त्यस्तै मार्टीन कोटजेले ३१ रन बनाउँदा अजाज खानले २१ रनको नटआउट इनिङ खेले। त्यस्तै अन्सी रथले ३९ रन बनाएका थिए। नेपालका लागि आकाश चन्दले तीन विकेट लिंदा आरिफ शेख, प्रतिश जिसीले समान १-१ विकेट लिए।