
काठमाडौँ – आउँदो चैत १ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘२५ औं फ्लोरा एक्स्पो २०८०’ हुने भएको छ।
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह-आयोजनामा यही २०८० चैत्र १ देखि ४ गतेसम्म ४ दिने २५ औँ फ्लोरा एक्स्पो हुन लागेको हो।
पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनको लागि फ्लोरिकल्चर एशोसिएसन नेपालले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला प्रदर्शनी आयोजना गर्दै आइरहेको छ।
मेलाको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने रहेको छ। एक्स्पोको उद्घाटन चैत १ गते बिहीबार बिहान ११ बजे भृकुटीमण्डप प्रदर्शनी हलमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले गर्नेछिन्।
एक्स्पोमा व्यवसायिक स्टल ६० वटा, ल्याण्डस्केपिन स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल एउटा र एउटा फूड स्टलसहित जम्मा ७३ वटा स्टल रहने छन्।
विगत वर्षमा झै यस वर्ष पनि मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको विभिन्न विधाहरुमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) प्रतिस्पर्धा गराइने छ।
प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार पुष्प व्यवसाय गरिरहेका नर्सरी व्यवसायीहरुमध्ये एक जनालाई छनौट गरी कदर पत्रद्वारा सम्मान गरिने कार्यक्रमसमेत रहेको छ।
मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तीकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ।
पुष्प मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारिक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिचाई प्रबिधी, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहने छन्।
एक्स्पोलाई ५० हजार जनताले अवलोकन गर्ने तथा करिब एक करोडसम्मको व्यवसायिक कारोबार हुने संस्थाले अपेक्षा लिएको जनाएको छ।
आ.ब. २०७५/७६ मा पुष्पको वार्षिक कारोबार रु. २ अर्व ४२ करोड रहेकोमा आ.ब.२०७६/०७७ र आ.ब.०७७/७८ मा वर्षै भरी कोभिड-१९ महामारीको कारण भएको निषेधाज्ञा र लकडाउनले गर्दा व्यवसायिक कारोबारमा कमी आई जम्मा रु.१ अर्ब ६३ करोडको मात्र कारोबार भएको थियो।
तथापि आ.व.२०७८/०८९ मा कोभिड-१९ को असर केही कम हुँदा समग्र व्यवसायिक तथा आर्थिक क्षेत्रहरु केही चलायमान र सुधारउन्मुख हुँदा आ.व. २०७७/०७८ को तुलानामा करिब ३० प्रतिशतले पुष्पको वार्षिक कारोबारमा वृद्धि भई २ अर्ब ३० करोड हाराहारीमा कारोबार भएको थियो भने यस आ.व. ०७९/८० मा ३ अर्ब ७ करोडभन्दा बढीको कारोबार भएको छ। आ.ब. २०७८/०७९ को तुलनामा यस आर्थिक वर्ष ०७९/८० मा करिब ३३.६३ प्रतिशतले वार्षिक कारोबारमा वृद्धि भएको छ।
यही आ.ब. ०७९/८० मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात रु ६८.१८ लाख र आयाततर्फ भने ३३.०६४८ करोड बराबरको कारोबार भएको भन्सार विभागको तथ्याङ्क रहेको छ।