उपनिषद्‌मा आनन्दको मीमांसा

उपनिषद्‌मा आनन्दको मीमांसा
+
-
विषयप्रवेश
दुःखको वा कष्टको अभाव र सुख वा हर्षको अनुभूतिलाई सामान्यतया आनन्द भन्दछन्। संसारमा जन्म लिने सबै प्राणीले आआफ्ना चेतना र तहअनुरूपको आनन्द वा सुखको प्राप्तिमा चेष्टा गर्ने गर्दछन्। यो प्राणीमात्रको सहज प्रवृत्ति हो। बुद्धिमान् प्राणी मान्छेले पनि विभिन्न रूपले पाउन सकिने आनन्दका इच्छाले चेष्टा गर्ने गर्दछ। भौतिक वस्तुको प्राप्तिले होस् वा अन्य कुनै कुराले नै होस् आनन्दको अनुभव मनले गर्ने हो। मैत्रायणीयोपनिषद्‌मा भनिएकै पनि छ— “मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः” (६।३४)। अर्थात् मन नै मान्छेको बन्धन र मोक्षको कारण हो। त्यसैले कुनै कामले कसैलाई आनन्दानुभूति हुन्छ भने कसैलाई त्यही कामले आनन्दानुभूति हुँदैन। उल्टो दुःखको अनुभूति हुन पनि सक्छ। मान्छे केकस्ता परिवेशमा कस्ताकस्ता व्यक्तिका सङ्गतमा र केकस्ता संस्कारमा हुर्किएको छ त्यसैअनुसार उसका क्रियाकलाप हुने गर्दछन् र त्यसबाट उसलाई कहिले आनन्दको र कहिले दुःखको अनुभूति पनि हुने गर्दछ। कसैलाई वेद पढ्दा आनन्द आउँछ, कसैलाई कथा पढ्दा आनन्द आउँछ, कसैलाई खेल्दा आनन्द आउँछ, कसैलाई नाच्दा आनन्द आउँछ, कसैलाई घुम्दा आनन्द आउँछ, कसैलाई मिठामिठा कुरा खाँदा आनन्द आउँछ, कसैलाई व्यसनमा लाग्दा आनन्द आउँछ, कसैलाई यीभन्दा अन्य कुरा गर्दा आनन्द आउँछ। त्यसैले आनन्दका विषयमा व्यक्तिपिच्छेका फरकफरक अनुभव र दृष्टिकोण हुन सक्छन्। तथापि सबैले खोज्ने आनन्द नै हो भन्न चाहिँ सकिन्छ। यस लेखमा चाहिँ वेदकै रूपमा प्रसिद्ध ब्राह्मणग्रन्थ शतपथब्राह्मणमा (बृहदारण्यकोपनिषद्‌मा) र तैत्तिरीयारण्यकमा (तैत्तिरीयोपनिषद्‌मा) आनन्दको मीमांसा (विवेचना) केकसरी गरिएको छ भनेर चर्चा गर्न खोजिएको छ।
शतपथब्राह्मण र तैत्तिरीयोपनिषद्
वेदका मन्त्रसंहिता र ब्राह्मणग्रन्थ भन्ने मुख्य दुई विभाग हुन्छन्। यो कुरा “मन्त्रब्राह्मणयोर् वेदनामधेयम्” भन्ने सूत्रबाट पनि बुझिन्छ।
मन्त्रहरूको सङ्ग्रहलाई मन्त्रसंहिता भन्दछन्। ब्रह्मको अर्थात् यज्ञ वा मन्त्रको व्याख्या गर्ने वेदभागलाई चाहिँ ब्राह्मण वा ब्राह्मणग्रन्थ भन्दछन्। ब्राह्मणग्रन्थमा यज्ञको स्वरूप, फल, द्रव्य (हवन गरिने वस्तु), देवता इत्यादि विषयको प्रतिपादन गरिएको हुन्छ। विहित कर्मको (गर्नुपर्ने कामको) प्रशंसा र निषिद्ध कर्मको (गर्न नहुने कामको) निन्दा गरेर मनुष्यलाई विहित कर्ममा प्रवृत्त र निषिद्ध कर्मबाट निवृत्त गराउनु पनि ब्राह्मणग्रन्थको एउटा प्रमुख उद्देश्य हो। ब्राह्मणग्रन्थभित्रै प्रायः आरण्यकभाग र आरण्यकभित्रै उपनिषद्भाग पनि अन्तर्भूत हुन्छन्।
ऋग्वेदका ऐतरेयब्राह्मण (ऐतरेयिब्राह्मण), कौषीतकिब्राह्मण र शाङ्खायनब्राह्मण, कृष्णयजुर्वेदको तैत्तिरीयब्राह्मण, शुक्लयजुर्वेदको शतपथब्राह्मण (काण्वशाखाको र माध्यन्दिनीयशाखाको छुट्टाछुट्टै), सामवेदका ताण्ड्यब्राह्मण, षड्विंशब्राह्मण, सामविधानब्राह्मण, आर्षेयब्राह्मण, देवताध्यायब्राह्मण, छान्दोग्यब्राह्मण, संहितोपनिषद्ब्राह्मण, वंशब्राह्मण, जैमिनीयब्राह्मण, जैमिनीयार्षेयब्राह्मण र जैमिनीयोपनिषद्ब्राह्मण तथा अथर्ववेदको गोपथब्राह्मण अहिले उपलब्ध छन्। उक्त सबै वैदिक ग्रन्थहरू गुरुपरम्पराबाट पढिँदै आएका ग्रन्थ हुन्।
ब्राह्मणहरूमध्ये विशाल ग्रन्थ शतपथब्राह्मणमा वैदिक यज्ञहरूको विस्तृत प्रतिपादन गरिएकाले यो ग्रन्थ वैदिक कर्मकाण्डका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। शुक्लयजुर्वेदका अध्येताहरूका निम्ति त आफ्ना वेदशाखाको ब्राह्मणग्रन्थ भएकाले शतपथब्राह्मणको विशिष्ट महत्त्व रहेको छ। शतपथब्राह्मणभित्रकै ६ अध्याय भएको भाग बृहदारण्यक वा बृहदारण्यकोपनिषद्का नामले प्रसिद्ध छ।
पहिलो पटक गुरुसित वेद विधिपूर्वक पढ्दा घरमा पढ्न नहुने अरण्यमा (वनमा) गएर पढ्नुपर्ने वेदका भागलाई आरण्यक भन्दछन्। प्रायः ब्राह्मणग्रन्थभित्रै आरण्यकहरू पनि समाविष्ट भएका छन्। आरण्यकमा यज्ञमा निहित दार्शनिक तत्त्वको मनन गर्ने पक्ष पनि पाइन्छ। अहिले पाइने आरण्यकहरूमा ऐतरेय्यारण्यक (ऐतरेयारण्यक), शाङ्खायनारण्यक, तैत्तिरीयारण्यक, मैत्रायणीयारण्यक र बृहदारण्यक प्रमुख छन्।
जीवात्मा र परमात्माको एकता बुझाउने आरण्यकलाई वा आरण्यकको नै कुनै एक भागलाई उपनिषद् भन्ने नामले चिनाइने गरेको पाइन्छ। वेदको अन्तिम भाग वा सारभूत भित्री भाग हुनाले उपनिषद्लाई वेदान्त पनि भन्दछन्। उपनिषद्‌मध्ये केही मन्त्रसंहिताअन्तर्गत र केही ब्राह्मणग्रन्थअन्तर्गत पर्दछन्। ईशावास्योपनिषद्, केनोपनिषद्, कठोपनिषद्, प्रश्नोपनिषद्, मुण्डकोपनिषद्, माण्डूक्योपनिषद्, तैत्तिरीयोपनिषद्, ऐतरेयोपनिषद्, छान्दोग्योपनिषद् र बृहदारण्यकोपनिषद् नामका दस उपनिषद्हरू दशोपनिषद्का नामले प्रसिद्ध छन्। यिनमा शङ्करभगवत्पादको व्याख्या पनि उपलब्ध छ। उपनिषद्को दर्शन अथवा वेदान्तदर्शन नै विश्वको सर्वोत्कृष्ट दर्शन हो भन्ने कुरा सर्वमान्य छ।
कृष्णयजुर्वेदको तैत्तिरीयशाखाको आरण्यक तैत्तिरीयारण्यकभित्र तैत्तिरीयोपनिषद् पनि पर्दछ। यो उपनिषद् शी(शि)क्षावल्ली, ब्रह्मानन्दवल्ली र भृगुवल्ली गरी तीन वल्लीमा विभक्त छ। यहाँ ब्रह्मविद्यासम्बद्ध विषयका अतिरिक्त शिक्षाशास्त्रको लक्षण, स्नातकका निम्ति उपदेश इत्यादि अन्य महत्त्वपूर्ण विषय पनि प्रतिपादित छन्। यसै उपनिषद्को ब्रह्मानन्दवल्लीका आठौँ अनुवाकमा ब्रह्मानन्दको सर्वोत्कृष्टताको मीमांसा पनि गरिएको छ। यहाँ यसै विषयलाई मूल पाठको उद्धरण र अनुवाद पनि गरेर विवेचना गरिन्छ।
तैत्तिरीयोपनिषद्‌मा आनन्दको मीमांसा
ब्रह्म सत् (नित्य) चित् (चैतन्यरूप) र आनन्दस्वरूपको हुन्छ र त्यसैबाट सारा सृष्टि सञ्चालित हुन्छ भन्ने कुरा उपनिषद्हरूमा प्रतिपादित छ। ब्रह्मकै आनन्दको अंशबाट लौकिक आनन्दको पनि अनुभूति हुने हो भन्ने पनि उपनिषद्हरूबाटै पनि बुझिन्छ। शतपथब्राह्मणमा (१४।७।१।३१) यो कुरा यसरी स्पष्ट पारिएको छ— “एषोऽस्य परम आनन्द एतस्यैवाऽऽनन्दस्याऽन्यानि भूतानि मात्रामुपजीवन्ति” (यही यसको परम आनन्द हो, अन्य प्राणी यसै आनन्दको एक सानो अंश भोग गर्दछन्)।
तैत्तिरीयोपनिषद्‌मा ब्रह्मानन्दको सर्वोत्कृष्टता बुझाउन त्यो आनन्द कति उच्च र कति धेरै छ भन्ने कुरा सरल भाषामा स्पष्ट पारिएको छ। त्यहाँ सबैभन्दा पहिला मनुष्यको परिपूर्ण आनन्दको परिभाषा गरिएको छ। अनि त्यसकै आधारमा त्यसलाई १००/१०० ले गुन्दै उत्कृष्ट, उत्कृष्टतर र उत्कृष्टतम आनन्द ककसको हुन्छ भन्दै ब्रह्मानन्दसम्म पुगिएको छ। त्यहाँ यो विषय यसप्रकार प्रारम्भ गरिएको छ—
सैषाऽऽनन्दस्य मीमांसा भवति। युवा स्यात् साधुयुवाऽध्यायकः। आशिष्ठो दृढिष्ठो बलिष्ठः। तस्येयं पृथिवी सर्वा वित्तस्य पूर्णा स्यात्। स एको मानुष आनन्दः।
यस ब्रह्मको आनन्दको मीमांसा यो हो— साधु स्वभाव भएको नवयुवक, वेद पढेको, अत्यन्त आशावान् (कहिल्यै निराश नहुने), अत्यन्त दृढ तथा बलिष्ठ व्यक्ति होस्, उसैको धनधान्यले परिपूर्ण यो सारा पृथ्वी पनि होस्, उसको जो आनन्द हुन्छ, त्यो एउटा मानुष (मान्छेको) आनन्द हो। अर्थात् यो एउटा लौकिक आनन्दको परिपूर्ण स्वरूप हो।
वेदका अध्ययनमा रमाएर लागेको, निष्पाप र निष्काम (कामनाहरूको सर्वथा त्याग गरेको) श्रोत्रियले अनुभव गर्ने आनन्द ब्रह्मानन्दकै समान हुन्छ भन्ने कुरा पनि माथि उल्लिखित बारम्बार आएको “श्रोत्रियस्य चाऽकामहतस्य” भन्ने वाक्यले अथवा “यश्च श्रोत्रियोऽवृजिनोऽकामहतः” भन्ने वाक्यले स्पष्ट पारेको छ। यसबाट वेदमा प्रतिपादित शाश्वत ज्ञानमा रमाएर त्यसैमा तल्लीन भएर अध्ययन गर्न सक्ने तथा विविध प्रकारका भोगबाट निवृत्त हुन सक्ने श्रोत्रियले अतुलनीय ब्रह्मानन्द अनुभव गर्न सग्दछ भन्ने बुझिन्छ।
यस्ता जो सय मानुष आनन्द हुन्छन्, ती सबै एकै ठाममा जोड्दा जति आनन्द हुन्छ, त्यति नै मनुष्यगन्धर्वहरूको आनन्द हुन्छ र अकामहत (विषयभोग र कामनाहरूले पीडित वा व्याकुल नहुने) श्रोत्रियले (वेदाध्ययन गरेको निष्पाप व्यक्तिले) पनि त्यति नै आनन्द प्राप्त गर्दछ। जसले पहिला मनुष्य भएर फेरि कर्म र उपासनाबाट गन्धर्वत्व प्राप्त गरे ती मनुष्यगन्धर्व भनिन्छन्। यो कुरा तैत्तिरीयोपनिषद्मा यसरी बताइएको छ—
ते ये शतं मानुषा आनन्दाः। स एको मनुष्यगन्धर्वाणामानन्दः। श्रोत्रियस्य चाऽकामहतस्य।
यस्ता जो सय मनुष्यगन्धर्वका आनन्द हुन्छन्, ती सबै एकै ठाममा जोड्दा जति आनन्द हुन्छ, त्यति नै देवगन्धर्वहरूको (जन्मदै गन्धर्व भएर जन्मेकाहरूको) एक आनन्द हो र अकामहत (विषयभोग र कामनाहरूले पीडित वा व्याकुल नहुने) श्रोत्रियले (वेदाध्ययन गरेको निष्पाप व्यक्तिले) पनि त्यति नै आनन्द प्राप्त गर्दछ। यो कुरा त्यहाँ यसरी भनिएको छ—
ते ये शतं मनुष्यगन्धर्वाणामानन्दाः। स एको देवगन्धर्वाणामानन्दः। श्रोत्रियस्य चाऽकामहतस्य।
यस्ता जो देवगन्धर्वका सय आनन्द हुन्छन्, त्यति नै चिरस्थायी लोकमा रहने पितृहरूको एक आनन्द हो र अकामहत श्रोत्रियले पनि त्यति नै आनन्द प्राप्त गर्दछ—
ते ये शतं देवगन्धर्वाणामानन्दाः। स एकः पितृृणां चिरलोकलोकानामानन्दः। श्रोत्रियस्य चाऽकामहतस्य।
चिरस्थायी लोकमा रहने पितृका यस्ता जो सय आनन्द हुन्छन्, त्यति नै आजानज (देवलोकमै जन्मिएका) देवताहरूकोे एक आनन्द हो र अकामहत श्रोत्रियले पनि त्यति नै आनन्द प्राप्त गर्दछ—
ते ये शतं पितृृणां चिरलोकलोकानामानन्दाः। स एक आजानजानां देवानामानन्दः। श्रोत्रियस्य चाऽकामहतस्य।
आजानज (देवलोकमै जन्मिएका) देवताहरूका यस्ता जो सय आनन्द हुन्छन्, त्यति नै कर्मदेव देवताहरूको एक आनन्द हो। जो अग्निहोत्रादि वैदिक कर्म गरेर देवभावमा पुग्छन् ती कर्मदेव देवता हुन्। अकामहत श्रोत्रियले पनि तिनैले पाउने त्यति नै आनन्द प्राप्त गर्दछ—
ते ये शतमाजानजानां देवानामानन्दाः। स एकः कर्मदेवानां देवानामानन्दः। ये कर्मणा देवानपियन्ति। श्रोत्रियस्य चाऽकामहतस्य।
कर्मदेव देवताहरूका यस्ता जो सय आनन्द हुन्छन्, त्यति नै देवताहरूको (वैदिक कर्ममा हवि ग्रहण गर्ने तेत्तिस देवताहरूको) एक आनन्द हो र अकामहत श्रोत्रियले पनि त्यति नै आनन्द प्राप्त गर्दछ—
ते ये शतं कर्मदेवानां देवानामानन्दाः। स एको देवानामानन्दः। श्रोत्रियस्य चाऽकामहतस्य।
देवताहरूका (वैदिक कर्ममा हवि ग्रहण गर्ने तेत्तिस देवताहरूका) यस्ता जो सय आनन्द हुन्छन्, त्यति नै इन्द्रको (देवस्वामीको) एक आनन्द हो र अकामहत श्रोत्रियले पनि त्यति नै आनन्द प्राप्त गर्दछ—
ते ये शतं देवानामानन्दाः। स एक इन्द्रस्याऽऽनन्दः। श्रोत्रियस्य चाऽकामहतस्य।
इन्द्रका (देवस्वामीका) यस्ता जो सय आनन्द हुन्छन्, त्यति नै बृहस्पतिको (इन्द्रका गुरुको) एक आनन्द हो र अकामहत श्रोत्रियले पनि त्यति नै आनन्द प्राप्त गर्दछ—
ते ये शतमिन्द्रस्याऽऽनन्दाः। स एको बृहस्पतेरानन्दः। श्रोत्रियस्य चाऽकामहतस्य।
बृहस्पतिका (इन्द्रका गुरुका) यस्ता जो सय आनन्द हुन्छन्, त्यति नै प्रजापतिको (विराट्पुरुषको) एक आनन्द हो र अकामहत श्रोत्रियले पनि त्यति नै आनन्द प्राप्त गर्दछ—
ते ये शतं बृहस्पतेरानन्दाः। स एकः प्रजापतेरानन्दः। श्रोत्रियस्य चाऽकामहतस्य।
प्रजापतिका (विराट्पुरुषका) यस्ता जो सय आनन्द हुन्छन्, त्यही नै ब्रह्माको (त्रैलोक्यरूप शरीरको धारणा गर्ने हिरण्यगर्भको) एक आनन्द हो र अकामहत श्रोत्रियले पनि त्यति नै आनन्द प्राप्त गर्दछ—
ये ते शतम् प्रजापतेरानन्दाः। स एको ब्रह्मण आनन्दः। श्रोत्रियस्य चाऽकामहतस्य।
—तैत्तिरीयारण्यक, प्रपााठक ८, अनुवाक २ (तैत्तिरीयोपनिषद्, ब्रह्मवल्ली ८)।
शतपथब्राह्मणमा आनन्दको मीमांसा
शतपथब्राह्मणको अन्ततिर (बृहदारण्यकोपनिषद्‌मा) पनि आनन्दको मीमांसा तैत्तिरीयोपनिषद‌मा झैँ नै गरिएको छ। तर त्यहाँको क्रममा र शब्दमा केही थोरै भिन्नताचाहिँ देखिन्छ। जस्तै—
स यो मनुष्याणां राद्धः समृद्धो भवति। अन्येषामधिपतिः सर्वैर्मानुष्यकैः कामैः सम्पन्नतमः स मनुष्याणां परम आनन्दः।
अर्थात्— मनुष्यहरूमा जो सर्वाङ्गपूर्ण तथा वैभवशाली छ, अरूको अधिपति (मालिक) छ र मनुष्यका सबै कामनाहरूले (भोगका सामग्रीहरूले) परिपूर्ण पनि छ, त्यसैको आनन्द मनुष्यको परम आनन्द हो।
यस्ता जो मनुष्यका सय आनन्द हुन्छन्, त्यति नै लोकविजयी पितृहरूको एक आनन्द हो—
अथ ये शतं मनुष्याणामानन्दाः। स एकः पितृृृणां जितलोकानामानन्दः।
यस्ता जो लोकविजयीे पितृहरूका सय आनन्द हुन्छन्, त्यति नै कर्मदेव देवताहरूको एक आनन्द हो, जो अग्निहोत्रादि वैदिक कर्मद्वारा देवभावमा पुग्दछन्—
अथ ये शतं पितृृणां जितलोकानामानन्दाः। स एकः कर्मदेवानामानन्दो ये कर्मणा देवत्वमभिसम्पद्यन्ते।
कर्मदेव देवताहरूका यस्ता जो सय आनन्द हुन्छन्, त्यति नै आजानज (देवलोकमै जन्मिएका) देवताहरूकोे एक आनन्द हो र जो श्रोत्रिय (वेदाध्ययन गरेको व्यक्ति) अवृजिन (निष्पाप) तथा अकामहत छ (विषयभोग र कामनाहरूले पीडित वा व्याकुल छैन) उसले पनि त्यति नै आनन्द प्राप्त गर्दछ—
अथ ये शतं कर्मदेवानामानन्दाः। स एक आजानदेवानामानन्दो यश्च श्रोत्रियोऽवृजिनोऽकामहतः।
आजानदेव (देवलोकमै जन्मिएका देवताहरूका) यस्ता जो सय आनन्द हुन्छन्, त्यति नै देवलोकमा प्राप्त हुने एक आनन्द हो र जो श्रोत्रिय (वेदाध्ययन गरेको व्यक्ति) अवृजिन (निष्पाप) तथा अकामहत छ (विषयभोग र कामनाहरूले पीडित वा व्याकुल छैन) उसले पनि त्यति नै आनन्द प्राप्त गर्दछ—
अथ ये शतमाजानदेवानामानन्दाः। स एको देवलोक आनन्दो यश्च श्रोत्रियोऽवृजिनोऽकामहतः।
देवलोकमा प्राप्त हुने यस्ता जो सय आनन्द हुन्छन्, त्यति नै गन्धर्वलोकमा प्राप्त हुने एक आनन्द हो र जो श्रोत्रिय निष्पाप तथा अकामहत छ उसले पनि त्यति नै आनन्द प्राप्त गर्दछ—
अथ ये शतं देवलोक आनन्दाः स एको गन्धर्वलोक आनन्दो यश्च श्रोत्रियोऽवृजिनोऽकामहतः।
गन्धर्वलोकमा प्राप्त हुने यस्ता जो सय आनन्द हुन्छन्, त्यति नै प्रजापतिलोकमा प्राप्त हुने एक आनन्द हो र जो श्रोत्रिय निष्पाप तथा अकामहत छ उसले पनि त्यति नै आनन्द प्राप्त गर्दछ—
अथ ये शतं गन्धर्वलोक आनन्दाः स एकः प्रजापतिलोक आनन्दो यश्च श्रोत्रियोऽवृजिनोऽकामहतः।
प्रजापतिलोकमा प्राप्त हुने यस्ता जो सय आनन्द हुन्छन्, त्यति नै ब्रह्मलोकमा प्राप्त हुने एक आनन्द हो र जो श्रोत्रिय निष्पाप तथा अकामहत छ उसले पनि त्यति नै आनन्द प्राप्त गर्दछ। हे सम्राट् जनक, यही ब्रह्मलोक हो यस्तो याज्ञवल्यले भने—
अथ ये शतं प्रजापतिलोक आनन्दाः स एको ब्रह्मलोक आनन्दो यश्च श्रोत्रियोऽवृजिनोऽकामहत एष ब्रह्मलोकः सम्राडिति…।
—माध्यन्दिनीय—शतपथब्राह्मण १४।७।१।३२—३९ (द्रष्टव्य— काण्व—बृहदारण्यकोपनिषद् ४।३।३३)।
उपसंहार
आनन्दको प्राप्तिका लागि नै मनुष्यका सम्पूर्ण क्रियाकलाप केन्द्रित हुने गर्दछन्। सबैथोकले परिपूर्ण मनुष्यको आनन्दलाई एक आनन्द मानेर त्यसलाई सय—सयले दस पटकसम्म गुन्दै आनन्दको परिपूर्णता ब्रह्मानन्दमा मात्र भएको कुरा तैत्तिरीयोपनिषद्‌मा देखाइएको छ। शुक्लयजुर्वेदको माध्यन्दिनीय शाखाको शतपथब्राह्मणमा अथवा बृहदारण्यकोपनिषद्‌मा मनुष्यका आनन्दलाई सय—सयले सात पटक गुन्दै तथा शुक्लयजुर्वेदको काण्व शाखाको शतपथब्राह्मणमा अथवा बृहदारण्यकोपनिषद्‌मा मनुष्यका आनन्दलाई सय—सयले छ पटक गुन्दै उक्त कुरा स्पष्ट पारिएको छ। यसबाट ब्रह्मानन्दमा मात्र आनन्दको परिपूर्णता हुने र ब्रह्म नै आनन्दको अजस्र स्रोत भएको कुरा स्पष्ट हुन्छ। कसको आनन्दको सय गुना कसको आनन्द हुन्छ भन्ने कुरामा विशेष तात्पर्य नभएकाले नै उपनिषद्हरूमा उक्त एउटै विषयका प्रतिपादनमा केही फरक पनि देखिएको हो भन्ने बुझिन्छ। वस्तुतः ब्रह्मानन्दको तुलना कुनै आनन्दसँग गर्न वा यसको यति गुना आनन्द ब्रह्मानन्द हो भनेर भन्न सकिने हुँदैन, केवल ब्रह्मानन्द अपरिमित वा अतिशय आनन्दरूप हो भन्ने बुझाउनका लागि यस प्रकार आनन्दको मीमांसा उपनिषद्‌मा गरिएको हो।
वेदका अध्ययनमा रमाएर लागेको, निष्पाप र निष्काम (कामनाहरूको सर्वथा त्याग गरेको) श्रोत्रियले अनुभव गर्ने आनन्द ब्रह्मानन्दकै समान हुन्छ भन्ने कुरा पनि माथि उल्लिखित बारम्बार आएको “श्रोत्रियस्य चाऽकामहतस्य” भन्ने वाक्यले अथवा “यश्च श्रोत्रियोऽवृजिनोऽकामहतः” भन्ने वाक्यले स्पष्ट पारेको छ। यसबाट वेदमा प्रतिपादित शाश्वत ज्ञानमा रमाएर त्यसैमा तल्लीन भएर अध्ययन गर्न सक्ने तथा विविध प्रकारका भोगबाट निवृत्त हुन सक्ने श्रोत्रियले अतुलनीय ब्रह्मानन्द अनुभव गर्न सग्दछ भन्ने बुझिन्छ।
जतिजति भोग्य सामग्रीको सङ्ग्रह बढायो उतिउति दुःख बढ्दै जाने र तिनलाई कमकम गर्दै जान सकियो भने जीवन सरल र सहज हुने अनुभव विचारशील मान्छेले गर्न सक्ने नै कुरा हो। तसर्थ मनलाई र विभिन्न कामनालाई नियन्त्रण गरेर नित्य सदाचारको र सत्यनिष्ठाको पालना गर्दै कमभन्दा कम उपभोग्य वस्तुको सङ्ग्रहबाट जीवननिर्वाह गर्ने र धार्मिक—आध्यात्मिक ग्रन्थहरूको अध्ययनमा रमाउने बानीले वास्तविक आनन्दको अनुभूति गर्न सहयोग पुर्‍याउने देखिन्छ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?