निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण

निर्मला हत्याकाण्डमा प्रहरीको भूमिका शंकास्पद, नक्कली अभियुक्त खडा गरेको बुवाकै आशंका

निर्मला हत्याकाण्डमा प्रहरीको भूमिका शंकास्पद, नक्कली अभियुक्त खडा गरेको बुवाकै आशंका
+
-

काठमाडौँ-  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीको भूमिकाप्रति थप शंका उब्जन थालेका छन्।

प्रहरीले घटनाको अनुसन्धानमा सुरुदेखि नै जेल परेर छुटेका व्यक्तिलाई खोजी गरेको र अन्त्यमा दिलिपसिंह बिष्टलाई फेला पारेको दाबी पीडित परिवारले गरेपछि प्रहरीको भूमिकाप्रति थप शंका उब्जिएको हो ।

मृतक निर्मला पन्तका बुबा यज्ञराज पन्तले प्रहरीले निर्मलाको दाहसंस्कार गरेकै दोस्रो दिन प्रहरी आफ्नो घरमा आएको र ‘यहाँ १० वर्ष जेल परेर छुटेको व्यक्ति को हो ?’ भनेर सोधेको बताए।

देश सञ्चारसँगको कुराकानीमा उनले भने, ‘प्रहरीले त्यसरी किन सोधेका होला भनेको त नक्कली अपराधी तयार पार्न पो रहेछ, ९ वर्ष जेल बसेर छुटेको दिलिपलाई हत्याराका रुपमा सार्वजनिक गरेपछि मात्रै मलाई थाहा भयो कि, प्रहरीले वास्तविक दोषीलाई छुटाउन नक्कली अपराधी खोजिरहेको छ।’

निर्मलाको अन्तिम संस्कार गरेको दोस्रो दिन सादा पोशाकमा आएका प्रहरीले ‘यहाँ वरपर १० वर्ष जेल परेर छुटेको कुलदिप भण्डारी नाम गरेको व्यक्तिको घर कता हो ?’ भनेर सोधेको पन्तले बताए।

उनले घटनाको अनुसन्धानमा प्रहरीले देखाएको भूमिका सुरुदेखि नै शंकास्पद रहेको बताए। उनले प्रहरीले आफूलाई दिलिपसिंह बिष्टका नाममा किटानी जाहेरी दिन दबाब दिइरहेको बताए।

‘प्रहरीले भदौ ४ गते हामीलाई जिल्ला प्रहरी कार्यालय बोलायो, छोरीको हत्या गर्ने अपराधी पक्राउ पर्‍यो कि भन्ने आशाले हामी जिप्रका गयौँ तर त्यहाँ गएलगत्तै प्रहरीले किटानी जाहेरी दिन भन्यो, मैले कसलाई पक्राउ गर्नुभएको छ भनेर सोधे, सुरुमा त जानकारी दिन नै मानेनन् तर पछि दिलिपसिंह बिष्टका नाममा किटानी दिन भने, मैले प्रमाण देखाउनुस अनि मात्रै किटानी दिन्छु भन्दा प्रहरीले ‘तपाईँलाई प्रहरीको विस्वास छैन र ?’ भन्दै मलाई हप्काउन खोजे ।’

उनले अगाडि भने, ‘तर पनि मैले किटानी दिइन। अनी प्रहरीले मलाई दिलिपले आफूले हत्या गरेको स्वीकार गरेको छ, हामी उसँग लिएको बयानको भिडियो देखाउँछौ भने तर अहिलेसम्म भिडियो देखाएका छैनन्,’ पन्तले भने, ‘प्रहरीले किन सुरुमा भिडियो देखाउछौँ भनेर झुटो बोल्यो ? हामीले के का आधारमा दिलिपका नाममा किटानी जाहेरी दिने ? म मेरो घाँटी छिनाल्छु भनेपनि प्रमाण बिना कसैका नाममा जाहेरी दिँदैन।’

पन्तले प्रहरीले घटनास्थलमा नक्कली मुचुल्का बनाएको आरोप लगाए।

‘घटनाको १५/२० दिनपछि घटनास्थलमा अपराधीको लुगाको खल्ती भेटिएको मुचुल्का प्रहरीले तयार पारेको छ तर यतिका दिनसम्म पानी परे पनि उक्त खल्तीको कपडामा माटो समेत लागेको छैन, अस्थायी साधन कण्डमको खोल भेटिएको भनेको छ तर त्यसमा पनि धुलो माटो लागेको छैन सफा छ,’ पन्तले भने, ‘यहाँ कुनै हत्यारालाई जोगाउन प्रहरीले ठूलो शक्ति प्रयोग गरिरहेको छ, हजुर मलाई न्याय चाहियो।’
लुुगाको खल्ती भेटिएको भनिएको ठाउँमा प्रहरीले आफूलाई पनि सँगै लगेको पन्तले बताए।

निर्मलाको बलात्कारपछि हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गर्दै प्रहरी।

‘ प्रहरीले घटनास्थल जाउँ भन्यो, त्यहाँ पुगेको २ मिनेट पनि भएको थिएन, एक जना प्रहरी ‘सर प्रमाण भेटियो’ भन्दै चिच्याए। धुलो माटो केही नलागेको सर्टको खल्ती भुइँमा थियो, एक प्रहरीले फोटो खिचे, त्यसकै छेउमा कण्डमको खोल पनि भेटियो, त्यसमा पनि धुलो माटो लागेको थिएन, यतिका दिनसम्म पानी परेको थियो,’ पन्तले प्रश्न गरे, ‘त्यसमा धुलो माटो किन लागेन, प्रहरीले नक्कली सबुत किन तयार पार्‍यो?’

प्रहरीले घटना घटेको २५ औँ दिन अर्थात ४ भदौमा मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको छ तर पीडितका आफन्त र स्थानीय बासिन्दा त्यो पत्याउन तयार छैनन्।

निर्मलाका बुबा यज्ञराज पन्तले थपे, ‘घटना लगत्तै घटनास्थलमा प्रहरीले चेकजाँच गर्दा नभेटिएको प्रमाण यत्तिका दिन पछि कसरी फेला पर्‍यो?’

प्रहरीले ९ वर्ष जेल बसेर छुटेका दिलिपसिंह बिष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको दाबी गर्दै उनलाई हत्याराका रुपमा सार्वजनिक गरेपनि पीडित पन्त परिवारले भने बिष्टलाइ प्रहरीले नक्कली अभियुक्त बनाएर वास्तविक हत्यारालाई उम्काउन खाजेको आरोप लगाइरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?