
सिमकोट – जिल्लाका सात वटा गाउँपालिकामा ४३ वटा वडामा गरी ८४ प्रतिशतभन्दा बढी बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने कार्य पूरा भएको छ। फागुन २५ गतेबाट सुरु भएको सो खोप कार्यक्रममा चैत ७ गते सम्पन्न भएको हो
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंह का अनुसार जिल्लाका १०७ मध्य १०६ वटा खोप केन्द्रमा दादुरा रुवेला बिरुद्धको खोप अभियान सञ्चालन भएकोमा त्यसमा ८४ दशमलव चार प्रतिशत बालबालिकालाई खोप लगाउने कार्य पूरा भएको छ।
जिल्लामा नौ महिनामाथि र पाँच वर्ष मुनिका बालबालिकाहरुको संख्या छ हजार २१२ रहेकोमा त्यसमा पाँच हजार बालिबालिकाहरुले खोप लगाउने कार्य पूरा भएको छ। जसमा दुई हजार ४७७ बालिका रहेका छन् भने दुई हजार ५२३ बालक रहनु भएको छ। गाउँपालिका अनुसार सिमकोटमा जम्मा खोप लगाउने बालिबालिका एक हजार नब्बे जनमा ९४४ जना र खार्पुनाथमा ८१४ मा ७२९ जनाले खोप लगाएका छन्।
त्यसैगरी सर्केगार्ड गाउँपालिका एक हजार ३२९ जनामा एक हजार ९६ जना, चंखेलीमा ८३३ मा ६९१, अदानचुलीमा एक हजार ६२ मा ८३१ र ताँजाकोटमा ७८० मा ६२४ जनाले दादुरा रुवेला बिरुद्ध खोप लगाएका छन्। यो खोप अभियान जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा फागुन २५ गतेबाट जारी छ भने नाम्खा गाउँपालिकामा चैत १ गतेबाट सुरु भएको हो। यी सबै गाउँपालिकामा चैत ७ गतेसम्म खोप लगाईने भएको कारण संख्या अझै बृद्धि हुने देखिएको छ।
लिमीमा बैशाख खोप कार्यक्रम हुने
गाउँपालिकाका अन्य खोप केन्द्रमा दादुरा रुवेला बिरुद्धको खोप सुरु भएपनि लिमीमा भने सुरु हुन सकेको छैन्। हाल लिमीको हल्जी गाउँमा रहनु भएका लिमी स्वास्थ्य चौकीका इन्चार्ज गोर्ख भण्डारीले पहिलो पटक आफू लिमी मै बसेर सेवा प्रदान गरि रहेको भएपछि यस पटक दादुरा रुबेला बिरुद्धको खोप लगाउन नसकिएको बताए। लिमी आउने दुबै नाका चार हजार छ सय मिटर अग्लो नाना र पाँच हजार मिटर अग्लो न्यालु नाका हिमपातले बन्द भएको कारण भ्याक्सिन ढुवानी गर्न नसकिएको कारण खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको हो।
यो खोप मात्र नभएर बालबालिकाले नियिमत रुपमा लगाउने अन्य खोप पनि लगाउन नसकिएको होे। लिमीका तीन तील, हल्जी र जाङ गाउँमा १३ जना यो खोप लगाउने बालबालिका रहेका छन्। यो समस्या अगाडी नै जानकारी भए पनि लिमीका लागि भ्याक्सिन ढुवानीका लागि हेलिकोप्टरको ब्यवस्थाका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई पत्राचार गरिएको भएपनि त्यो ब्यवस्था हुन सकेन। अब बाटो खुले पछि मात्र लिमीका बालबालिकालाई खोप लगाउने कार्य हुनेछ।