
पोखरा –
‘घरको मालिक परदेशमा गएको
धेरै भयो केही खबर नपाएको
पाइनँ खबर
घर फर्की आउनुहोस् मेरो हजुर’
२०४२ सालतिर बजारमा आएको यो मार्मिक गीतलाई स्रोताले निकै रुचाए। मुग्लानतिर भासिएका खसमले घर सम्झेर चिट्ठी पत्र पनि नपठाइ उतै हराएपछि पखाईमा बसेकी जहानको अनुनय समेटेर तयार भएको ‘पाइनँ खबर’ बोलको गीतमा कोकिल स्वर भरेकी थिइन् हरिदेवी कोइरालाले। शब्द र लय पनि उनै वरिष्ठ लोकगायिका हरिदेवीले बुनेकी हुन्।
आफूले त्यतिबेलाको समाजमा प्रत्यक्ष देखेको लाहुरेका परिवारको पीडालाई गीतमा उतारेको कोइराला बताउँछिन्। ‘कति लाहुरे उतै मरे। लाहुरेको पट्टाले परिवार पेन्सन थापेर खान्थे’, यी कुराले उनलाई मन चसक्क हुन्थ्यो।
‘त्यतिखेर लाहुर जानेको भनेको इन्डिया जाने सम्झन्थ्यौँ। बम्बइ जान्थे, कलकत्ता जान्थे। गाउँघरतिर इन्डियाको लाहुरे आए भन्थे। मलायको लाहुरे हुन्थे। हङकङकोसम्म सुन्थ्यौँ। प्रायः इन्डियाको छाप छ’, हरिदेवी सम्झन्छिन्, ‘गाउँमा जब लाहुर गइसकेपछि श्रीमतिले, आमाले बाटो हेरेर कहिले आउँछन् भनेर बस्थे। यस्ता यस्ता कुराहरुले मनमा छुन्थ्यो। त्यस्तै खालका धेरै कविताहरु लेख्ने पनि।’
त्यही परिवेशलाई टपक्क टिपेर उनले २०३८ सालमा गीत तयार पारिन्। रेकर्ड हुनु पहिले घरगाउँमा धेरै पटक गुनगुनाइन् पनि।
क्यासेटमा रेकर्ड गर्दा कस्तो सुनिएला? उनलाई रहर जाग्यो। त्यसपछि हरिदेवीको पहिलो गीत क्यासेटमा रेकर्ड भयो।
त्यतिबेलाको हर घरको व्यथालाई लोक लयमा टपक्कै टिपेर गुञ्जिएकी हरिदेवीलाई यही गीतले सर्वत्र चिनायो। क्यासेटमा पहिलो गीतले नै हिट भएकी हरिदेवीको कोकिल स्वर भरेका एक हजारको हाराहारीमा गीत छन्। तर, उबेलाका स्रोतादेखि अहिलेसम्मका दर्शक श्रोतामाझ हरिदेवी ‘पाइनँ खबर’ गायिकाको परिचयले सुप्रसिद्ध छिन्।
तीजको कोशेलीबाहेक हिजोआज पहिलाजस्तो धेरै हरिदेवीका गीतहरु बजारमा आउँदैनन्। साहित्यिक कार्यक्रमबाहेक मेला महोत्सवमा पनि उनलाई हेर्दै सुन्ने मौका त्यति मिल्दैन। शनिबार भने पोखरेलीले हरिदेवीको पुरानै स्वाद ‘पाइनँ खबर’लगायतका गीत प्रत्यक्ष सुन्ने मौका पाउने भएका छन्।
कला साहित्यको क्षेत्रमा काम गर्दै आइरहेको इन्द्रेणी थिएटरले ‘पाइनँ खबर साँझ’मार्फत हरिदेवीलाई सुन्ने र हेर्ने चाँजोपाँजो मिलाएको हो।
पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको लुकुनस्वाँरामा प्रत्यक्ष वाद्यवादनमा हरिदेवीसँगै उनका गीतहरु गुञ्जनेछन्। पोखराबाट केही पर ग्रामिण परिवेशमा ‘पाइनँ खबर साँझ’ खुला आकशमुनि हुने इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले बताए।
‘हरिदेवी कोइरालाका गीत, कविता, प्रकाशित कृति र कलायात्राको बारेमा प्रस्तुती हुनेछ’, उनले भने।
हरिदेवीलाई पदमराज ढकाल, नवराज बराल, रामजी पौडेल, दिलीप गायक, महेन्द्रराज बराल, विष्णु बराल, श्रीधर कँडेललगायतले साथ दिनेछन्। ‘सबै कलाकारले हरिदेवीको एउटा गीत अनिवार्य सुनाउनेछन्’, थिएटरका अध्यक्ष पौडेलले भने।
आमाहरुको अनुरोधलाई स्वीकार गरेर हरिदेवी कोइरालाको ‘पाइन खबर साँझ’ गर्न लागेको उनको भनाइ छ। कार्यक्रम संयोजक पौडेल भन्छन्, ‘हरिदेवि कोइरालालाई दिदी ‘पाइनँ खबर’लाई हाम्रै घरको पिँढीमा एकपटक घन्काउन पर्यो भनेर कार्यक्रम तयार भएको हो।’
पुम्दीभूम्दी पर्यटनका लागि मात्रै नभइ कला साहित्यका लागि उपयुक्त परिवेश रहेको कार्यक्रमले प्रमाणित गर्ने दाबी गरिएको छ। ग्रामिण शैली र परिवेशमा हुने कार्यक्रममा झण्डै ५ सय जना दर्शक सहभागी हुने इन्द्रेणी थिएटरको अनुमान छ।
२०६४ सालमा पोखराको सभागृहमा हरिदेवि कोइरालाको एकल साँझ भएको थियो। त्यसको ४ वर्ष पहिले काठमाडौँमा भएको कार्यक्रम बसिबियाँलोमा हरिदेवीले गीतसँगै साहित्यिक कृतिहरु प्रस्तुत गरेकी थिइन्।
ग्रामण परिवेशमा हुन लागेको ‘पाइनँ खबर साँझ’बाट नयाँ पुस्ताका दर्शकसँग पनि साक्षत्कार हुने भन्दै कोइराला उत्साहित देखिन्छिन्।