
पोखरा – कास्कीको मादी गाउँपालिका–१ सिक्लेस तउरेतीमा सिक्लेस हाइड्रोपावर जाने कच्ची सडकको भीरमा एउटा शव देखियो।
स्थानीयले चैत ३ गते देखेको पुरुष शवको टाउकोमा चोट लागेको थियो। शव देखेका गाउँलेले खबर गर्नसाथ घटनास्थलमा प्रहरीको टोली पुग्यो। भीरमा फेला परेको शवको सुरुमा पहिचान खुल्नै सकेन।
अनुसन्धानपछि बल्ल शवको सनाखत भयो। मृतक थिए, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बाका ३६ वर्षीय रामबहादुर तामाङ। रामबहादुरको आफ्नै श्रीमतीको योजनामा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। जेठी श्रीमती कान्छी लामा तामाङले आफ्नै प्रेमीलाई सुपारी दिएर रामबहादुरको हत्याको योजना बनाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।
‘रामबहादुर र कान्छीबीच ५/६ वर्षदेखि मनमुटाब सृजना भएपछि छुट्टाछुट्टै बस्दै आएका थिए। मृतकले २ वर्ष अगाडि अर्को विवाह गरेपछि जेठी श्रीमतीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा बहुविवाहको मुद्वामा जाहेरी दर्ता गरेको पाइयो’, अनुसन्धानबाट खुलेकोे तथ्यबारे उनले सुनाए, ‘७ महिना कारागार बसेर निस्किएपछि झन् झगडा र रिसइबी बढेको थियो। त्यसैको कारण हत्या भएको खुलेको छ।’
कान्छीले रामबहादुरबाट अलग भएर बस्नका लागि हत्याको योजना बनाएको डिएसपी विकले जानकारी दिए। त्यसका लागि कान्छीले आफ्नै प्रेमी धन लामालाई सुपारी दिएकी थिइन्।
रोचक त के छ भने कान्छीले हत्या गर्न सुपारी दिने उनका प्रेमी धनको पनि रामबहादुरसँग पूरानै रिसइबी थियो। ५ वर्षअगाडि सिन्धुपाल्चोककै एक हाइड्रोपावरमा एक्साभेटर चालकको रुपमा काम गर्ने रामबहादुरले सहचालक धनलाई ढुंगाले हानेर घाइते बनाएका थिए। त्यतिबेला देखि नै उनले रिसइबी साँध्न चाहन्थे।
श्रीमतीले नै सुपारी दिएर हत्याको योजना बनिरहेको बखत फागुन अन्तिम साता सिन्धुपाल्चोकमा आमाबुबासँग भेट गरेर रामबहादुर मेलम्ची हाइड्रो पावरमा काम गर्न भन्दै गाउँबाट निस्किए। फागुन ३० गते काठमाडौंबाट उनले सिक्लेसको हाइड्रो पावरमा काम गर्नलाई बाटो तताए।
चैत १ गते सिक्लेसको हाइड्रोपावरमा काम गर्न जाने क्रममा रामबहादुर, धनसहित ४ जना रक्सीले मातेर हिँडेका थिए। ‘रक्सी सेवन गरी हिँडिरहेको अवस्थामा मृतकले धन लामालाई आमाचकारी गाली गरेपछि मार्ने उदेश्यले पछाडीबाट ढुंगाले टाउको प्रहार गरे’, डिएसपी विकले भने। मरेको एकिन भएपछि तीन जनाले घिसार्दै लगेर बाटोभन्दा २५ मिटर तल एकान्त खोल्सामा फ्याँकेको उनले जानकारी दिए।
मृतक रामबहादुरको साथमा रहेको मोबाइल र सिम टुक्राटुक्रा पारेर मिल्काइदिए। मृतकको साथमा भएको २ हजार रुपैयाँ झिके। झोलालाई झाँडीमा लुकाए। हत्याबारे धनले कान्छीलाई फोन गरेर जानकारी गराएको खुलेको उनले सुनाएका थिए। कान्छीसँग भनेका थिए, ‘अन्य २ जनाले घटनाबारे देखेको र उनीहरुको मुख टाल्नुपर्ने भयो पैसा थप गरेर पठाउ।’
कान्छीले श्रीमानको हत्यापछि प्रेमीलाई ९० हजार रुपैयाँ एडभान्ससमेत दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी विक बताउँछन्। इसेवा आइडीमा मृतकको श्रीमतीले ९० हजार रुपैयाँ पठाएको खुलेको छ। धनले ५० हजार रुपैयाँ आफैसँगै राखे। २ जनालाई २०/२० हजार रुपैयाँ बाँडेका थिए।
सिक्लेसको चिप्लीमा रहेको एक रेष्टुरेन्टको सीसिटिभी क्यामेरा फुटेजमा मृतकसहित ४ जना घटनास्थलतर्फ लागेको देखिएको थियो। रामबहादुरको शव फेला परेपछि उनीसँगै सिक्लेस पुगेका ३ जनालाई आसपासमा नदेखेपछि हत्यामा संग्लनताको अनुमान गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
हत्यामा संग्लन ३० वर्षीय धन लामासहित १८ वर्षका नवीन तामाङ (फूर्वा लामा) र अजित तामाङ (छे–दोर्जे लामा) लाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंबाट हत्याको दशी सामानसहित पक्राउ गरिएको हो। चैत ५ गते पक्राउ परेका उनीहरुको वयानको आधारमा श्रीमती पेम्बा लामा भनिने ३५ वर्षीय कान्छी लामा तामाङल सिन्धुपाल्चोकबाट पक्राउ परेकी हुन्।
कर्तव्य ज्यान मुद्वामा पक्राउ परेका धन, नविन, अजित र कान्छीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार सार्वजनिक गरेको छ।
४ जना विरुद्ध जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान मुद्वामा ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।