
काठमाडौँ – फरक फरक काम गरेर दुई पटक गिनिज बुकमा नाम लेखाएका संगीतकार तथा गायक सन्तोष श्रेष्ठको ‘हे मातृभूमि‘ गजलको श्रव्यदृश्य सार्वजनिक भएको छ।
नेपाली शिक्षा परिषद्को आयोजनामा शनिबार काठमाडौँको सोह्रखुट्टेमा रहेको लेखनाथ साहित्य सदनमा एक कार्यक्रम गरी गजल सार्वजनिक गरिएको हो।
कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित गजललाई सन्तोष श्रेष्ठले सङ्गीत एवम् स्वरबद्ध गरेका हुन्। हेम प्रभासले निर्देशन गरेको गजल भिडियोको सम्पादन वीरेन्द्र भाटले गरेका हुन् भने छायाङ्कन राज पोखरेलले गरेका छन्।
गजल कवि लेखनाथ पौडेलद्वारा लेखिएको एक नेपाली भाषाको काव्य लालित्य भाग २ बाट साभार गरिएको हो। पौड्यालको काव्य लालित्य भाग १ र २ लाई साझा प्रकाशनले बजारमा ल्याएको हो।
कार्यक्रमकी सभापति प्राध्यापक रमा शर्मा, प्राध्यापक तथा गजलकार कृष्णहरी बराल, गायिका तथा ललित कला केन्द्रीय विभागकी पूर्व प्रमुख संगीता प्रधान हेम प्रभास र सन्तोष श्रेष्ठको आथित्यमा गजलको श्रव्य दृष्य सार्वजनिक गरिएको थियो।
संगीतकार, गजलकार तथा प्राध्यापक कृष्णहरी बरालले लेखेको किताब गजल सिद्धान्त र इतिहासमा पौड्यालको यो गजल पनि लेखिएको थियो।
बरालले सोही किताबमा पौड्यालले लेखेको यो गजल हो भनेर उल्लेख गरेका थिए। बरालले गजल भनेपछि आफूले सङ्गीत एवम् स्वरबद्ध गरेको सन्तोषले बताए।
बरालले पनि यो गजल भिडियोमा देखिएको दृश्य राम्रो भएको बताए। सन्तोषले यसअघि पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले लखेको ‘आकाशमा शशि छन्’ गजल गाएका थिए। बरालले सन्तोषलाई अरु पनि गजल गाउन आग्रह गरेका थिए।
थप सामाग्री
संगीतकार तथा गायक सन्तोष श्रेष्ठले दाेस्राे पटक लेखाए गिनिज बुकमा नाम