
सिमकोट – हिमाली जिल्ला हुम्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि उत्तरपुस्तिका र प्रश्नपत्र पुगेको छ। केन्द्राध्यक्ष परीक्षा सामग्रीसहित केन्द्रमा पुगेपछि सबै तयारी पूरा भएको हो।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले परीक्षा सामग्री केन्द्रमा पुगेको जानकारी दिए। उनले परीक्षा निरीक्षक र कार्यालय सहयोग छनोट कार्य पूरा भएको बताए।
यस पटकको एसईईका लागि जनशक्ति परिचालन गर्ने कार्य पूरा भएको छ। परीक्षाका लागि ६ जना केन्द्राध्यक्ष, आठ जना सहायक केन्द्राध्यक्ष, ६० जना निरीक्षक, १२ जना कार्यालय सहयोगी र प्रतिपरीक्षा केन्द्र १५ जना सुरक्षाकर्मीका हिसाबले ९० जना सुरक्षाकर्मी खटिएका छन्।
परीक्षाका लागि १ सय ७६ जना जनशक्ति परिचालन भएका छन्। कार्यालय सहयोगीदेखि केन्द्राध्यक्षसम्म परीक्षा सञ्चालनका लागि खटिएका हुन्।
हुम्ला जिल्लामा ६ वटा परीक्षा केन्द्र तोकिएका छन्। बिहीबारबाट हुने परीक्षामा एक हजार १ सय ९५ जना परीक्षार्थीले सहभागिता जनाउँदै छन्। यसमा एक हजार १ सय ८८ जना नियमित र सात जना ग्रेडवृद्धिका परीक्षार्थी छन्। कुन परीक्षार्थीमध्ये ५ सय ९१ छात्रा छन् भने ६०४ छात्र छन्। जिल्लाका २८ वटा माविका परीक्षार्थीले परीक्षामा सहभागिता जनाउनेछन्।