
काठमाडौं- नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो खेलमा नेपाल पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै आयरल्यान्डले दिएको २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ३ बल बाँकी छँदै २ सय १ रनमा अलआउट भयो।
नेपालका लागि लोकेश बमले शतकीय इनिङ खेलेपनि पछिल्लो क्रम लगातार विकेट पतनको सिकार हुँदा जित नजिक पुगेर पनि पराजित हुन पुग्यो। ओपनर लोकेशले ५६ बलमा ९ चौका र ८ छक्काको सहयोगमा १ सय ६ रनको शतकीय इनिङ खेल्दै नेपाललाई जित तर्फ अग्रसर बनाएपनि पछिल्लो क्रमका खेलाडीले जिम्मेवारीपूर्ण ब्याटिङ नगर्दा नेपाल पराजित भयो।
१ सय ८९ रन बनाउँदा ४ विकेट गुमाएको नेपालले थप १२ रन जोड्दा बाँकी आफ्ना सबै विकेट गुमाउन पुग्यो। लोकेशले शतक प्रहार गर्नु बाहेक दुई खेलाडीले मात्र दोहोरो रनको स्कोर बनाए।
आरिफ शेख ४९ रनमा आउट हुँदा ओपनर विनोद भण्डारीले १६ रन बनाएका थिए। आरिफ र बमले पाँचौं विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए। तर बम आउट भएपछि कुनैपनि खेलाडी क्रिजमा टिक्न सकेनन्। बम पछि आरिफ १७.२ ओभरमा आउट हुन पुगेका थिए। त्यसपछि का खेलाडीले ब्यक्तिगत खातामा ५ रन पनि जोड्न सकेनन्। नेपालालई धरासायि पार्ने क्रममा आयरल्यान्डका लागि फियोना हान्ड र म्याथ्यु हमफ्रेयसले समान ३-३ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यन्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो। आयरल्यान्डका लागि पिटर मोरले ४९ रन बनाउँदा क्याडी कारमिकलले ३८ रन तथा स्टेफन डोहेनीले ३४ रन बनाए। त्यस्तै कप्तान निल रकले ३८ रन बनाउँदा ग्यारेथ डेलानी १४ बलमा ३० रन बनाउँदै अविजित रहे। त्यस्तै गाभिन होनीले ६ बलमा १८ रन बनाएर अविजित फर्किए।
नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट लिए। लामो समय इन्जुरीका कारण मैदान बाहिर रहेका ऐरीले करिब एक वर्षपछि मैदान फर्किदा सानदार पुनरागमन गरेका थिए। उनी बाहेक सागर ढकाल र आरिफ शेखले १-१ विकेट लिए। अब दोस्रो टी-२० भोली हुने छ।