
पोखरा- पर्वतको जलजला गाउँपालिका- २ दहमा दम्पती मृत फेला परेका छन्। ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षत्री र उनकी श्रीमती ६७ वर्षीया कमला घर्ती क्षत्री घरभित्रै मृत फेला परेका हुन्।
घरभित्र मृत फेला परेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डिएसपी खुमलाल भुसाल नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। मंगलबार बिहान साढे ९ बजे घटनाबारे खबर पाएको भुषालले जानकारी दिए।
घरमा सूर्यबहादुर र कमला दम्पत्ती मात्रै बस्ने गरेका थिए। २ छोरा वैदेशिक रोजगारीको सिलसिलामा कोरिया र एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन्।
‘हरेक दिन बिहान आमाले छोराबुहारीसँग फोनमा कुराकानी गर्नुहुँदोरहेछ। आज बिहान आमाको फोन आएनछ। छोराबुहारीले फोन गर्दा पनि उठेनछ,’ उनले भने, ‘फोन नउठेपछि म्याग्दीमा रहेका जेठो छोरा र माइली बुहारी घर पुग्दा दुवै जना मृत फेला परेका हुन्।’
घरभित्र मृत भेटिएपनि कोठामा भने ढोकामा भने ताल्चा लगाइएको डिएसपी भुसालले बताए। ‘ढोका फोडेर भित्र हेर्दा मृत भेटिएको रहेछ,’ घटनाबारे उनले सुनाए।
घटनास्थलको बाहिर हेर्दा संघर्ष भएको नदेखिने उनको भनाइ छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुुकुरसहितको विज्ञ टोली घटनास्थलतर्फ जाँदैछ। पर्वत प्रहरीले पनि प्रारम्भिक अनुसनधान थालेको जनाएको छ। घटनास्थलमा पुगेको प्रहरीले हत्याको अनुमान गरेको छ।
गाउँमा सूर्यबहादुर र छिमेकीको २ घर मात्रै रहेको छ। मल्लाज जाने ट्रेकिङ रुटमा घटनास्थलमा पर्ने प्रहरीले जानकारी दिएको छ। म्याग्दीको गलेश्वरबाट पारिपट्टी घटना भएको हो।