
पोखरा – गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिने भएका छन्। मंगलबार मुख्यमन्त्री निवासमा पोखरामा उपलब्ध सांसदहरुसँग पाण्डेले छलफल गरेका थिए।
कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मुख्यमन्त्रीले बुधबार राजीनामा दिनेछन्। बैठकपछि सञ्चारकर्मीसँग कुराकानीमा न्यौपानेले भने, ‘राजीनामा भोलि दिनुहुन्छ।’
संसदीय दलको बैठकले राजीनामा दिएर फेरि मुख्यमन्त्रीमा दोहोरिनलाई दलहरुसँग छलफल गर्ने अधिकार मुख्यमन्त्री पाण्डेलाई नै दिएको छ।
पाण्डे पहिलेदेखि नै राजीनामा दिएर फेरि मुख्यमन्त्री बन्ने दाउमा छन्। त्यसैले उनले विश्वासको मत लिएनन्। विश्वासको मत लिनलाई उनले मंगलबार दिउँसो २ बजेसम्म प्रदेश सभा सचिवालयमा जानकारी गराउनुपर्नेमा त्यसो गरेनन्।
केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि फागुन २२ गते मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी २ मन्त्रीलाई बर्खास्त गरेर सरकारको आयु घटाएका थिए। फागुन २३ मा माओवादीले पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो।
चैत २२ गते राति १२ सम्म विश्वासको मत लिने डेटलाइन भए पनि पाण्डेले राजीनामा दिएर पुनः नियुक्त हुने योजनामा छन्। पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नेछन्।
राप्रपाको समर्थनबिना एमाले माओवादी गठबन्धले पनि संविधानको धारा १६८ (२) अनुसार बहुमत जुटाउन सक्ने अवस्था छैन। उपधारा २ अनुसार सरकार बन्न नसकेमा प्रदेश प्रमुखले धारा ३ अनुसार सरकार गठनको लागि आह्वान गर्नेछन्।
१६८ को उपधारा ३ मा प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने प्रावधान छ। यही प्रावधानअनुसार पाण्डे पुनः मुख्यमन्त्री नियुक्त हुने दाउ बनाएका छन्।
६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत पुर्याउन ३१ सदस्य चाहिन्छ। ठूलो दल कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८ (सभामुखसहित), राप्रपाको २ र स्वतन्त्र जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका १ सांसद छन्। राप्रपाले समर्थन नगरेसम्म कांग्रेस र एमाले माओवादी गठबन्धनको सरकार बन्न सक्ने अवस्था छैन।
कांग्रेसलाई राप्रपाले समर्थन गरेर मात्रै पुग्दैन। एमाले माओवादी गठबन्धनका एक जना सांसदले फ्लोर क्रस गर्नैपर्छ। नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका नेसपाका फणिन्द्र देवकोटाले फ्लर क्रस गर्ने कांग्रेसको दाबी छ।
ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेसले बहुमत पुर्याउने प्रमुख सचेतक न्यौपाने बताउँछन्। प्रदेशमा भएका दलहरुसँग संवाद र सहकार्य भइरहने उनको भनाइ छ।
‘सरकार अदलबदलले नागरिकमा निराशा जन्माएकै छ। हामीले नागरिकको जनजिविकासँग जोडिएको मुद्दामा काम गर्नपर्ने बेलामा सरकार निर्माणमा अल्झिरहेका छौँ’, उनले भने, ‘हामी अस्थिरताको पक्षमा छैनौँ। स्थिरताको पक्षमा छौँ। सरसल्लाह गरेर अगाडि बढ्छौँ।’