
इन्डियन प्रिमियर लिग (आइपीएल)को १७ औं खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको छ। जारी सिजनमा पञ्जाबको यो दोस्रो जित हो। पञ्जाबले लगातार दुई हारपछि पहिलो जित हासिल गर्यो।
बिहीबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा गुजरातले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो। पञ्जाबले १९.५ ओभरमा ७ विकेट गुमाएर २०० रनको लक्ष्य पुरा गरेको थियो। टोलीले लिगमा छैटौं पटक २०० वा सोभन्दा बढीको लक्ष्य सफलता पूर्वक पछ्याएको हो। सर्वाधिक धेरै पटक २ सय प्लसको स्कोर भेटाउने पञ्जा पहिलो टोली हो।
पञ्जावको जितमा प्लेयर अफ द म्याच शशांक सिंहले २९ बलमा ६१ रनको अविजित इनिङ खेले। त्यस्तै प्रभसिम्रन सिंहले ३५ रन बनाउँदा आसुतोष शर्माले ३१ तथा सिकन्दर रजाले १५ रन बनाए। त्यस्तै जोनी ब्यारिस्टोले २२ रन बनाउँदा जितेश शर्माले १६ रनको इनिङ खेलेका थिए। गुजरातका लागि नुर अहमदले २ तथा मोहित शर्मा र दर्शन नलकन्डे, रसिद खान, उमेश यादव र अजमतुल्लाह ओमरजाइले समान १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो। उसका लागि शुभमन गिलले ८९ रनको अविजित इनिङ खेल्दा केन विलयमसनले २६ रन बनाए।
त्यस्तै साइ सुदर्शनले ३३ रन बनाउँदा राहुल टिवेटियाले २३ रन बनाए। आइपिएलमा आज सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्स भिड्दै छन्।