
काठमाडौँ – सरकारले आफूहरुका मागलाई वेवास्ता गरेको भन्दै दृष्टिविहीनहरुले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
उनीहरुले आइतबार काठमाडौँमा विरोध र्याली निकालेका हुन्। सुन्धाराबाट सुरु भएको उनीहरुको र्याली पद्मोदयमोडसम्म पुगेको थियो। सिंहदरबारतर्फ अगाडि बढ्न खोज्दा उनीहरुलाई प्रहरीले रोकेको छ। त्यसक्रममा प्रहरीले ३७ जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरुले ‘हाम्रा माग पूरा गर, दृष्टिविहीनमाथि ज्यादती गर्न पाइँदैन, दृष्टिविहीन व्यक्तिहरुलाई रोजगारीको ग्यारेन्टी गर, अपांगता भत्ता वृद्धि गर’ लगायतका नारा लगाएका थिए।
उनीहरुले शुक्रबार प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र काठमाडौँ महानगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए। काठमाडौँ महानगरपालिकाले फुटपाथमा बस्ने नेत्रहीनहरुलाई दुर्व्यहार गरी माइक, स्पिकर लगेको विषयमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको थियो।