
इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले महत्वपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडसँग अङ्क बाँडेको छ। हारतर्फ उन्मुख लिभरपुललाई अन्तिम समयको पेनाल्टीले एक अङ्क दिलाउँदा थौरै राहत मिलेपनि शीर्ष स्थानको अवसर भने गुमायो।
आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडसँग २-२ गोलको बराबरी खेलेसँगै उपाधि होडमा भने लिभरपुललाई धक्का लागेको छ।लिभरपुलको बराबरीले शीर्ष स्थानको आर्सनल र साविक च्याम्पियन सिटीलाई भने केही राहत मिलेको छ।
युनाइटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा लिभरपुलले २३ औं मिनेटमै लुइस डियाजको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको लिभरपुल दोस्रो हाफको सुरुवातमै आफ्नो गम्भिर गल्तिमा गोल खान पुग्यो।
गोलरक्षक अघि बढेको अवस्थामा मिस पासलाई ट्यापिङ गर्दै बुर्नो फर्नान्डेसले गरेको प्रहार गोलमा परिणत हुँदा युनाइटेडले खेललाई १-१ गोलको बराबरीमा ल्यायो।
खेलमा अग्रता भने युनाइटेडले ६७ औं मिनेटमा लिएको थियो। कोबि माइनोले लिभरपुल डिफेन्डरबिच गरेको सानदार ‘कर्ली’ फिनिसले लिभरपुल खेलमा पछि पर्यो।
तर निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा एरोन वान-विशाकाले हर्भी इलियटलाई लडाएपछि पाएको पेनाल्टीलाई मोहम्मद सलाहले सदुपयोग गर्दा लिभरपुल सम्भावित हारबाट जोगिन पुगेको थियो।
लिभरपुलको बराबरीसँगै आर्सनल र लिभरपुलको ३१ खेलबाट समान ७१ अङ्क भएको छ। गोल अन्तरमा आर्सनल शीर्ष स्थानमा कायम रह्यो। तेस्रो स्थानको सिटीको एक अङ्क कम अर्थात ७० अङ्क छ।