
काठमाडौँ – काठमाडौँ उपत्यकामा सोमबार घोडे जात्रा पर्व मनाइएको छ। चैत्र कृष्ण औंसीका दिन मनाइने जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहसमेत आयोजना गरेको थियो।
उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।
त्यसक्रममा नेपाली सेनाका घोडचढीहरूले विभिन्न कला प्रदर्शन गरेका थिए। घोडेजात्राको अवसरमा टुँडिखेलमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायत प्रदर्शन गर्ने प्रचलन छ।
टुँडिखेलमा पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन सुरु भएको र त्यही प्रचलनअनुसार घोडेजात्रा मनाउन थालिएको किम्वदन्ती छ।