काठमाडौँ- पढन्ते अधिवक्ता भनेर चिनिएका माधब कुमार बस्नेत खरा स्वभावका मानिन्छन्। उनले नेपाल र विश्वमा थुप्रै कानुनका ठेलीहरु पढेका छन् भने शब्दशब्द केलाएर उनले लेख्ने गरेका आलेख पनि निकै रुचिका साथ पढिन्छन्
देशसञ्चार चौतारीको पछिल्लो अंकमा हामीले उनै बस्नेतलाई बोलाएका छौँ, न्यायपालिकाका थुप्रै विषयहरुमा कुरा गर्न।
बस्नेत न्यायपालिकाका महत्त्वपूर्ण विषयहरुमा आलोचनात्मक धारणा राख्ने गर्छन् जुन देशसञ्चार चौतारीका क्रममा पनि व्यक्त भएको छ।
उनले नेपालका नेताहरु पाउने नेपाली भाग्यमानी भएको व्यंग्यात्मक रुपमा बताएका छन्। ‘नेपालका नेताहरु कस्ता छन् भने बिहान संस्कृतको सबैभन्दा ठूलो विद्वान, दिउँसो सबैभन्दा ठूलो वेज्ञानिक, राति सबैभन्दा ठूला जँड्याहा हुन्छन्,’ उनले भने। उनले नेपालका नेताहरु सबै विषयका ज्ञाता रहेको पनि बताए।
उनले वामदेव गौतमले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ भनी राखेर प्रस्ताव आफूलाई राम्रो लागेको पनि बताए।
उनले देशमा न्यायपालिकालाई सबैभन्दा कमजोर बनाइएको पनि बताए। ‘संविधानले न्यायपालिकालाई सबैभन्दा कमजोर बनाएको छ,’ उनले भने।
नेपालको बार बार्गेनिङ गर्ने थलोका रुपमा चिनिएको पनि उनले बताए।
कुनै पनि कानुन उल्लंघन हुनु क्षय भए पनि कुनै पनि चिजको अन्त्य नभएको उनले अन्तर्क्रियाका क्रममा बताए।
कहिलेकाहिँ संविधानलाई जानेर उल्लंघन गर्नुपर्ने उनले बताए। उनले २०७२ सालको संविधानमा गल्ती नै गल्ती रहेको पनि बताए।
‘यद्यपि संविधानको आयु घोषणा गर्न सकिँदैन,’ उनले अन्तर्क्रियाका क्रममा भने।
न्याय परिषद् प्राइभेट लिमिटेड भएको र पद्धति बिग्रँदा सबै चिज बिग्रने उनले बताए। ‘झगडियाले पनि नपत्याएको र लोकसेवाले पनि नपत्याएका व्यक्तिलाई न्यायाधीश बनाइयो,’ उनले भने।
उच्च अदालतमा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा भएको ८० जना न्यायाधीशको नियुक्तिबारे उनले भने, ‘पहिला आइदिनुस् न भनेर न्यायाधीश बनाइन्थ्यो, अहिले मलाई लग्दिनुस् न भनेर बनाइन्छ,’ उनले भने।
उनका अनुसार अहिले न्यायाधीशका दुईवटा परिचय हुन्छन्। ‘एउटा माननीय, दोस्रो कुन पार्टीका!’ उनले भने।
उनले आफू राज्यबाट कुनै पद, पदक र पुरस्कार नलिने पनि उनले बताए। ‘नेपालमा पद्धति एकपछि अर्को गर्दै भत्किएको छ,’ उनले भने।
आफूले कहिल्यै न्यायाधीशको बाटो नहेरेको र सधैँ अधिवक्तामात्र रहने बताए। ‘मैले आइएल गरिसक्दा नै यो घोषणा गरेको हुँ,’ उनले भने।
आफूले २०६६ सालमै उच्च अदालतको न्यायाधीश अस्वीकार गरेको उनले बताए।
पूरा भिडियो: