
पोखरा- काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ। बुधबार बिहान कास्कीको पोखरा महानगरपालिका- २५ हेमजा सुइखेतमा ग १ ख १६३० नम्बरकाे बस दुर्घटनामा परेको हो।
चालकले नियन्त्रण गुमाइ सडकको बाँयातर्फ पल्टिँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ।
घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याइएको छ। सुरुमा ७ जनालाई उपचारका लागि ल्याइएको थियो। पछि थप एक जना घाइतेलाई ल्याइएको हो। घाइते सबैको अवस्था सामान्य रहेको छ।
बसचालक म्याग्दीको बेनी नगरपालिका-६ का ३२ वर्षीय राजकुमार गैरेलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।